२०७९ जेष्ठ २४ गते

कावासोतीमा शाइन रेसुङ्गा बैंकको शाखा

बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधिसभा सांसद तिलक महतले शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । यसअघि गण्डकी प्रदेशको कास्कीको पोखरा र बागलुङको बुर्तिबाङमा बैंकका शाखा सञ्चालनमा छन् ।

सो अवसरमा बोल्दै सांसद महतले अझै पनि ग्रामीण क्षेत्र र विपन्न समुदायमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुग्न बांकी रहेकाले शाखा विस्तारसँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुँच थप बिस्तार हुने बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बागमती प्रदेशको काठमाडाैँमा ५ स्थानसहित लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८४ स्थानमा शाखा कार्यालय सञ्चालनमा रहेका जानकारी गराउंदै बैंकले स्थानीयको माग र आवश्यकताका आधारमा बैंकिङ सेवा प्रदान गर्ने बताउनुभयो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगा मात्र भएको बताउनुभयो ।

बैंकका लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा शाखा सञ्चालनमा छन् भने संघीय राजधानी काठमाडौंमा ५ वटा शाखा कार्यालय सञ्चालनमा छन् । अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।