एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा ४१ दशमलव ३२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले मुनाफा ३६ करोड ३७ लाख रुपैयाँ कमाएको थियो ।
असोज मसान्तसम्ममा एभरेष्ट बैंकले चुक्तापुँजी २ अर्ब ७४ करोड २६ रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा बैंकले निक्षेपमा १७ दशमलव १० प्रतिशतले वृद्धि गरी ८९ अर्ब १५ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ ३५ दशमलव २९ प्रतिशतले बढाएर ६९ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ ।
बैंकले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा पनि राम्रो प्रगति गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकले ३८ दशमलव ०८ प्रतिशत बढी खुद व्याज आम्दानी गरेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ९१ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४२ दशमलव ६७ प्रतिशतले बढेर ७६ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
पहिलो त्रमासिक अवधिमा ३ करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४ करोड ९७ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ६ अर्ब ३८ करोड ३० लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा एभरेष्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३१ प्रतिशतले घटेर शुन्य ३६ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १ दशमलव ५६ प्रतिशतले घटेर १३ दशमलव २२ प्रतिशत रहेको छ ।
बैंकको प्रति शेयर आम्दानी ७७ दशमलब १३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७ दशमलब ५३ गुणा, प्रति शेयर नेटवर्थ ३ सय ३९ दशमलब ७३ रुपैयाँ र तरलता अनुपात ४० दशमलव २९ प्रतिशत रहेको छ ।