म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब एक अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा रेमिट्यान्स पठाएका हुन् । चाडपर्वमा उपभोग र किनमेलमा धेरै खर्च हुने गर्छ । विदेशमा रहेकाले समेत अन्य समयको तुलनामा बढी रकम पठाउने गरेका छन् ।
चाडपर्वको समयमा रेमिट्यान्स भित्रिने क्रम बढी हुने गरेको बैंकरहरु बताउँछन् । जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी रेमिट्यान्स भुक्तानी गरेको जनाएका छन् । सो अवधिमा एउटा कम्पनी तथा शाखाले न्यूनतम् एक करोड ५० लाख रुपैयाँदेखि बढीमा पाँच करोड रुपैयाँसम्म रेमिट्यान्स भुक्तानी गरेका छन् ।
म्याग्दीको करिब ३० हजार जनसङ्ख्या रोजगारी, अध्ययन र विभिन्न पेसा व्यवसायको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका छन् ।



