आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्ब ४४ करोड २५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशत बढी राजस्व संकलन गरेको हो । कार्यालयले गत आवको पहिलो त्रैमासमा दुई अर्ब ३१ करोड ५० लाख रुपैयाँ राजस्व मात्र सङ्कलन गरेको थियो । यो लक्ष्यभन्दा ३१ करोड रुपैयाँले बढी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार, चालु आवको तीन महिनामा अन्तशुल्क सबैभन्दा धेरै दुई अर्ब ८१ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ । यस्तै आयकर २६ करोड ८६ लाख, घरवहालकर दुई करोड ९० लाख, ब्याजकर एक करोड ९२ लाख र मूल्य अभिवृद्धि कर २९ करोड ११ लाख रुपैयाँ संकलन भएको जनाइएको छ ।
स्वास्थ्य कर एक करोड १३ लाख र शिक्षासेवा कर ४४ लाख रुपैयाँ असुली भएको छ ।
गत बर्ष भूकम्प र नाकाबन्दीका कारण आर्थिक गतिविधि प्रभावित भएर राजश्व संकलन न्युन रहेको कार्यालयका प्रमुख थानप्रसाद पगेँनीले बताए । त्यस बाहेक करदातामा बढेको सचेतना एवं करको दायरा बृद्धिले पनि संकलन लक्षको तुलनामा राम्रो भएको उनको भनाइ छ ।
कार्यालयले चालु आवमा १२ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । रासस


