March 9th, 2022

कर्णाली क्षेत्रमा वित्तीय साक्षरताकाे धेरै महत्व छ : प्रकाशराज शर्मा

कर्णाली प्रदेशमा पहिलोपटक वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी बिहीबारदेखि शुरु हुँदैछ । कर्णाली प्रदेशमा साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको कार्यक्रममा प्रदेशको विकास, उद्यमशीलता अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनी गरिने छ । विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरि साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएर आयोजना गरिएको हो ।

मिडिया इन्टरनेशनलको आयोजनामा सम्पन्न हुने कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, स्थानीय सरकार, विभिन्न बैंकवित्त, बीमा कम्पनी तथा डिजिटल प्लेटफर्म, लघुवित्त, जस्ता कम्पनीका बारे सूचनामूलक स्टलहरु प्रदर्शन हुनेछन् । सम्मेलनमा लघुवित्त बैंकर्स संघ, नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ लगायतका संघसंस्थाको सहभागिता रहनेछ । यसै सन्दर्भमा हामीले लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मासँग यस सम्मेलनका बारेमा केन्द्रीत रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

कर्णाली प्रदेशमा पहिलो पटक सम्मेलन हुँदैछ । यसले लघुवित्त क्षेत्रमा कस्तो प्रभाव पार्ला ?

निश्चिय नै यसले सकारात्मक प्रभाव पार्छ । मानिसहरुलाई अहिले पनि क्षेत्रहरुले के गरिरहेका छन्, कसरी काम गरिरहेका छन् भन्ने जानकारी छैन । यसको जानकारी दिन पनि सम्मेलनको महत्व छ ।

यस्ता कार्यक्रमले जनमानसमा जनचेतना जगाउने काम पनि गर्छ । अझ कर्णाली जस्तो विकट क्षेत्रमा त यसले झन महत्व राख्छ । यहाँका सम्भावनाहरुका बारेमा र आर्थिक आयआर्जनका लागि के गर्न सकिन्छ भन्ने जानकारी दिन पनि यो सम्मेलनको ठूलो महत्व छ । यसले वित्तीय साक्षरता दिने काम गर्छ ।

अर्थतन्त्रमा यो सम्मेलनको के महत्व छ ?

सम्मेलनले अर्थतन्त्र चलायमान कसरी भइरहेको छ भन्ने ज्ञान दिने हुँदा कसरी वित्तीय श्रोतहरु परिचालन भइरहेको भन्ने सम्मको जानकारी एकै थलोमा दिइन्छ । यो पक्कै पनि ठूलो सम्मेलन हो । कर्णालीका आर्थिक संस्थाहरुका लागि त यो सम्मेलन कोशेढुंगा नै साबित हुनेछ । यसले वित्तीय पहुँचको अभिवृद्धि हुन्छ ।

अहिलेको तरलता अभावलाई कसरी समाधान गर्न सकिन्छ लगायतका विषयमा पनि यहाँ छलफल हुन्छ । यहाँ विभिन्न आर्थिक संस्थाहरुका नेतृत्वकर्ताहरुको उपस्थिति रहने हुँदा र उनीहरुका अनुभव शेयर हुने हुँदा पनि यसबाट आर्थिक क्षेत्रले निकै लाभ लिन सक्ने अवस्था छ ।

कर्णाली प्रदेशमा लघुवित्तको अवस्था कस्तो छ ?

कर्णाली समग्ररुपमा पछि परेको प्रदेश हो । यहाँ भर्खरै मात्र वित्तीय संस्थाहरु विकसित हुँदैछन् । यहाँको भौगोलिक अवस्थाले गर्दा पनि काम गर्न सहज थिएन । यहाँ अन्य प्रदेशको तुलनामा धेरै काम गर्न बाँकी छ ।

यहाँ लघुवित्तको आकार सानो छ । यहाँबाट बैदेशिक रोजगारीमा जानेहरु बढेकाले स्वरोजगार बन्नेतिर ध्यान दिने मानिसहरु कम छन् । चेतना जगाउन बाँकी छ । लघुवित्त मात्र होइन कर्णालीमासमग्र बैंकिङ पहुँच कम नै छ । त्यही समस्या समाधान गर्न सकियोस् भनेर नै हामीले वित्तिय सम्मेलन गरेका हौं ।

सम्मेलनमा लघुवित्तका बारेमा के के प्रदर्शन हुन्छ ? यसले लघुवित्तलाई कस्तो सन्देश दिन्छ?

सम्मेलनमा लघुवित्तबारे जानकारी दिने छुट्टै कार्यक्रम छ । यहाँ लघुवित्तमा कसरी सहभागि हुने, आर्थिक अवस्था उकास्न कसरी काम गर्ने लगायतका शिक्षा दिने काम हुन्छ ।

सहजरुपमा लघुवित्तबारे धेरै जानकारी दिइन्छ । यसले आगामी दिनमा आउन सम्ने समस्या समाधानको बाटो खोल्ने काम गर्छ । यसर्थ वित्तिय सम्मेलन आवश्यक भएको हो ।

नेपालको सन्दर्भमा वित्तीय जागरणको अभाव भइरहेको अवस्थामा यस्तो सम्मेलनले कस्तो भूमिका खेल्छ ?

जनस्तरमा वित्तीय पहुँच सहज होस् भनेर नै वित्तीय सम्मेलन गरिएको हो । खासमा हामीले वित्तीय क्षेत्रमा धेरै काम गर्न बाँकी छ । सोचे जस्तो सफलता पाउन सकिएको छैन ।

मानिसहरुले चाहेर पनि आर्थिक शिक्षा लिन नसकिरहेको अवस्था छ । उनीहरुले कहाँ गएर वित्तीय शिक्षा लिने भन्ने थाह नभएको अवस्थाले पनि कर्णाली जस्ता ठाउँहरुमा वित्तीय संस्थाहरु राम्ररी चल्न सकेका छैनन् । यस्ता कार्यक्रमहरुले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गर्न सकियोस् भनेर हामी लागि परेका छौं । वित्तीय सम्मेलनले आर्थिक क्षेत्रमा फैलाइएका भ्रमहरु चिर्न सकिन्छ भन्ने लाग्छ ।

अन्त्यमा सम्मेलनबारे केही भन्नु छ कि ?

कर्णाली प्रदेशमा यस्तो कार्यक्रम पहिलो पटक हुँदैछ। यसलाई अन्य प्रदेशमा पनि निरन्तरता दिइनुपर्दछ । यसका लागि माइक्रोफाइनान्सका तर्फबाट मैले सक्ने सहयोग रहन्छ । अन्य वित्तीय संस्थाहरुले पनि यसतर्फ ध्यान दिनुपर्छ ।

यस्ता कार्यक्रमहरु बेला बेलामा गर्दै जाने हो भने विकट क्षेत्रमा पनि वित्तीय संस्थाहरुले काम गर्न सहज हुन्छ । आमसर्वसाधारणमा वित्तीय संस्था सम्बन्धी जागरण पैदा हुन्छ । हामीलाई महत्वमा राखेर कुराकानी गरिदिनु भएकोमा तपाईं र तपाईंको मिडियाप्रति हार्दिक धन्यवाद छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]