मुलुक समृद्ध हुन त्यहाँका नागरिक क्रियाशील, इमान्दार र उद्यमशील हुनुपर्छ । कुनै पनि विकसित देश धनी हुनुपूर्व गरिब नै थियो । यो कुरालाई आत्मसात गर्नुपर्छ । अहिले हामीकहाँ बिजुली छैन, पानी छैन र बाटोघाटो पनि राम्रो छैन । यो नेपालको वास्तविकता हो । हो, नेपालको वास्तविकता त्यही हो । यही वास्तविकता आत्मसात गर्न सकिएन भने नेपालमा पनि केही गर्न सकिन्न । त्यसैले उद्यमी बन्न र कुनै पनि क्षेत्रमा सफल बन्न देशको परिस्थितिलाई बुझ्नु आवश्यक छ । कुनै पनि कुरालाई सुरु नगरी हामी डराउँछौँ । त्यसको सम्भावित जोखिम सम्झिएर हामी अघि बढ्न चाहाँदैनौँ । तर सफलता त्यही व्यक्तिले मात्रै प्राप्त गर्न सक्छ जसले ‘रिस्क’ लिन्छ । जोखिम नउठाएसम्म प्रगति गर्न सकिदैन । जिन्गीमा कुनै अवसर भनसुनका आधारमा पाइएला भन्ठान्यो भने प्रगति हुँदैन । भनसुनले एउटा स्टेप चाल्न सकिएला तर त्योभन्दा अगाडि जान आफैँलाई विश्वास गरेर प्रयास गर्नुपर्छ ।
मैले पनि जोखिम उठाएँ
नविल बैंकमा सीइओ छँदाछँदै अनुमति नै प्राप्त नगरिसकेको प्रस्तावित मेगा बैंकमा जान पनि मैले जोखिम उठाएको थिएँ ।
मैले सन् १९९९ मा तत्कालीन ग्रिनलेन्ड्स बैंकमा सहायक स्तरबाट जागि सुरु गरेको हुँ । त्यतिबेला जागिर सुरु गर्दा मैले अन्तर्वार्ता लिनेको ठाउँमा पुग्ने सपना देखिसकेको थिएँ । गन्तव्य राखिएन भने प्रगति हुँदैन । बसपार्कमा पुगेपछि त हामी यहाँ जाने उहाँ जाने भनेर गन्तव्य तोक्छौँ भने जिन्दगीमा चाहिँ किन नतोक्ने ?
पैसा ठूलो होइन
व्यवसाय वा उद्यम गर्न पैसा ठूला कुरा हैन । बैंकले नै पैसा दिए पनि मेहनत गरेर कमाउनुपर्ने काम आफैँले गर्नुपर्छ । ‘पैसा भए त विजनेस गर्थेँ’ भनेर सोच्नु गलत हो । ‘मेहनत गर्छु’ भनेर लाग्नुपर्छ सफल भईन्छ । दिनभरि घाम भए पनि काम गर्छु, रातभर चिसो भए पनि काम गर्छु भनेर लाग्नुपर्छ सफल भईन्छ । तर संगसंगै योजना पनि बनाउनुपर्छ । गर्ने भनेर मात्रै हुँदैन तर के गर्ने भनेर प्रष्ट भएर गर्ने हो भने नहुने भन्ने कुरै हुँदैन ।
पैसा कमाएर पनि जे गरे पनि जिन्दगीमा सबैभन्दा ठूलो कुरा खुसी हो । खुसी हुन पैसै कमाउनुपर्छ भन्ने पनि छैन । जसलाई जे गर्दा खुसी लाग्छ त्यही गर्नुपर्छ । त्यसका लागि जिन्दगीमा पाँच प्राथमिकता तोक्न सकिन्छ । परिवार र साथीभाई, धनदौलत, स्वास्थ्य, प्रतिष्ठा तथा शक्ति वा काम भन्ने प्राथमिकता तोकेर अगाडि बढ्न सके जिन्दगीमा केही भईन्छ ।
नेपालमा पैसा हुनेलाई वा पैसा कमाउनेलाई सम्मान गर्ने परिपाटी बस्न सकेको छैन । धनी हुनुमा वर्ग गरेरै चीनले प्रगति गर्न सकेको हो । पैसा कमाउनमा गौरव गरौँ, हामी धनी नभए पनि इमानदार बनौँ, पारदशी बनौँ । मेगा बैंकका सिइओ शाहले उद्यमशील श्रृंखला क्रस दी बोर्डरमा गरेको सम्बोधनमा आधारित



