February 4th, 2022

‘तरलता अभाव एकैपटक र एकैदिन आएको समस्या होइन’ : पर्शुराम कुँवर

नेपालको बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा बढी समय विताएका अनुभवी पूर्व बैंकर्स हुन् पर्शुराम कुँवर । लामो समय बैंकिङ क्षेत्रमै विताएका कुँबर अहिले रिटायर लाइफ बिताइ रहेका छन् । उनै पूर्व बैंकर्स कुँवरसँग बैंकिङ खबरले नेपालको बैंकिङ क्षेत्रकै विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत त कुँवरसँग गरिएको कुराकानीको सम्पादित अंश ।

हिजोआज के मा व्यस्त हुनुहुन्छ?

पुस्तक र पत्रपत्रिका पढेर दिन बित्छन् । रिटायर्ड लाइफ बिताउँदैछु ।

आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रमा के गरे जस्तो लाग्छ ?

अब कामकै कुरा गर्नु पर्दा, मैले स्ट्याण्डर्ड चार्टर बैंकबाट काम शुरु गरेको हुँ । यसर्थ यो बैंक मेरो लागि बैंकिङ विश्वविद्यालय नै हो । यहाँबाट सिकेका कुराहरु अन्य बैंकमा काम गर्दा पनि सुधार गर्ने प्रयास गरियो ।

स्ट्याण्डर्ड चार्टरबाट छोडेपछि अरु बैंकमा पनि सिकेका कुरा लागू गर्दा त्यहाँको व्यवस्थापनमा राम्रो सुधार भएका थिए । सबैभन्दा सम्झनायोग्य काम भनेको नेपाल बैंकमा हुँदा त्यसको सुधार गर्नमा समय खर्च गरियो ।

कुन-कुन बैंकमा काम गर्नुभयो ?, तपाईंले बैंकिङ क्षेत्रमा कति समय बिताउनुभयो ?

करिब ३५ वर्ष जति काम गरे । शुरुमा स्ट्याण्डर्ड चार्टर बैंकमा काम गरे । यहाँ १७ वर्ष गरेपछि वित्तीय सुधार अन्तर्गत नेपाल बैंकमा साढे ३ वर्ष जति काम गरे । त्यसपछि सिटिजन्स बैंक भर्खरै स्थापना हुँदै थियो ।

त्यहाँ शुरुदेखि नै सबै व्यवस्थापनका काम गरियो । यसमा कर्मचारी भर्ना गर्ने, तालिम दिने लगायत काम गरियो । म जिएम थिएँ, त्यहाँ डेढ वर्ष जति काम गरे । बैंक अफ एशियामा ४ वर्ष सिइओ भएर काम गरे । पछि यो एनआइसि बैंकमा मर्ज पनि भयो ।

कन्सल्टेन्टको काम गर्ने शिलशिलामा ग्राण्ड बैंकबाट खोजी भयो । त्यहाँ पनि काम गरे । पछिल्लो समयमा जनता बैंकमा मर्जर कन्सल्टेन्ट भएर काम गरे । पछि यो पनि ग्लोबल बैंकमा मर्ज भयो । जनता बैंकमा करिव ३७ महिना जति काम गरें । अहिले ग्लोबल बैंकले पनि निकै राम्रो काम गरिरहेको छ । जे होस् जहाँ गइयो, सबै बैंकको व्यवस्थापनमा सुधारका काम गरे जस्तो लाग्छ ।

लामो समय बैंकिङ क्षेत्रमा बिताउनुभयो । पहिले र अहिलेको बैंकिङ प्रणालीमा के फरक पाउनुभयो ?

३७ वर्ष पहिले र अहिले त आकाश जमिनको फरक छ नि । त्यतिबेला ग्राहकहरु बैंकमा आउनुपर्छ भन्ने थियो । ग्राहक भनेका भगवान हुन् भनेर काम गरिन्थ्यो । र अहिले प्रविधिमा धेरै विकास भएका छन् । केही प्राइभेट बैंकहरुले ग्राहक भनेका भगवान हुन् भनेर काम गर्ने अवधारणा ल्याए ।

त्यसयता ती बैंकका अवधारणा अरु बैंकले पनि पछ्याए । प्रविधिले पनि निकै फड्को मारेको छ । राष्ट्र बैंकले पनि सकारात्मक नीति ल्याएको छ । तर यो सबै पूर्णता भने होइन, धेरै कुराहरु गर्न बाँकी नै छन् । समय अनुसार परिवर्तन गर्दै अघि बढ्न सक्नुपर्छ ।

नेपालको बैंकिङ प्रणालीमा के के सुधार गर्नु पर्छ जस्तो लाग्छ ?

टेक्नोलोजीमा सुधार गर्नुपर्छ । पारदर्शितामा सुधार गर्दै जानु पर्छ । हामीले जति सिकेका छौं, त्यो मात्र सबैकुरा होइन । बाहिरका बैंकहरुबाट पनि धेरै कुरा सिक्न जरुरी छ । प्रविधि महंगो छ । यसमा सुधार गर्नुपर्छ । बैंकहरुले प्रविधिमा लगानी पनि गर्न सक्ने र जोखिम पनि मोल्न सक्ने गरि अघि बढ्ने हो भने काम अझ छिटो हुन सक्छ ।

त्यति मात्र नभएर बाहिरका मानिसहरु नेपाल ल्याएर यहाँ चिनाउँदै र सिकाउँदै गर्न सक्नु पर्छ । केही खर्च हुन्छ तर कन्सल्टेन्ट गर्दै जाने हो भने नेपालको बैंकिङ प्रणालीमा सुधार हुन्छ । हुन त सुधार नभएकै भने होइन, यो भन्दा बढी सुधार गर्न सकिन्छ ।

कोरोनाले बैंकिङ क्षेत्रमा असर गरिरहेको छ । अब के गर्दा अघि बढ्न सकिएला जस्तो लाग्छ ?

अब तपाईंले नै भनिहाल्नुभयो, कोरोनाले असर सबै क्षेत्रमा गरेको छ । बैंकलाई मात्र होइन, अझै कति समय यस्तो हुने हो भन्ने थाहा छैन। अब कोरोना सँगसँगै अघि बढ्नु पर्ने चुनौती हामीमा आएको छ। यो एकरातमै सुधार गर्न सकिने अवस्था होइन ।

हाम्रा व्यवसाय र कर्मचारीलाई तलब दिनै नसक्ने अवस्था आउने हो की भन्ने डर पनि थियो । तर हामीले ती संघर्षका दिन झेल्दै यहाँसम्म आइपुगेका छौं । अर्को कुरा हाम्रो देश विकाशोन्मुख देश हो। काम गर्न लगानी गर्नु पर्छ तर पैसा छैन । यस्तो बेलामा बाहिरबाट पैसा ल्याउनुपर्ने अवस्था पनि छ । तर यी काम निकै चुनौतीपूर्ण हुन् ।

कोभिडले यसमा थप समस्या ल्याएको छ । भन्नेहरुले त जे पनि भन्छन् तर भने जस्तो सजिलो छैन । देशमा लगानी बढाउन सरकार, राष्ट्र बैंक, वाणिज्य बैंकहरु लगायतले सक्रियतापूर्ण ढंगले काम गर्नु पर्छ ।

पछिल्ला दिनहरुमा बैंकिङ क्षेत्रमा तरलता अभाव छ, यसलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ नि ?

हामीले विभिन्न कारणले गर्दा पुँजीगत खर्च गर्न सकेका छैनौं । कर चाहिँ उठाउने तर खर्च गर्न भने नसक्ने समस्याले पनि तरलता अभाव ल्याएको छ । खर्च गर्न सक्ने हो भने बाहिरबाट सहयोग आउँछ । यति मात्र होइन, हाम्रो आर्थिक प्रणालीमा संरचनागत समस्या छन् ।

उद्योगहरुले दिनु पर्ने जति उत्पादन दिन सकेका छैनन्। लोडसेडिङले गर्दा उद्योगहरु धराशायी हुने अवस्था अहिले पनि छ । २० वर्षसम्म स्थानीय निकाय कर्मचारीका भरमा चलाउनुपर्यो । रेमिट्यान्स त आएको छ तर यो समस्याको समाधान होइन । भुक्तानी प्रणाली पनि सुधार गर्नु पर्छ । व्यापारघाटाको डरलाग्दो अवस्था कायमै छ । लामो समय द्वन्द्वले पनि देशको अवस्था डामाडोल बनायो ।

यी विविध समस्याको नतिजा अहिले हामी भोगीरहेका छौं । तरलता अभाव एकैपटक र एकैदिन आएको समस्या होइन । आउँदा दिनहरुमा सुधार होला ।देशमा सबैभन्दा राम्रो कुरा भनेको अहिले मिडियाहरु पावरफूल छन् । सरकारले वा अन्य क्षेत्रले केही गलत काम गरे भने मिडियाका कारण उनीहरु सुध्रन्छन् । यो राम्रो कुरा हो । समस्याहरु आउँछन्, समस्या समाधान लिएर पनि आउँछन् । आत्तिनु हुँदैन । आशा गरौं आउँदा दिनहरु पक्कै सहज हुन्छन् ।

अबका दिनमा तपाईंका योजनाहरु के के छन् ?

मैले यति वटा बैंकमा काम गरें, अथवा मैंले यति काम गरे, भन्ने सोच्नु हुँदैन । जीवनको अन्तिम समयसम्म पनि मैले जानेका सिकेका कुरा अन्य बैंकमा काम गर्ने साथीहरुसँग साटेर काम गर्न चाहन्छु ।

पछिसम्म मानवश्रोतको विकासमा यो मान्छेले यति त काम गरेको थियो भन्ने अरुले पनि सोचुन् भन्ने लाग्छ मलाई । मैंले सिकाएको मान्छेले कहिले पनि नविर्सियोस् जस्तो लाग्छ । सिकाउँदा सिकाउँदै मरौं जस्तो पनि लाग्छ ।