बैंकिङ खबर/ अमेरिकामा वित्तीय क्षेत्रमा संकट आएको छ । अमेरिकाको ठूलोमध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ । यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ ।
सन् २००८ मा वासिंटन म्युचअल टाट पल्टिएको घटनापछि यो सबैभन्दा ठूलो संकट भएको बताइएको छ । बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा शेयर बेचेको र करिब २.२५ बिलियनबराबरको नयाँ शेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला शेयरहोल्डर र वचतकर्ताले आफ्नो लगानी र वचत फिर्ता लिन सुरु गरेका थिए ।
क्यालिफोर्नियामा मुख्यालय रहेको बैंक टाट पल्टिने अवस्थामा पुगेको नियामक निकायको भनाइ छ । नियामक निकायले सबै वचतकर्ताको पैसा सुरक्षित भएको बताएको छ ।
फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन(एफडीआईसी) ले करिब १७५ बिलियन डलर बैंकमा डिपोजिट रहेको जनाएको छ । ३१ डिसेम्बर २०२२ सम्म बैंकको कुल सम्पत्ति २०९ बिलियन डलर बराबरको भएको बताइएको छ । बैंकका शाखाहरूलाई पुनः खोल्न लगाएर सबै वचतकर्ताको पैसा सोमबारसम्म भुक्तानी गर्न पनि निर्देशन दिइएको छ ।
एफडीआईसीका अनुसार क्यालिफोर्निया र म्यासाचुसेट्समा गरी बैंकका १७ शाखा रहेका छन् । सिलिकन भ्याली बैंकले मुख्यगरी प्रविधिकेन्द्रित स्टार्टअप व्यवसायमा लगानी गर्दै आएको थियो । बिहीबार मात्र सिलिकन भ्याली बैंकको प्यारेन्ट कम्पनी एसभीबी फाइनान्सियल ग्रुपको शेयरमा ७० प्रतिशतसम्म गिरावट आएको थियो ।
सिलिकन भ्याली बैंक टाट पल्टिनुको आंशिक कारण संघीय रिजर्भ बैंकले गत वर्ष ब्याजदर वृद्धि गर्नु पनि भएको सीएनएनले जनाएको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पछिल्लो घटनाक्रमलाई सावधानीपूर्वक हेरिरहेको बताएकी छिन् । उनले नियामक निकायका उच्च अधिकारीलाई भेटेर वित्तीय क्षेत्रको यथावत सञ्चालनका लागि आवश्यक कदम चाल्न पनि निर्देशन दिएकी छिन् ।
सन् १९८३ मा क्यालिफोर्निया बैंकका रूपमा स्थापना भएको सिलिकन भ्याली बैंक पछिल्लो १ दशकमा तीव्र विस्तार भएको हो । यस बैंकका विश्वका विभिन्न देशमा गरी करिब ८ हजार ५ सय कर्मचारी रहेका छन् । सिलिकनमा देखिएको संकट वैश्विक अर्थतन्त्रमा समेत पर्ने सम्भावना रहेको अर्थशास्त्रीहरूको भनाइ छ । उक्त बैंक यस वर्ष बन्द भएको पहिलो एफडीआईसीले सुरक्षण(बिमा) गरेको पहिलो संस्थान हो । साढे २ वर्षअघि अल्मेना स्टेट बैंक बन्द भएको थियो ।