January 14th, 2022

एनआइसी एशिया बैंक : सबैभन्दा धेरैलाई रोजगारी दिन सफल !

बैंकिङ खबर/ बैंकिङ क्षेत्रको रोजगारी निकै आकर्षक मानिन्छ। सेवा–सुविधा राम्रै भएका कारण बैंकिङक्षेत्रमा रोजगारीका लागि पछिल्लो केही वर्ष यता निकै आकर्षण बढ्दै गएको छ। नेपालमा उच्च शिक्षा अध्ययन गर्ने धेरै विद्यार्थीहरुले व्यवस्थापन संकाय रोज्ने गर्छन्। उनीहरुको मुख्य लक्ष्य नै बैंकमा रोजगारी गर्ने हुन्छ।

अन्य क्षेत्रको तुलनामा बैंकको जागिर आफैंमा आकर्षकको केन्द्र पनि हो । बैंकमा जति तलब सुविधा छ, त्योसँगै यसलाई एक ‘ग्लामर’को जागिरका रुपमासमेत लिइन्छ। तलबमात्र होइन, आकर्षक बोनस, भत्ता, कर्जा, बीमालगायत अन्य सुविधाले बैंकिङ क्षेत्र आकर्षक र सुरक्षित जागिर बनेको छ।

बैंकमा काम गर्ने सुरक्षा गार्डदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मले यस्तो सुविधा पाउँछन् । त्यसैले त बैंकमा काम गर्नेहरुलाई सम्मानका साथ ‘बैंकर’ भनिन्छ ।

नेपालमा हाल ७५३ स्थानीय तहमध्ये २०७८ मंसिरसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ मंसिर मसान्तमा १२९ रहेको छ। यस मध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७८ मंसिर मसान्तमा ११ हजार १८३ पुगेको छ। बैंकहरुका शाखा विस्तारसँगै रोजगारीको ढोका पनि खुलेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा करिब ७० हजार बढी जनशक्तिले रोजगारी पाएका छन् ।

नेपालमा सबैभन्दा धेरैलाई रोजगारी दिने बैंकहरुमध्ये एनआइसी एशिया बैंक पनि हो । देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्यसहित स्थापना भएको बैंक अहिले २४ औँ वसन्तमा आइपुगेको छ। हालसम्म आइपुग्दा बैंकमा ४ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।

शाखा सञ्जाल विस्तारमा बैंक अब्बल बन्दै गएको छ। एनआइसी एशियाको शाखा संख्या ३५८ पुगेका छन् । जसले गर्दा ग्राहकहरु सहज भएको छ भने शाखा विस्तारका कारण रोजगारीका ढोकाहरु पनि खुलेको छ। निजी क्षेत्रका बैंकमध्ये एनआइसी एशिया बैंकका सबैभन्दा धेरै ग्राहक संख्या देखिएका छन् । यस बैंकका ग्राहक साढे २८ लाख बढी पुगेका छन्।

कर्मचारीको तलब–भत्ता ४० प्रतिशतसम्म वृद्धि

सबै कर्मचारीमा उत्तिकै सेवा सुविधा दिने मामिलामा एनआइसी एशिया बैंक अग्रपंक्तिमा देखिन्छ । बैंकले कर्मचारीको आवश्यकतालाई बुझेर समय समयमा तलब र सुविधाहरु वृद्धि गर्दै आएको छ। पछिल्लो समय पनि बैंकले आफ्ना सबै कर्मचारीका लागि उल्लेख्यरुपमा तलब र सुविधाहरु वृद्धि गरेको छ। बैंकले एनआइसी एशिया कर्मचारी संघका प्रतिनिधि र व्यवस्थापनका प्रतिनिधिकाबीच सामूहिक सौदाबाजी सम्पन्न गर्दै कर्मचारीहरुको तलब/भत्ता ४० प्रतिशतसम्मको वृद्धि गरेको हो ।

बैंकको अहिलेसम्मको सफलतामा सधैं कर्मचारीको मेहनत र लगाव रहेको हुन्छ भन्ने मान्यताका साथ उनीहरुलाई थप हौसला प्रदान गर्न सुविधाहरु वृद्धि गरेको एनआइसी एशिया बैंकले जनाएको छ। बैंकले मासिक तलबमात्र होइन, आफ्ना कर्मचारीको जीवनयापनलाई अझ सहज बनाउन अन्य सुविधाहरु पनि थप्दै लगेको छ। उदाहरणका रुपमा कर्मचारीको बस्ने सुविधा राम्रो होस् भनेर घर कर्जाको सुविधासमेत दिने गरेको छ।

साथै, दैनिक क्रियाकलापलाई अझ सहज र सरल बनाउन घर कर्जासँगै व्यक्तिगत कर्जा र सवारी कर्जामासमेत बैंकले उल्लेख्य सुविधा दिएको छ । बैंकले पछिल्लो समय वृद्धि गरेको तलब, भत्ता र अन्य सेवा सुविधासँगै एनआइसी एशिया बैंक नेपालको बैंकिङ क्षेत्रकै उत्कृष्ट तलब सुविधा दिने बैंकहरुमा पुग्न सफल भएको बैंकले जनाएको छ ।

तलबभत्ता वृद्धिपछि बैंकको खुद मुनाफाबाट छुट्याइएको कर्मचारी बोनस रकम, सहुलियतपूर्ण कर्जालगायतका सेवा सुविधाको अतिरिक्त कर्मचारीको तलबभत्तामा वार्षिक ३ अर्बभन्दा बढी लगानी हुने अनुमान बैंकले गरेको छ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरि गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हाे। बैंकलाई आम जनमानसले गरेको विश्वास, माया र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर पुग्न सफल भएको जनाएको छ।

हाल मुलुकभर बैंकका ३५८ शाखा कार्यालयहरू संचालनमा छन् । एनआईसी एशिया बैंकका हरेक ग्राहकले आफ्नो टोलको नजिकैको शाखा कार्यालयमा गएर सेवा लिन सक्छन् । बैंकले आफ्ना ग्राहकको कारोबारमा अझ सकेसम्म धेरै सुविधा होस् भनेर मुलुकभर ४७३ एटिएम मेसिन संचालनमा ल्याएको छ।

ती एटिएमबाट निःशुल्क कारोबार गर्न सकिन्छ । बैंकले आफ्नो एटिएमबाट मात्र होइन, मुलुकभर रहेका सबै बैंक तथा वित्तीय संस्थाका ४ हजारभन्दा धेरै एटिएमबाट पनि निःशुल्क कारोबार गर्न सकिने सुविधा उपलब्ध गराएको छ । ग्रामीण क्षेत्रका कुनै पनि ग्राहकले बैंकिङ सेवाबाट बन्चित हुन नपरोस् भनेर बैंकले ६८ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।

यी सबै सेवा सुविधा र उपलब्ध पूर्वाधारका आधारमा एनआइसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। यतिमात्र होइन, बैंकले घरमै बसिबसी बैंकिङ सेवा उपलब्ध गराउन भनेर अनलाइन सेवालाई प्राथमिकतमा राखेर काम गरिरहेको छ।

उसले बैंकको वेवसाइटमा आइसर्भ भनेर अनलाइन सेवा उपलब्ध गराइरहेको छ भने मोबाइल एप (एनआइसी एशिया मो बैंक)बाट घरमै बसेर बैंकिङ सेवा लिन सकिन्छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

यसमा मुख्यगरी मोबाइल बैंकिङ सेवा, कस्टुमर, सर्भिस, टेलर सर्भिस र कार्ड सर्भिस छन् । यी सेग्मेन्टभित्र पनि विभिन्न ३५ वटा सेवा उपलब्ध छन्। यहाँबाट मोबाइल बैंकिङ रजिष्ट्रेसनसँगै, व्यालेन्स थाहा पाउन, चेक, स्टेटमेन्टको लागि अनुरोध गर्न, मेरो शेयर र सीआरएन लिन, लकर सेवा लिन, चेक, डिपोजिट र क्यास डिपोजिट अनुरोध गर्न, घरमै बसेर भौचर भर्न सकिन्छ ।

साथै, नयाँ डेभिड कार्ड अनुरोध गर्न, इ–कमर्स रजिष्ट्रेसन गर्न, डेभिड कार्ड ब्लक गर्न, डेभिड कार्ड परिवर्तन गर्न र प्रिपेड डलर कार्डको अनुरोध गर्न अनलाइनबाटै सकिन्छ। एनआईसी एशियाका यी विभिन्न कार्डको प्रयोग गर्दा, मोबाइल बैंकिङ चलाउँदा, आरटीजीएस, आइपीएस, डिम्याट, मेरो शेयरलगायतका कारोबारमा कुनै पनि शुल्क लाग्दैन । हाल बैंकमा २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता र ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरू छन्। बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत् सेवा दिने बैंक बन्न सफल भएको छ। यो उमेर समूह भनेको आर्थिक रूपमा सक्रिय जनसंख्या हो। जसले मुलुकको आर्थिक गतिविधिमा प्रत्यक्षरुपमा योगदान गरिरहेको हुन्छ ।

बैंक वित्तीय समावेशीकरणको विषयमा पनि सदैव सचेत रहेको छ। यसै विषयलाई ध्यानमा राखेर बैंकले मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिती न्यून रहेका दुर्गम जिल्लाहरूमा आफ्नो सेवा उपलब्ध गराइरहेको छ।

बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

सातै प्रदेशमा कर्मचारी माग

एनआइसी एशिया बैंकले हालै सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले सातै प्रदेशबाट ५ पदमा कर्मचारी मागेको हो । बैंकले ब्रान्च म्यानेजर, एक्सपेरियन्स म्यानेजर, अपरेशन, सर्भिस म्यानेजर, एक्सपेरियन्स एङ्कर, रिलेशनसिप म्यानेजर, डिजिटल सेल्स र डिजिटल एडप्सन एण्ड च्यानल माइग्रेसन पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि स्नाकोत्तरसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ। इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १२ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasiabank.com/current-vacancies  मार्फत आवेदन दिन सक्ने जनाइएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]