२०७३ आश्विन १३ गते

‘फेल’ भएका बजेट आश्रित विधेयक ‘हेरफेर’सहित संसदमा पेश हुँदै

parliament-meetingसरकारले बजेटसँग सम्बन्धित तीन आश्रित विधेयक बिहिबार संसदमा पेश गर्दै छ ।  यसअघिको सरकारले प्रस्तुत गर्दा अस्वीकृत भएका ती विधेयेक वर्तमान सरकारले पुनः संसदमा पेश गर्न लागेको हो । तत्कालिन एमाले नेतृत्वको सरकारले जेठ १५ गते बजेट प्रस्तुत गरेको थियो । बजेटको खर्च सम्बन्धी अख्तियारी दिने मुख्य विनियोजन विधेयक असार २५ गते पारित भएको थियो । तर सँगै पेश भएका अन्य तीन बजेट आश्रित विधेयक अस्वीकृत भएका थिए ।

आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ विधेयक सरकारले आज बस्ने संसद बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सह–प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । बिहान ११ बजेपछि बस्ने बैठकमा सरकारे ती विधेयक पारितका लागि पेश गर्नेछ ।

अर्थमन्त्री निकट श्रोतका अनुसार ती विधेयकमा केही विषयमाथी हेरफेर समेत गरिएको छ । एमाले र माओवादी संयुक्त सरकारले तयार गरेको बजेट सदनमा पेश भएपछि विनियोजन विधेयक पारित गर्न साथ दिएको माओबादीले अविश्वासको प्रस्ताव संसदमा पेश गरेपछि बजेट आश्रित विधेयकको विपक्षमा मतदान गरेको थियो ।