नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ५० लाख १९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षभन्दा १० करोड एक लाख २७ हजार रूपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको यही अवधिमा बैंकको खुद नाफा १२ करोड ४८ लाख ९२ हजार रूपैयाँ मात्र थियो ।
बंगलादेश बैंकले यो त्रैमासमा ३२ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ, जबकी गत आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी जम्मा १९ करोड ६४ लाख हाराहारीमा मात्र थियो । बैंकले सम्भावित जोखिमका लागि १६ करोड रुपैयाँभन्दा बढी छुट्याएको छ । यो अवधिमा बैंकले आठ करोड ३९ लाख ७२ हजार रूपैयाँ राइटब्याक गरेको छ ।
चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ चुक्ता पुँजी भएको यो बैंकको रिजर्भ कोषमा दुई अर्ब २५ करोड २५ लाख ९४ हजार रूपैयाँ रहेको छ । यो अवधिमा बैंकले ३९ अर्बभन्दा बढी निक्षेप संकलन गरी ३४ अर्ब हाराहारीमा कर्जा प्रवाह गरेको छ ।
प्रतिसेयर आम्दानी २२ रूपैयाँ भएको बैंकको प्रतिसेयर नेटवर्थ एक सय ५६ रूपैयाँ पुगेको छ । खराब कर्जा १.१६ प्रतिशतमा सीमित गरेको बैंकको कस्ट अफ फन्ड ४.१८ प्रतिशत छ ।



