राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका कर्मचारी युनियनहरुले बैंक व्यवस्थापनले वृद्धि भएको तलब हालसम्म कार्यान्वयन नभएको बताएका छन् । विहीबार २०७३ सालको महान चाड विजयादशमी, शुभदिपावली, नेपाल सम्वत ११३७, छठ, ल्होसार, इद, उभौली, उधौली, चासोकतङनाम लगायत नेपालीहरुको सम्पूर्ण राष्ट्रिय चाडपर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै संगठन प्रमुखहरुले यस्तो बताएका हुन् । बैंकमा कार्यरत चार वटै क्रियाशिल ट्रेड यूनियनले संयुक्त रुपमा सम्पन्न गरेको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष बेद बहादुर लावती, नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष जितेन्द्र सिंह थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र कार्की र राष्ट्रिय कर्मचारी संगठन नेपालका अध्यक्ष राजेन्द्र कार्कीले आ.व. ०७१/७२ को बोनस बितरण हालसम्म नगरेकोप्रति बैंक व्यवस्थापनलाई ध्यानाकर्षण गराए । साथै, कर्मचारीको हक, हित र टेड्र यूनियनको अधिकारको विषयलाई समेत कार्यक्रममा उठान गरिएको थियो । कार्यक्रममा नेपाल वित्तिय संस्था कर्मचारी संघका महासचिव माधव दत्त पन्तले कर्मचारीहरुका समस्याहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकमा भई रहेको कामहरुको विबेचना गर्दै यूनियनहरु संग सहकार्य गर्दै अगाडी बढ्न बैंक ब्यवस्थापन तयार रहेको बताए ।
बैंक संचालक समतिका अध्यक्ष डा.रबिन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव अशोक शिवा र राष्ट्रिय कर्मचारी संगठन नेपालका उप महसचिव उभार पाण्डेले गरेका थिए । कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु ज्ञानेन्द्र कोइराला, प्रा.डा.रामदेव सिंह, हरिप्रसाद मुनाकमी, का.मु.नायव प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद बैद्य, भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकसुशिल श्रेष्ठ, कविराव अधिकारी, केशव लम्साल, टेकराज जोशी, विभागिय प्रमुख तथा अधिकांश कर्मचारीहरुको उपस्थिती थियो ।



