
काशिनाथ गौतम
तपाई आश्चर्य मान्न सक्नु हुन्छ आखिर पैसा कहाँ हरायो ? यहाँ हरेक व्यक्ति पैसाको खोजीमा दौडिरहेको छन् । आज मजदुरको गोजीबाट पैसा हराएको छ । ठेक्दारको गोजीबाट पैसा हराएको छ । उद्योगी, होटल, किराना, कपडा, कृषक सबै किसिमका व्यवसायीको खाताबाट पैसा हराएको छ ।
बजारबाट ग्राहक हराएका छन् । हिजो आज माग्नेहरुले बजारमा पैसा हराएको थाहा पाएछन् उनीहरुनै माग्न आउन छाडेका छन् । सबै सोधिरहेका छन् आखिर पैसा कहाँ हरायो ?
म हिजो आज शहरका गल्लीगल्ली कहिले गाउँका घरघरमा गहिरहेको छु । अहँ कोही पैसा छ भन्दैन् । हिजो धनि जस्तो देखिने व्यक्ति आज एकाएक गरिब जस्तै देखिएका छन् । यहाँ गरिबको त के कुरा गर्नु ऊ सधैं गरिव नै छ उसलाई बजारमा पैसा हराएको खासै चिन्ता छैन् ।
हिजोआज एकाएक सहकारी संस्थाबाट सर्वसाधारण ग्राहकको बचत पैसा हराएको छ । यता सहकारी संस्था अगाडि बचत फिर्ता लिनेको ग्राहकको भिड लागेकोे छ । सहकारीका मालिक सहकारीको पैसा लिएर फरार भएका छन् ।
ज्यान जोगाउन फरार भएका हुन् यात पैसा लिएर त्यो उनीहरु नै जानुन् । सहकारीबाट पैसा हराएकोमा सरकार बोल्दैन, स्थानीय निकाय बोल्दैन् । सहकारीका मालिकलाई कारवाही कसले गर्ने ?, सरकार नै उनीहरुको छ ।
यहाँ बैंक भनिरहेका छन्, ‘लगानी गर्ने पैसा छैन् व्यवसायीले ब्याज तिरेका छैन् ।’ सरकार भनिरहेको छ ‘कर्मचारीलाई तलब खुवाउने पैसा छैन् ।’ उद्योगी भनिरहेका छन्,‘कच्चा पदार्थ ल्याउने पैसा छैन् । त्यसैले उद्योग चल्न सकेको छैन् । उद्योग नचलेपछि कामदारलाइ दिने पैसा छैन ।’
ठेक्दारले भनिरहेका छन्, ‘सरकारले पैसा निकासा गरेको छैन् ।’ मजदुर भनिरहेका छन्, ‘उद्योग, ठेक्दारले ज्याला ‘पैसा’ दिएका छैन् ।’
किराना, होटल व्यवसायी भनिरहेका छन्, ‘उधारो लिएर गएका कामदारले पैसा दिएको छैन् ।’
वृद्धवद्धा सोधिरहेका छन्, ‘हाम्रो बैंकमा सरकारले वृद्ध भत्ता कहिले हालदिन्छ ।’ आखिर पैसा कहाँ छ त ? नत यहाँ बैंकसँग छ ?, नत सरकारसँग नै आखिर पैसा कहाँ गयो ?
सडकदेखि सदन सम्म सबैले सोधिरहेका छन् पैसा कहाँ गयो ?, सरकार खोजीरहेको छ पैसा कहाँ गयो ?, सरकार र राष्ट्र बैंक भनिरहेका छन्,‘विस्तारै ठिक हुँदै छ ।’
यता व्यवसायी बैंक वित्तीय संस्थाको ब्याजदर बढी भएको भन्दै सड्कमा चिच्याइरहेका छन् । शहरमा आधा सटर बन्द हुँदै छन् । व्यवसायी पलायन हुन थालेका छन् । दैनिक जसो कुनै न कुनै व्यवसायीले आत्महत्या गरेको समाचार आइनै रहेको छ ।
देशमा रोजगारी नभएपछि युवायुवतीहरु मेनपावर दलालको खोजीमा भौँतारिरहेका छन् । सरकार भनिरहेको छ, ‘देशमा रोजगारीको वातावरण सृजना हुँदैछ । अर्थतन्त्र ठिकठाक चलिरहेको छ ।’
केही समय अगाडिका अर्थमन्त्रीले भन्दै थिए, ‘पैसा कता हरायो कसैले सिरानी मुनी लुकायो कि !, म खोज्दै छु’ भन्दै थिए । उनी आफैं हराए हिजो आज कता छन् कतै उनी । आफैंले लुकाएको पैसा सिरानीमुनी खोज्दै छन् । उनी आफैं जानुन् । अहिले नयाँ अर्थमन्त्री आएका छन् । उनी पनि पैसा कहाँ हरायो राज्यको ढुकुटी कस्ले कब्जा ग¥यो भन्दै कहिले कर्मचारीलाई थर्काएका छन् त कहिले व्यवसायीलाई । उनी पनि पैसा खोज्दा खोज्दै कति बेला हराउने हुन उनि आफैँलाई थाहा छैन् ।
बजारमा पैसा छैन सबैलाई थाहा छ तर दैनिक उपभोग्य समानको मूल्य बढेको बढ्यै छ । बजारमा व्यापार छैन तर बच्चा बच्चीको ‘फी’ बढेको बढ्यै छ । यहाँ पैसा बिना डाक्टरले उपचार गर्दैनन् । पैसा बिना विद्यालयले विद्यार्थी भर्ना गर्दैनन् ।
बाउँसँग पैसा नभएको छोराछोरीलाई थाहा छैन् । हिजोआज पैसा बिना मलामी आउँदैनन् । तर सरकार भनिरहेको छ सबै ठिकठाक चलिरहेको छ ।
बैंक वित्तीय संस्थाको तनाव कसरी खेपेका होलान् ?, आजसम्म व्यवसायीहरुले व्यवसायको लागि ऋण लिएको हुँ ब्यापार चलेको छैन् बैंक वित्तीय संस्थालाई थाहा छ ।
सबै कुरा बजारमा व्यापार चल्न सकेको छैन तर पनि उनिहरु किस्ता ब्याज माग्न छाड्दैन् । हिजोआज पसल खोल्न मन लाग्दैन् खोलिहाले ग्राहक भन्दा धेरै बैंक, साहुँ आउन थाले ।
साथीभाइ कराउन थाले । यो सबै कसलाई सुनाउने कसलाई भन्ने सुन्ने सरकार छैन । सरकार नभएको पनि हैन घर अगाडि सरकार छ त्यो कर उठाउन मात्र जानेको छ । समस्या बुझ्दैन् । त्यस्तालाई के सरकार भन्नु नवसामन्ती हुन् ।
सुन्ने हाम्रो कुरा लेख्ने उनै पत्रकार हुन् । उनीहरु पनि अहिले आफैं समस्यामा छन् । आफैं समस्या भएको बेला कसको समस्या सुन्ने ? कसको समस्या लेख्ने ?, उनीहरु नै समयमा तलव पाउन सकेका छैन् । ब्यापार नभएपनि घर बेटीलाई भाडा तिर्नै पर्ने छोराछोरीको स्कुल फी तिर्नपर्ने । बाँच्नको लागि एक छाक खानै प¥यो ।
ए सरकार सबैलाई भनी दे ! पहिला हामीलाई बाँच्न दे ! हामी विस्तारै तिर्ने छौं ‘तिम्रा ऋण तिमिलाई कर । हाम्रो बाध्यता बुझिदे ! एउटा मजदुरले ज्याला किन पाएन् किसानले उत्पादन गरेको तरकारीको मूल्य किन पाएनन् । बजारमा ग्राहक किन आएनन् ।
आखिर बजारबाट पैसा कहाँ गयो ?, सरकार आफैं भनिदे । हामीलाई यहाँ बाँच्न गाह्रो भयो । सरकार पैसा कहाँ हरायो ?



