साताको अन्तिम दिन शेयर बजार ३.६२ अंकले बढेर १२८३.५२ अंकमा बन्द भएको छ । साताको सुरुवातमा बढेर मंगलबारदेखि ओरालो गतिमा लागेको बजार अन्तिम दिन बढेर बन्द भएको हो । बजार बढेसँगै कारोबार पसिन सुधारिएको छ । बुधबार ४३ करोडको कारोबारमा सिमित रहेको बजारमा विहिबार ५१ करोड माथिको कारोबार भएको छ । दिनभरिमा ११६ वटा कम्पनिको २ हजार १ सय १८ कित्ता शेयर २१ लाख ३० हजार ९४ पटक किनबेच हुँदा ५१ करोड ३२ लाख २९ हजार ८ सय ३४ रुपैँया बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
विहिबार नेपाल इन्भेष्यटमेन्ट बैँकको मात्रै ८ करोडमाथिको कारोबार भएको छ । बैँकको संस्थापक शेयरको ५ करोड ७९ लाख १५ हजार ६ सय ८७ रुपैँयाको कारोबार भएको छ भने साधारण शेयर २ करोड ५५ लाख १ हजार ३ सय ४ रुपैँयाको कारोबार भएको छ । सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ४ करोडमाथिको शेयर कारोबार भएको छ । २ करोड माथिको शेयर कारोबार गर्ने कम्पनिहरुमा एनएमबी बैँक, नेपाल बंगलादेश बैँक र नविल बैँकको प्रोमोटर शेयर रहेका छन् भने स्टान्डर्ड चार्टर्ड बैँक, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १, नेपाल बैँक र शिखर इन्स्योरेन्सको शेयर कारोबारले १ करोड नाघेको छ ।
नेपाल ग्रामीण विकास बैँकका लगानीकर्ताले विहिबार सबैभन्दा बढी कमाएका छन् । यस कम्पनिका लगानीकर्ताले १० प्रतिशतले सम्पत्ति बढाएका छन् । त्यस्तै, नमस्ते वित्तीय संस्था, फेवा विकास बैँक र महालक्ष्मी फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९५, ९.८९ र ९.१५ प्रतिशतले सम्पत्ति बढाएका छन् । वमी माइक्रोफाइनान्स वित्तीय संस्था, पोखरा फाइनान्स, अपि पावर कम्पनि, युनाइटेड इन्स्योरेन्स, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ता पनि फाइदामा छन् । शिखर इन्स्योरेन्सका लगानीकर्ताले ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाएका छन् । त्यस्तै, तिनाउ डेभलपमेन्ट बैँक, विराटलक्ष्मी विकास बैँक, जेविल्स फाइनान्स लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।
वीमा समूहको बाहेक कारोबार भएका सबै समूहको शेयर सूचक उकालो लागेको छ । ५ करोड ९७ लाखमाथिको शेयर कारोबार गरेको वीमा समूहको शेयर ३.४ अंकले घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह १७.९३ अंकले बढेको छ । विकास बैँक, जलविद्युत्, वाणिज्य बैँक र अन्य समूह क्रमशः ३.६७, ७.०१, १.७२ र ३.५२ अंकले बढेका छन् । होटल समूह भने विहिबार कारोबारविहिन रह्यो ।