२०७९ पुष १ गते

बेलायतको औसत ब्याजदर १४ वर्ष यताकै उच्च

बैंकिङ खबर/बैंक अफ इङ्गल्यान्डले ०.५ प्रतिशतले ब्याजदर बढाएर ३.५ प्रतिशत पुर्याएको छ । यो औसत ब्याजदर सन् २००७ यताकै उच्च हो । इन्धन र खाद्यान्नको मूल्यमा भएको वृद्धिका कारण बेलायतले ४० वर्ष यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ । मुद्रास्फीति नियन्त्रणका लागि बेलायती केन्द्रीय बैंक– बैंक अफ इङ्गल्यान्डले निरन्तर ब्याजदर बढाइरहेको छ ।

केन्द्रीय बैंकले ब्याजदर बढाउँदा घर धीतो राख्ने तथा कर्जा लिएका मानिसहरुको जीवनस्तरमा समस्या थपेको छ । इन्धन तथा खाद्यान्नको मूल्य आकाशिदा समस्या भोगिरहेका जनताहरुलाई ब्याजदर वृद्धिले अझ गहिरो समस्यामा पारेको छ ।

बेलायतको हालको मुद्रास्फीति दर १०.७ प्रतिशत रहेको छ । बेलायती सरकारले मुद्रास्फीति दर २ प्रतिशतमा कायम गर्ने उद्देश्य लिएको छ । केन्द्रीय बैंकका गर्भनर एन्ड्रु बेलीले मुद्रास्फीति नियन्त्रणमा नआउँदा सम्म ब्याजदर बढाउने निर्णय गरेका छन् ।