
बैंकिङ खबर/ तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड छैटौ वर्षमा प्रवेश गरेको छ । ७ वटै प्रदेशमा सेवा विस्तार गरेको संस्थाको ९० वटा शाखा रहेको छ । संस्थाको ग्राहक संख्या ७४ हजार ७ सय ५५ रहेको छ । संस्थाले ४ अर्ब ४१ करोड कर्जा लगानी गरेको छ । संस्थाले १ अर्ब ३२ करोड रुपैयाँ बचत गरेको छ भने ३ सय ४९ कर्मचारी संस्थामा रहेका छन् ।
शाखा कार्यालय सिम्रौनगढले वार्षिकोत्सवको अवसरमा अनाथ आश्रममा शैक्षिक सामग्री वितरण गरेको छ । कलैया उपमहानगर वडा नं.४ नयाँबस्तीमा रहेको अमृता अनाथालयमा शैक्षिक सामग्रीका साथै खाद्यान्न हस्तान्तरण गरिएको हो । सो अवसरमा आश्रमकी प्रमुख, फुलमती बस्नेत, लघुवित्तको सिम्रौनगढ शाखाका शाखा प्रमुख नरेश प्रसाद यादव तथा शाखाका सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यसैबीच वार्षिकोत्सवको अवसरमा नयाँमिल सुपरीवेक्षण मुकाम रुपन्देही तथा फर्साटिकर शाखा रुपन्देहीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ ।

नयाँमिल सुपरीवेक्षण कार्यालयका अधिकृत विक्रम उपाध्यायको अध्यक्षता तथा प्राथामिक स्वास्थ्य केन्द्र फर्साटिकरका मेडिकल अधिकृत डा.रोहित कान्दुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमबाट एक सय एक जना लाभान्वित भएको संस्थाले जनाएको छ ।
त्यसैगरी संस्थाको नयाँमिल, प्रतापपुर, सिक्टहन, खैरेनी, भैरहवा, लुम्बिनी साँस्कृतिक र रामग्राम गरी ८ वटा शाखा कार्यालयहरुको संयुक्त आयोजनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ५ मणिग्रामस्थित श्री गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका २० जना विद्यार्थीहरुलाई स्कूल युनिफर्म वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक केदार चन्द्र पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा नयाँमिल सुपरीवेक्षण कार्यालयका प्रमुख विक्रम उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुलीले लघुवित्तले पनि यस्ता सामाजिक कार्यहरु गर्दै आएको पहिलो पटक जानकारी पाएको भन्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड गौंडाकोट शाखाको आयोजनामा त्यस क्षेत्रको गुल्मीदरबार ६ डोटा, गुल्मीदरबार १ बलिथुम र बरुखामा बालविवाह सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । संस्थाले एकैदिन ३ ठाउँमा बालविवाह सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ६४ जना महिला दिदीबहिनीहरु तथा ग्राहक सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बालविवाह न्यूनीकरण सम्बन्धी पम्प्लेट वितरण सहित ‘बालविवाह सामाजिक अपराध हो’ भन्ने विषयमा रही कार्यक्रम समापन भएको थियो । उक्त कार्यक्रममा प्रशिक्षकको भूमिका शाखाकी प्रमुख विपना खनाल र सहायक प्रदिप पन्थीले गर्नुभएको थियो ।
त्यस्तै पाल्पा जिल्ला तानसेन नगरपालिका स्थित निलसागर सेवा आश्रममा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, तानसेन शाखाले फलफूल वितरण गरेको थियो । कार्यक्रममा सभाध्यक्षको रुपमा आश्रमका अध्यक्ष देव प्रसाद बज्राचार्य र प्रमुख अतिथीको रुपमा रहेका तानसेन शाखाका प्रमुख तिला कुमारी बस्यालले आश्रमका ३० जनालाई फलफुल वितरण गर्नुभएको हो । कार्यक्रममा सभाध्यक्ष देव प्रसाद बज्राचार्यले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडलाई बधाईका साथै धन्यवाद सहित सम्मान स्वरुप प्रमाण पत्र पनि प्रदान गर्नुभएको थियो ।




