२०७३ कार्तिक १२ गते

नविल बैंकको नाफा झन्डै २५ करोडले बढ्यो, यस्तो छ प्रगति विवरण

nabil bankनविल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा झन्डै २५ करोड रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा नविलले ६५ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  

बैंकले यसअवधिमा चुक्तापूँजी ४ अर्ब ७५ करोड रुपैयाँबाट बढाएर ६ अर्ब १८ करोड पुर्याएको छ । बैंकले गत वर्षको मुनाफाबाट ३० प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी बढाएको हो ।  

यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी भने २० रुपैयाँले झरेको छ । अहिले बैंकको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ६७ पैसा छ, जबकि, गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७० रुपैयाँ १२ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ २ सय रुपैयाँ रहेको छ ।

बैंकले यसअवधिमा खराबकर्जा १.५४ प्रतिशतबाट घटाएर १.०९ प्रतिशतमा झारेको छ । बैंकले प्रोभिजनमा ३८ लाख रुपैयाँ राखेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा ६ अर्ब २० करोेड रुपैंयाँ रहेको छ । बैंकले यसअवधिमा एक खर्ब २० अर्ब निक्षेप संकलन गरेर ८३ अर्ब ५४ करोड कर्जा लगानी गरेको छ ।