June 22nd, 2022

लचकदार मौद्रिक नीति ल्याउन विज्ञहरुको सुझाव

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । राष्ट्र बैंकले जेठ मसान्तसम्मको आर्थिक सूचकहरुलाई आधार मानेर मौद्रिक नीतिको खाका तयार गरिरहेको छ । नयाँ मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव पनि मागी रहेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि राय–सुझाव मागेको हो । राष्ट्र बैंकलाई बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने चुनौती छ । यसैबीच हामीले वित्तीय क्षेत्रका विज्ञहरुलाई मौद्रिक नीति कस्तो आउनुपर्छ भनेर प्रतिक्रिया लिएका छौं ।

‘दरिलो नीति बनाउन आवश्यक छ’

दीपेन्द्र बहादुर क्षेत्री

पूर्व गभर्नर एवं अर्थविद 

बजेट आइसकेपछि मौद्रिक नीति आउने भएकाले सरकारले कस्तो प्रकारको वित्त नीति अनुशरण गरेको भन्ने विषयसँग बढी महत्व राख्छ ।
वित्त नीति र मौद्रिक नीतिबीच तालमेल ल्याउन सरकारले लिएको नीतिलाई राष्ट्र बैंकले अबलम्बन गर्नुपर्छ ।

निरन्तर बढिरहेको मुल्यवृद्धिलाई व्यवस्थापन गर्नका लागि सरकारले सुपथ मुल्यका पसल खोल्ने भनेको छ । यसको व्यवस्थापनमा राष्ट्र बैंकको भूमिका हुन सक्छ । यसलाई मौद्रिक नीतिले समेट्न सकिन्छ । सरकारले ल्याएको बजेट खर्च नहुने परिपाटी हाम्रोमा नौलो भएन । त्यस्तो हुन नदिनका लागि राष्ट्र बैंकले दरिलो नीति बनाउन आवश्यक छ ।

‘लचकदार मौद्रिक नीति नआउन सक्छ’


डा. तिलक रावल, पूर्व गभर्नर

मौद्रिक नीति केही खुकुलो आउनुपर्ने हो तर अहिले बढिरहेको मुद्रास्फितिको दरका कारण लचकदार मौद्रिक नीति नआउन सक्छ । किनकी राष्ट्र बैंक आन्तरिक स्थायीत्वको अध्ययन गरेर मुद्रास्फिति बढ्न नदिने तर्फ केन्द्रीत बन्नुपर्ने अवस्था छ ।

समग्रमा मुलुकको आर्थिक स्थिति राम्रो नभएकाले तरलता छोडेर आर्थिक क्रियाकलापलाई सञ्चालन गर्न भरथेग गर्नुपर्ने अवस्था हो । तर त्यस्तो नहुन सक्छ । राष्ट्र बैंकको ध्यान स्थायीत्वतर्फ जानुपर्ने देखिन्छ ।

‘सबै समस्यालाई मध्येनजर गर्दै मौद्रिक नीति आउनुपर्छ’

डा. चिरञ्जिीवि नेपाल, पूर्व गभर्नर

पछिल्ला दुई वर्ष राष्ट्र बैंकले निकै राम्रो मौद्रिक नीति ल्याएको थियो । सरकारको बजेट मतदातालाई खुशी पार्नका लागि आएको जस्तो देखिन्छ । अहिलेकै अवस्थालाई हेर्दा मुद्रास्फिति र ब्याजदर दुबै बढ्ने देखिन्छ । त्यसैले बजार र कर्जा प्रवाहलाई सन्तुलित रुपमा राख्न मौद्रिक नीति निकै कडा आउनुपर्छ । तर, सरकारले प्रस्तुत गरेको बजेटले राष्ट्र बैंकलाई समस्या पर्नसक्ने देखिन्छ । ती सबै समस्यालाई मध्येनजर गर्दै मौद्रिक नीति ल्याउनु आवश्यक छ ।

मुद्रास्फिति नियन्त्रणमा ध्यान दिनुपर्छः डा. रोक्का

डा. हरि रोक्का, अर्थविद्

मौद्रिक नीति विशेषगरी ३ कुराहरुलाई ध्यानमा राखेर आउनुपर्छ । पहिलो मुद्रास्फितिलाई कसरी नियन्त्रण गर्न सकिन्छ । दोस्रोमा सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयनका लागि कत्तिको सहज वातावरण निर्माण गर्छ भन्ने हो । बजेट सरकारले प्रस्तुत गरेको भएपनि ‘क्यास फ्लो’ राष्ट्र बैंकको निगरानीमा हुन्छ ।

त्यसैले मौद्रिक नीति बजेटसँगको तादाम्यताप्रति केन्द्रीत बन्न सक्छ । संसारभर अहिले कृषि उत्पादन कम भइरहेको छ । कृषि कर्जा लगायतका विषय व्यवस्थित बन्न नसक्दा यसमा कृषकको ध्यान कम पर्न थालेको छ । कृषि उत्पादनको लागत कम गर्न अथवा व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा यी विषयलाई पनि समेट्नु पर्ने देखिन्छ ।

‘वित्तीय स्थायीत्वलाई ध्यान दिऊ’

 नर बहादुर थापा, अर्थविद्

नेपालमा बजेटसँगै सरकारले भन्सारको दायरा बढाउने र आयात निरुत्साहित गर्ने सहितको नीतिका कारण बजारमा महंगीसमेत बढ्न थालेको छ । सरकारले बजेटमार्फत बर्षेनी भन्सारको दर परिवर्तन गर्छ । राजस्वको लक्ष्य पूरा गर्न, चालू खर्च धान्न र विकास निर्माणमा नयाँ नीति अङ्गीकार भन्दै विभिन्न शीर्षकमा भन्सार दर बढाउने गरिन्छ ।

आयात निरुत्साहन गर्ने, अत्यावश्यक र स्वास्थ्यमा प्रतिकूल असर पर्नेसहितका वस्तुको भन्सार दर बढाउनेसम्मको नीतिको प्रभावले बजारमा महंगीमा थपिने गरेको छ । त्यसो त सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिदर र ७ प्रतिशतभित्रै मूल्य वृद्धिको दरलाई कायम राख्ने उद्घोष पनि गरेको छ ।

तर, चालू आवको दश महिनाको तथ्यांकलाई हेर्दा महंगीदर ७.८७ प्रतिशत पुगिसकेको छ । चालु आर्थिक वर्षको वैशाख महिनामा उपभोक्ता मूल्य दोब्बरले बढेको पाइएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा दोब्बरले उपभोक्ता मूल्य वृद्धि भएको जनाएको छ । चालु आर्थिक वर्षको वैशाख महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । अब आउने मौद्रिक नीतिले मूल्य स्थिरता कायम गर्न अथवा मुद्रास्फितिलाई नियन्त्रणमा राख्न विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

यो अवस्था आउनु भनेको मौद्रिक स्थायीत्वमा चुनौति थपिनु हो । त्यसैले मौद्रिक स्थायीत्व मुलुकमा कसरी कायम गर्ने, आम नागरिकको नेपाली मुद्रामा विश्वास राख्न, मुल्यस्थिरता कायम गर्न, नेपालको मुद्रास्फितिलाई विश्वस्तर भन्दामाथि पुग्न नदिन लगायतका चुनौतिलाई केन्द्रमा राखेर राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनुपर्छ । विदेशी मुद्राको तुलनामा नेपाली रुपैयाँ अत्यन्त कमजोर छ । साथै नेपाली सामानको हकमा पनि नेपाली रुपैयाँ कमजोर छ । त्यसैले मौद्रिक नीति बनाउँदा राष्ट्र बैंकको ध्यान मौद्रिक स्थायीत्वमा केन्द्रीत हुनुपर्छ ।

पछिल्लो ११ महिनासम्म नेपालको सोधनान्तरमा सुधार देखिएको छैन । व्यापार घाटा निरन्तर रुपमा बढिरहेको छ । बाह्य क्षेत्रको स्थायीत्वमा चुनौती झन् थपिएको छ । रुस–युक्रेनको युद्धका कारण बाह्य क्षेत्रको चुनौति अझ थपिएको छ । यो तत्काल आजभोलि नै समाधान भइहाल्ने जस्तो देखिँदैन । त्यसैले अर्थतन्त्रमाथि नागरिकको विश्वास डगमगाउन नदिनका लागि त्यसतर्फ राष्ट्र बैंक सचेत रहनुपर्छ ।

यस्तै वित्तीय क्षेत्र सर्वसाधारण नागरिकको पहुँचभन्दा बाहिर जानसक्ने सम्भावना बढिरहेको छ । राष्ट्र बैंक सर्वसाधारण नागरिकबाट टाढा बन्ने खेलमा लाग्नु हुँदैन । अर्काे कर्जालाई उत्पादनसँग जोड्ने विषयमा राष्ट्र बैंकले ध्यान दिनुपर्छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]