बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकर भट्टले राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्।
प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याजदर बढाउनका लागि निर्देशन नदिएको बताएका हुन् । उनले तरलता व्यवस्थापन गर्नका लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकुल बैंकहरुले ब्याजदर निर्धारण गर्ने गरेको बताए। राष्ट्र बैंकले बैंकहरुलाई ब्याज निर्धारण गर्नका लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टको भनाइ छ।
उनले बैंकहरुमा तरलता माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय व्यवस्थापनमा दबाब परेको बताउनु भयो । बैंकहरुले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा निक्षेपलाई प्रोत्साहन नगर्दा निक्षेपको ब्याजदर घट्ने गरेको उनले बताए।
प्रवक्ता डा. भट्टले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा अहिले भएका नीतिगत व्यवस्थालाई पुनरावलोकन भएर आउने बताए। उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक व्यवस्थापन र आर्थिक स्थायीत्वमा जोड दिएको बताए। प्रवक्ता डा.भट्टले पछिल्लो १८ महिनाको बीचमा १३ खर्ब कर्जा विस्तार भएकाले बजारमा तरलताको दबाब कायम रहेको जानकारी दिए । चालु आर्थिक वर्षको शुरुवातदेखि कर्जा विस्तार र उच्च आयातका कारण तरलता समस्या भएको उनको भनाइ थियो।
स्थायी तरलता बाहेक ३५० अर्ब अन्य मौद्रिक उपकरणहरु रिपो लगायत माध्यमबाट पठाएको उनको भनाइ छ। तरलता अभाव अर्थतन्त्रको विस्तार अथवा अर्थतन्त्रको संकुचनसँग जोडिएकाले अर्थतन्त्र विस्तारसँगै कर्जाको माग बढ्ने, कर्जाको माग बढेसँगै बजारमा तरलतामा दबाब बढ्ने गरेको डा.भट्टले बताए । उनले अर्थतन्त्र संकुचनमा जाँदा आर्थिक क्रियाकलाप शिथिल हुँदा तरलता प्राप्त हुने गरेको बताए । अब केही समयपछि बजारमा तरलता सहज हुने पनि बताए।
बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहेको कर्जा ४६ खर्बमा पछिल्लो डेढ वर्षमा मात्रै १३ खर्ब विस्तार भएको उनले जानकारी दिए । उनले विस्तार भएको कर्जामा अधिकांश हिस्सा आयातमा उपयोगी भएकाले बजारमा तरलता बढ्दै गएको बताए। डा.भट्टले राष्ट्र बैंकले तरलता व्यवस्थापनको सहजीकरण पनि गरिरहेको बताउँदै चालु आर्थिक वर्षको शुरुवातदेखि अहिलेसम्म पटकपटक गरेर स्थायी तरलता सुविधाको माध्यमबाट ३९ खर्ब बजारमा पठाएको बताए।