Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आर्थिक संकटमा पाकिस्तान : ब्याजदर बढाउने तयारीमा केन्द्रीय बैंक

२०७९ फाल्गुन १४ गते

बैंकिङ खबर/ विदेशी मुद्रा सञ्चित ३ अर्ब डलर मात्रै बाँकी रहँदा पाकिस्तान यतिबेला टाट पल्टिने बिन्दुमा पुगेको छ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले हालै सरकारी खर्च कटौतीको घोषणा गरेका छन् । देशलाई बचाउन त्यहाँका प्रधानमन्त्रीले अन्तिम पहल थालेका छन् ।

’मसहित मन्त्रिपरिषद्का सबै मन्त्रीहरुले तलब लिने छैनौँ। तमाम केन्द्रीय मन्त्री बिजुली, पानी, ग्यास र टेलिफोनको बिल गोजीबाट भर्नेछन्’, उनले घोषणामा भनेका छन्। शरिफका अनुसार मन्त्रीहरुसँग रहेका सबै लग्जरी गाडी पनि लिलाम गरिनेछ। सर्वोच्च अदालत, उच्च अदालत र कर्मचारी क्षेत्रलाई पनि खर्च कटौतीका लागि सरकारले अपिल गरेको छ।

शरिफले सरकारको खर्च कम गर्न करदाताको लाखौँ रुपैयाँ बचाउने योजना पनि सुनाएका छन् । यसका लागि तमाम कदम उठाइने उनले जानकारी दिए। शरिफले कसैको दबाबमा नपरी आफूले यो निर्णय गरेको पनि बताएका छन्।

व्याजदर बढाउने तयारी

पाकिस्तानको केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तानले यसै हप्ता ब्याज दर बढाउने तयारीमा लागि परेको छ । दर वृद्धि २०० आधार बिन्दु जति धेरै हुने अपेक्षा गरिएको छ । हालको दर १७ प्रतिशत रहेको छ । आर्थिक संकटबाट गुज्रिरहेको छिमेकी मुलुक अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट १ अर्ब डलरको ऋण सहयोगमा पुनः प्राप्ति गर्न खोजिरहेको छ । हालैको ट्रेजरी बिल लिलामीमा बजार सहभागीहरूले केन्द्रीय बैंकको नीति दरमा कम्तिमा २०० आधार बिन्दु वृद्धिको अपेक्षा गरिरहेका छन्, रोयटर्सले भनेको छ ।

अपेक्षित वृद्धि पाकिस्तान सरकारले घरेलु ऋण बढाउन लिलामीमा तोकेको दरमा आधारित छ । पाकिस्तान सरकारले बुधबार लिलामीमा ९९१.५४ मिलियन डलर जुटाएको छ । पाकिस्तानले कर बढाउने, सब्सिडी हटाउने र विनिमय दरमा कृत्रिम अंकुश लगाउनेलगायत आइएमएफ कोषलाई सुरक्षित गर्न धेरै उपायहरू गरिरहेको छ । पाकिस्तानमा आईएमएफका निवासी प्रतिनिधि एस्थर पेरेज रुइजले भने, ‘संस्थाले मुद्रास्फीतिलाई नियन्त्रण गर्न मौद्रिक नीतिको प्रयोगलाई समर्थन गर्नेछ ।’

Ad