
बैंकिङ खबर/ लघुवित्त संघ नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले नेपाल राष्ट्र बैंकले सहयोग गरे लघुवित्तहरुले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने बताउनुभएकाे छ । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले काठमाडौंमा गरेको आयोजनामा आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा अध्यक्ष पोखरेलले लघुवित्तको व्यवस्थापनमा राष्ट्र बैंकले सहयोग गर्ने हो भने गुणस्तरीय सेवा दिन सक्ने बताउनुभएकाे छ। ‘हामी राष्ट्र बैंकको सहयोग चाहन्छौँ’, पोखरेलले भन्नुभयाे ।
अध्यक्ष पोखरेलले बैंक पुग्न नसकेको स्थानमा लघुवित्त पुगेर सेवा प्रदान गरिरहेको बताउनुभयाे । हाल ६५ वटा लघुवित्तका ४ हजार ९०० शाखामार्फत दूरदराजका मानिसहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको उहाँले जानकारी दिनुभयाे ।
लघुवित्तले कृषि, पर्यटन, जलविद्युत क्षेत्रको विकासमा सहयोग पुर्याइरहेको पोखरेलको भनाइ छ। उहाँका अनुसार विभिन्न क्षेत्रमा लघुवित्तहरुबाट ४ खर्ब लगानी भइसकेको छ। त्यस्तै मर्जरको कुरामा राष्ट्र बैंकले ल्याएको नीति कार्यान्वयन गर्न पनि पोखरेलले आग्रह गर्नुभएको थियो ।


