June 27th, 2022

बैंकिङ प्रणालीबाटै रेमिट्यान्स पठाऔं : डा. गुणाकर भट्ट (प्रवक्ता, राष्ट्र बैंक)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकिङ प्रणालीबाटै रेमिट्यान्स पठाउन आग्रह गर्नुभएको छ । बैंकिङ खबरसँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, ‘बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउने विषय सेवाग्राहीकै हितको कुरा हो । यो सुरक्षित र भरपर्दाे हुन्छ । राष्ट्रिय अर्थतन्त्रलाई औपचारिक बनाउने विषयमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साथै अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रणमा राख्नका लागि मद्दत गर्दछ ।’

उहाँले बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउँदा विभिन्न परिसूचकहरुमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशी विनिमय सञ्चितीमा पनि सहयोग पुर्याउँछ । घर परिवारले सहजै प्राप्त गर्न सक्नु्हुन्छ । रेमिट्यान्स बैंकमा रहँदासम्म घर परिवारलाई व्याज आर्जन गर्ने अवसर समेत मिल्छ ।’

सुरक्षित र जोखिमरहित रुपमा औपचचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्न, विकास निर्माणका पूर्वाधार र राष्ट्रिय अर्थतन्त्रको विदेशी विनिमय सञ्चीतिको आवश्यकता पुरा गर्नका लागि पनि बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो व्यक्ति, राष्ट्र र समग्र अर्थतन्त्रको हितमा छ ।’