May 4th, 2023

अमेरिकामा ब्याजदर १६ वर्षयताकै उच्च

बैंकिङ खबर/अमेरिकामा पुनः ब्याजदर वृद्धि भएको छ । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले लगातार दशौ पटक ब्याजदर बढाएको हो । फेडरल रिजर्भले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

मार्च सन् २०२२ मा शून्य आसपास रहेको ब्याजदर फेडको यो कदमले बेन्चमार्क दर ५ प्रतिशतबाट ५.२५ प्रतिशत पुगेको छ । विगत चौध महिनामा फेडले लगातार दसौँ पटक ब्याजदर बढाएको हो। यो वृद्धिसँगै अमेरिकी केन्द्रीय बैंकको ब्याजदर १६ वर्षयताकै उच्च तहमा पुगेको छ ।

उच्च ब्याजदरले गर्दा संसारको सबैभन्दा ठूलो अर्थतन्त्रमा कर्जाको लागत तीव्र रूपमा बढेको छ। हाल अमेरिकामा कर्जाको लागत सन् २००७ सेप्टेम्बर यता कै उच्च भएको छ।

कर्जाको लागत उच्च हुँदा अमेरिकी घरजग्गा कारोबारमा मन्दी झैं छाएको छ भने दुई महिनाको अन्तरालमै अमेरिकाका तीन प्रमुख बैंक टाट पल्टिएका छन्। सिलिकन भ्याली बैंक, सिग्नेचरपछि केही दिन अघि मात्रै फर्स्ट रिपब्लिक पनि टाट पल्टिएको हो।

फेडले लगातार ब्याजदर बढाउने श्रृंखला सुरू गरेदेखि अमेरिकामा मूल्यवृद्धिले केही सुस्ताएको संकेत देखाएको छ। 

मार्चमा, मुद्रास्फीति दर लगातार नवौं पटक घटेर ५ प्रतिशत पुगेको छ। यो दर दुई वर्षयता कै सबैभन्दा कम हो भने ५.२ प्रतिशतको बजार पूर्वानुमान भन्दा पनि कम हो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]