
बैंकिङ खबर/ ठूलो बन्ने होडबाजीले यतिबेला वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू आपसमा गाभिएर देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । नबिल र नेपाल बङ्गलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, हिमालयन र सिभिल बैंक, प्रभु र सेञ्चुरी बैंक र कुमारी र एनसीसी बैंकबीच मर्जमा गएका छन् । हाल लक्ष्मी र सनराइज बैंक मर्जर प्रक्रियामा छन् । यसरी वाणिज्य बैंकहरु २७ वटाबाट मर्जर पश्चात २१ वटामा सिमित हुन पुगेको छ ।
गत असारमा नेपाल बङ्गलादेश बैंकलाई गाभेको नबिल बैंक चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब भन्दा बढी नाफा कमाएर बैंकिङ्ग क्षेत्रमा नम्बर वान बनेको छ । बैंकको वित्तीय विवण अनुसार चैत मसान्तसम्म ५२.६२ प्रतिशत नाफा बढाएर ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको हो ।
गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७.७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष २५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । बैंकको तथ्याङ्क अनुसार वितणयोग्य नाफा १ अर्ब७७ करोड २० लाख रुपैयाँ रहेको छ । ९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ ।चैत मसान्तसम्म बैंकको खराब कर्जा दर बढेर २.७३ प्रतिशत बढेर ३.८७ प्रतिशत पुगेको जनाएको छ ।
मेगा बैंकसँग मर्जर गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तेस्रो त्रैमासमा २३ प्रतिशत नाफा बढाएर३ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकले ३ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आवको सोही अवधिमा १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर भई बनेको ग्लोबल आइएमई बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १७ प्रतिशतनाफा वृद्धि भएर ४ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको निक्षेप संकलन ४ खर्ब ९ अर्ब र कर्जा प्रवाह ३ खर्ब ६२ अर्ब रुपैयाँ गरेको छ । गत वर्षकोसोही अवधिमा बैंकले २ खर्ब ७६ अर्ब निक्षेप र२ खर्ब ५८ अर्ब कर्जा लगानी गरेको थियो ।
सिभिल बैंकलाई गाभे पश्चात् हिमालयन बैंकको खुद नाफा २४.४६ प्रतिशत बढेर १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ । गत आवको सोही त्रैमासमा बैंकले१ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको देखिन्छ । बैंकको यसअवधिमा निक्षेप संकलन ५६.५४ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब रुपैयाँ रकर्जा प्रवाह ६१ प्रतिशत बढेर २ खर्ब ३७ अर्ब रुपैयाँ गरेको छ ।
सेञ्चुरी बैंकलाई गाभेको प्रभु बैंकको १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले तेस्रो त्रैमासमा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन र २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर गरेको कुमारी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले यस अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन र २ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकहरु ठूला बनेपनि सानो कर्जा पाउन उद्यमीलाई मुस्किल
मर्जरले बैंकहरु ठूला बनेपनि साना उद्यमीलाई भने अझै कर्जा पाउनै मुस्किल रहेको छ । पर्याप्त धितो नभएका साना तथा मझौला उद्यमीहरुलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउनै मुस्किल छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको आठ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१२८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.५२२ अर्ब ४९ करोड (१२.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ ।
२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकहरुको ३.१ प्रतिशतले र वित्त कम्पनीहरुको०.७ प्रतिशतले बढेको छ ।
२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७८ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६७.० प्रतिशत र १२.५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ५.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६४.५ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.६ प्रतिशतले र हायर पर्चेज कर्जा ११.२ प्रतिशतले घटेको छ । बैंकहरुको कर्जा प्रवाह बढे पनि साना व्यवसायीहरुले सहज रुपमा कर्जा पाउन सकेका छैनन् ।
वरिष्ठ व्यवसायी नविन कुमार श्रेष्ठ बैंकको ब्याजदरका कारण उद्योगी व्यवसायहरु समस्यामा परेको बताउँछन् । ‘बैंकबाट सहज रुपमा कर्जा पाउन सक्ने अवस्था छैन । पाएपनि चर्को ब्याजले ब्यवसायी आक्रान्त बनेका छन् ।’ उनले बैंकले दिने ब्याजदमा बढी मात्रामा मार्जिन लिएको तर ब्यापारीले २० प्रतिशत बढी नाफा लिएमा कालोबजारमा राख्ने गरेको बताउँछन् । कर्मसियल बैंकले ७८.७६ सम्म बैंक बेस रेट राखेको भन्दै उनले १० को १२, १२ को १४ बेस रेट राख्नुपर्ने उनको भनाइ छ । धेरैजसो आयतमा कटौती हुँदै गएको भन्दै उनले अहिले व्यापारीहरु बैंक र घरबहालका कारण समस्यामा परेको बताउँछन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की साना व्यवसायीले अझै पनि सहज रुपमा कर्जा पाउन नसकेको बताउँछन् । उनी भन्छन्,‘एकातिर बैंकहरुको चर्को व्याजदर छ भने अर्कोतिर व्यवसायीले सहज रुपमा कर्जा नपाएको अवस्था छ । यस्तो अवस्थामा बैंकवित्तले सहज रुपमा कर्जाको व्यवस्था गर्नुपर्छ ।’
देशको मूल नीति राम्रो नहुँदा आज साना व्यवसायीहरु व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको अध्यक्ष कार्की बताउँछन् । कुनै पनि देशको बैंक नीतिमा १५ प्रतिशत ब्याज लिने व्यवस्था नभएको भन्दै उनले १५ प्रतिशत ब्याजदरले उद्योग धन्दा फस्टाउन नसक्ने बताए । सरकारले दिने अनुदान कार्यकर्ता पाल्न मात्रै दिएको भन्दै उनले सहुलियत कर्जा वास्तविक कृषकलाई दिन आवश्यक रहेको बताउँछन् । सरकारले २, ३ प्रतिशत ब्याजमै कर्जाको व्यवस्था गर्नुपर्ने उनको जोड छ । उनले भने, ‘जो सिंहदरबारको गेटमा फाइल बोकेर जान्छ । उसले करोडौं करोड अनुदान लिएको हुन्छ । यो अन्त्य हुनुपर्छ ।’



