July 9th, 2022

माछापुच्छ्रे बैंक लुट्ने प्रयास !

बैंकिङ खबर/ मोरङको जहदास्थित माछापुच्छ्रे बैंक लुटपाटको प्रयास भएको छ । गए राति करिब साढे २ बजेतिर अपरिचित समूह बैंकको पछाडि पट्टीको दुई वटा ढोका फुटाएर भित्र पसेको शाखाका सुरक्षा गार्ड श्रवणकुमार सिंहले बताए ।

मध्यरातमा अज्ञात समूह बैंकमा प्रवेश गरेपछि गार्डले साथमा रहेको खुकुरी देखाएर तर्साउन खोजेका थिए । तर त्यो समूहले नटेरेपछि उनले घर र छरछिमेकमा फोन गरेर बैंकमा लुटेरा समूह छिरेको बताएका थिए । मध्यरातमा अपरिचित समूह प्रवेश गरेपछि उनले चिच्याए ।

छरछिमेकमा फोन गरेर हल्ला भएपछि भने दुई वटा ढोका फोडेर बैंक छिर्दै गरेको समूह फरार भएको थियो । बैंकको सिसी क्यामेरामा भने दुई जना मात्रै देखिएका छन् । सिसी क्यामेरामा देखिएकाहरुले मुख छोपेका थिए । हल्ला भएको केही समय पछि प्रहरी पनि आएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले जहदा गाउँपालिका– ५ मा बैंक रहेको भवनको पछाडि पट्टीको ढोका फोडिएको अवस्थामा पाइएको बताएको छ। लुटपाटको प्रयास भए नभएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]