July 4th, 2022

सामाजिक सुरक्षा कोषः स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह

बैंकिङ खबर/ सामाजिक सुरक्षा कोषले सोमबारदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ ।
सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो ।
कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले तोकिएका अस्पतालमा २० प्रतिशत मात्रै भुक्तानी गर्नुपर्ने कोषले जनाएको छ ।

सेवा लिएबापतको ८० प्रतिशत रकम र दुर्घटनाबापतको रकम भने सम्बन्धित अस्पतालले कोषबाट भुक्तानी लिनेछ । यससँगै योगदानकर्ता उपचारका लागि अस्पताल जाँदा ठूलो खर्चको जोहो गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । कोषमा सूचीकृत योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख नबढ्ने गरी औषधि उपचार सुविधा प्राप्त गर्दै आएका छन् । हालसम्म १२६ अस्पतालले योगदानकर्ताको स्वास्थ्योपचारका लागि कोषसँग सम्झौता गरेका छन् । कोषमा आबद्धमध्ये २६ अस्पतालबाट स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु भइसकेको छ ।

सोमबारदेखि विर्तामोडको मनमोहन मेमोरियल, पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र मेची दृष्टि आई केयर अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, इटहरीको पशुपति मोडेल अस्पताल, राजविराजको छिन्नमस्ता अस्पताल, हरिवनको नमूना अस्पताल, वीरगञ्जको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर अस्पताल र वीरगञ्ज दृष्टि आई केयर सेन्टरमा सो सेवा सुरु भएको छ ।

भरतपुरको पुरानो मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, कोहलपुरको नेपालगञ्ज मेडिकल कलेज, बनेपाको शिर मेमोरियल अस्पताल र पोखराको ग्यालेक्सी अस्पतालबाट पनि उक्त सेवा लिन सकिनेछ । काठमाडौँ उपत्यकामा रहेका हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, अर्थोपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौँ मेडिकल कलेज र पाटन अस्पतालमा पनि उक्त सेवा सुरु भएको छ ।

स्वचालित विद्युतीय प्रणाली कार्यान्वयनमा आएसँगै योगदानकर्ताले स्वास्थ्य उपचारका लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाका निम्ति काजगातजसहित कोषमा जानुपर्ने झन्झट अन्त्य भएको छ ।

यसअघि कोषमा आबद्ध योगदानकर्ताले तोकिएका अस्पतालमा उपचार गराएको बील बुझाएर कोषबाट भुक्तानी लिनुपर्ने अवस्था थियो ।
अब योगदानकर्ता कोषले उपलब्ध गराएको परिचयपत्र लिएर उपचारका लागि तोकिएको अस्पताल जानुपर्छ । सम्बन्धित अस्पतालमा कोषको प्रणाली जडान गरिएको छ । सो प्रणालीबाट योगदानकर्ताले पाउने उपचार खर्चको विवरण हेर्न सकिने छ । सोही आधारमा तोकिएमध्येबाट बाँकी रकम बराबरको उपचार योगदानकर्ताले पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]