सोमबार १२.८९ अंक अर्थात १.०१ प्रतिशतले बढ्दै सोमबार शेयर बजार १२९१.८१ अंकको नयाँ विन्दुमा पुगेको छ । सूचकसँगै शेयर कारोबार पनि ह्वात्तै बढेको छ । आइतबार ६३ करोडको कारोबार भएको बजारको कारोबार सोमबार ७१ करोड नाघेको छ । दिनभरिमा १ सय २४ वटा कम्पनिको २६६४ कित्ता शेयर १६ लाख ९३ हजार १ सय ४३ पटक किनबेच हुँदा ७१ करोड ८७ लाख ८ हजार ४२ रुपैँया बराबरको कारोबार भएको हो ।
कुल कारोबार मध्ये सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको मात्रै १० करोड ५३ लाख ४८ हजार १ सय ५६ रुपैँया बराबरको कारोबार गरेको छ । यद्यपि, यस कम्पनिका लगानीकर्ता गुमाउनेमा परेका छन् । यस कम्पनिको शेयर मूल्य २.२७२७ प्रतिशतले घटेर ४ हजार ३ सय रुपैँया पुगेको छ । त्यस्तै, ४ करोडमाथिको शेयर कारोबार भएका कम्पनिहरु नेपाल इन्भेष्टमेन्ट बैँक र सानिमा बैँकका लगानीकर्ता भने फाइदामा छन् । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स र स्टान्डर्ड चार्टर्ड बैँकको ३ करोडमाथिको शेयर कारोबार भएको छ भने दुबै कम्पनिका लगानीकर्ता फाइदामा छन् । नेप्सेको तथ्यांकअनुसार, नेशनल लाइफ इन्स्यारेन्सको शेयर मूल्य १.६९ प्रतिशतले बढेको छ भने स्टान्डर्ड चार्टर्ड बैँकको शेयर मूल्य ६.७४ प्रतिशतले बढेको छ । त्यसैगरी, सोमबार २ करोडमाथिको शेयर कारोबार भएका कम्पनिहरुमा एनएमबी बैँक, नेपाल इन्भेष्टमेन्ट बैँक संस्थापक शेयर, एभरेष्ट बैँक, नेपाल बंगलादेश बैँक र एनआईसी एसिया रहेको छ । सोमबार धेरै नाफामा भएका कम्पनिहरुमा नमस्ते वित्तिय संस्था, पुर्णिमा विकास बैँक, नेरुड लघुवित्त विकास बैँक लगायत छन् जसको शेयर मूल्य क्रमशः १०, ९.५८ र ७.०३ प्रतिशतले बढेका छन् । गुमाउनेमा भने सुभेक्षा विकास बैँक, युनाइटेड इन्स्योरेन्स, मनास्लु विकास बैँक, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायत छन् ।
३३ करोड ९३ लाखभन्दा माथिको शेयर कारोबार भएको वाणिज्य बैँक समूहले सोमबारको बजारलाई उचाई दिएको छ । सो समूहको शेयर २०.७७ अंकले बढेको छ । त्यस्तै, विकास बैँक, वीमा र अन्य समूह पनि क्रमशः ८.७१, ९.३४ र १.१७ अंकले बढेका छन् । कारोबार भएका अन्य समूहहरु होटल, जलविद्युत् र फाइनान्स समूह भने क्रमशः ८.७३, १.७८ र ४.६५ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ ।