September 22nd, 2022

बैंकहरुको ब्याजदर अझै बढ्न सक्छ : चिरञ्जिवी नेपाल(पूर्व गभर्नर)

चिरञ्जिवी नेपाल

पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक

बैंकहरुको ब्याजदर थप बढ्ने सम्भावना रहेको छ । किनकी बजारमा अहिले पैसाको अभाव हुँदा ब्याजदर थप बढ्न सक्छ । त्यो सम्भावनालाई रोक्नका लागि सीडी रेसियो केही खुकुलो गर्ने र उत्पादनमुलक क्षेत्रमा केन्द्रीय बैंकले लगानीे बढाउने हो भने थप ब्याजदर नबढ्न सक्छ ।

त्यस्तै सरकारले ब्याज अनुदान दिएको पैसा सही ठाउँमा लगानी भएको छ कि छैन भनेर उचित अनुगमन तथा मुल्यांकन गरेमा ब्याजदर नबढ्ने सम्भावना छ । यदि त्यो गर्न नसकेमा अहिलेको स्थितिमा जुन रुपमा ब्याजदर बढेको छ, बजारमा पैसाको अभाव रहुन्जेलसम्म ब्याजदर वृद्वि हुँदै जान्छ ।

यो धेरै लामो समयदेखिको अवस्था हो । करिब एकवर्ष अघिदेखि नै हो । केन्द्रीय बैंकले १९ प्रतिशतमा कर्जा विस्तार गर्ने भनिएको थियो अघिल्लो वर्षमा त्यो ३२ प्रतिशतभन्दा माथि भयो जसले गर्दा केन्द्रीय बंैकभित्र भएको सबै निक्षेप बैंकहरुले लगानी गरे र बैंकमा पैसा आउन सकेन । जसले गर्दा अहिले यस्तो अवस्था आएको हो ।

बैंकहरुले लगानी गरेको निक्षेप जुन रुपमा चार पाँच महिनामा बैंकहरुमा आउनुपथ्र्याे तर आएन र अधिकांश पैसा आयातका लागि खर्च भयो । त्यस कारणले यस्तो अवस्था आयो ।

त्यस्तै रेमिट्यान्स जुन रुपमा लगातार नौ महिनासम्म घट्दै जाँदा रेमिट्यान्सको पैसा पनि बैंकमा कम आयो, जसले गर्दा करिब डेढ वर्षदेखि नै यस्तो स्थिति भएको छ ।

त्यसैले अहिले कसिलो मौद्रिक नीति ल्याएर बजारमा पैसा नपठाउने भन्दा पनि थोरै थोरै पठाउनुपर्ने स्थितिमा नपठाउनुपर्ने जस्तो अवस्था आएको छ । अहिलेको मौद्रिक नीतिले १२.६ प्रतिशत कर्जा विस्तार गर्ने भनेको छ, जुन कर्जा विस्तार नभएसरह हो । साथै मुद्रा प्रदायक १२ प्रतिशत भनेको थियो, त्यो पनि बजारमा पैसा नपठाए सरह हो ।

त्यसकारण यसमा केही सुधार गरी कर्जा विस्तार १५ वा १६ प्रतिशत गरेर र मुद्रा प्रदायक १५ प्रतिशत गरिदिएमा बजार केही हदसम्म चलायमान हुन सक्छ । नत्र भने अनौपचारिक क्षेत्रमा बढ्दै जाने र औपचारिक क्षेत्र साँघुरिदै जान सक्छ, जस्ले गर्दा अर्थतन्त्रमा अन्यौलता सिर्जना हुन्छ ।

बैंक वित्तप्रतिको विश्वास हट्दै जान्छ । त्यसकारण केन्द्रीय बैंकले कसिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदा कर्जा विस्तारको अवस्था बढाएर १५वा १६ प्रतिशतको हाराहारीमा राख्दा दुई तीन महिना केही राहत हुन्छ । तर अहिले तुरुन्तै केही हदसम्म उत्पादनमुलक क्षेत्रका लागि सीडी रेसियोमा केही खुकुलो बनाइदिने गर्नुपर्छ । जसले गर्दा उत्पादनमुलक क्षेत्रमा केही पैसा जाओस् र सरकारले दिएको अनुदानको पनि राम्रोसँग अनुगमन गरेमा बजारको ब्याजदर घट्ने सम्भावना रहेको छ ।

तरलता समस्या

डेढ वर्षदेखि नै केन्द्रीय बैंकले अत्यधिक कर्जा विस्तार गरिदियो । नियमन र सुपरिवेक्षण गर्ने काम भएन । जसले गर्दा १९ प्रतिशत कर्जा विस्तार हुनुपर्नेमा २५ प्रतिशतभन्दा बढी भयो । बैंकहरुको निक्षेपमा १० प्रतिशतभन्दा बढी दिनुहुँदैन भनेर तोकिदियो । फलस्वरुप बैंकमा ब्याजदर आएन र मानिसहरुले बाहिरै निक्षेप राख्न थाले त्यसकारणले यो स्थिति आएको हो ।

तरलता समाधान

तरलता समाधान गर्न सीडी रेसियो खुकलो गराई उत्पादनशील क्षेत्रमा पठाउने गर्नुपर्छ । अहिलेको कसिलो मौद्रिक नीति रहेको छ । यसलाई अलिकति सरल बनाएर १५ वा १६ प्रतिशतमा कर्जा विस्तार गर्न सकेमा यो समस्या समाधान गर्न सकिन्छ ।

शोधानान्तर स्थिति घट्नु

शोधानान्तर स्थिति घट्नुको प्रमुख कारण धेरै आयात भएर हो । नेपालमा आउने भन्दा जाने पैसा बढी भयो । त्यसैले नेपालको शोधानान्तर स्थिति २२ अर्बले घाटामा रहेको छ ।

विदेशी रेमिट्यान्स बढाउने, आयातमा कम गर्ने, विदेशी ऋण तथा अनुदान र सहयोग लिने, विदेशी लगानी आकर्षण गर्ने गरेमा देशभित्र आउने पैसा बढी हुन्छ, देशबाहिर जाने पैसा कम हुन्छ र शोधानान्तर स्थिति स्वत : सुधार हुन्छ ।

(डा. नेपालसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]