नरेन्द्रप्रसाद भट्ट –
कमोडिटी बजारमा सुन सबैभन्दा ठूलो परिमाणमा कारोबार हुने एक उपकरण हो । प्रायः सबै राष्ट्रका केन्द्रीय बैङ्कहरूले सुनमा लगानी गरेका हुन्छन् । गहनाको रूपमा होस् वा लगानीका दृष्टिकोणले, नेपालमा पनि सुन धेरै लोकप्रिय रहँदै आएको छ । त्यसैले, सुनको मूल्य यस धातुका जानकारदेखि सामान्य व्यक्तिसम्मको चासोको विषय रहेको पाइन्छ ।
नेपाली बजारमा सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिनमा एकपटक तोक्ने गर्दछ, जुन प्रायः सबै व्यापारीले कारोबारका लागि अपनाउँछन् । नेपाली कमोडिटी बजारमा चाहिँ अन्तरराष्ट्रिय बजारमा जस्तै दिनको २३ घण्टासम्म सुनको मूल्यमा उतारचढाव आइरहन्छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ होस् वा नेपाली कमोडिटी बजार, दुवैले अन्तरराष्ट्रिय बजारको मूल्यलाई नै मूल्य स्रोत तथा आधार बनाएका हुन्छन् । सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा विश्वभरिको माग र आपूर्तिको आधारमा निर्धारण हुने गर्दछ । विश्वभरिको सुनको माग र आपूर्तिलाई प्रभाव पार्न सक्ने प्रमुख कारकमध्ये ब्याजदर पनि एक हो । ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको केन्द्रीय बैङ्कहरूले निर्धारण गर्ने ब्याजदरले सुनको मूल्यमा बढी असर गर्ने गर्दछ ।
व्याजदरले कसरी प्रभाव पार्छ सुनको मूल्यलाई ?
सुन र ब्याजदरबीच नकारात्मक सम्बन्ध रहेको पाइन्छ । कुनै राष्ट्रको केन्द्रीय बैङ्कले ब्याजदर वृद्धि गर्दा बोण्ड तथा स्थिर आय भएका लगानीका उपकरणहरूमा बढी आम्दानी हुने गर्दछ, जसले गर्दा लगानीकर्ताहरूका लागि ती उपकरण बढी आकर्षक हुने गर्दछन् । त्यसविपरीत ब्याजदर घटाउँदा बोण्ड तथा स्थिर आय भएका लागानीका उपकरणहरूबाट कम आय आर्जन हुने हँुदा लगानीकर्ताको झुकाव सुनतर्फ हुने गर्दछ ।
विश्व अर्थतन्त्रमा सो सम्बन्धलाई दर्शाउने हालैका केही परिदृश्यहरूलाई हेर्न सकिन्छ, जसले सुन र ब्याजदरको सम्बन्ध नकारात्मक रहेको कुरा पुष्टि गर्दछ ।
- फेडरल रिजर्भ
- फेडरल रिजर्भ संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैङ्क हो, जसले विश्व अर्थजगत्मा निकै प्रभाव पार्दछ । २०१६ को पहिलो दशकको अन्ततिर शुरू भएको विश्व आर्थिक मन्दीबाट अर्थतन्त्रलाई उकास्न लगभग ७ वर्षसम्म फेडरल रिजर्भले उदार मौद्रिक नीति अवलम्बन गरेको थियो । २०१५ को अन्त्यतिर अमेरिकाको श्रम बजारको अवस्था तथा अन्य आर्थिक सूचकाङ्क सकारात्मक देखियोे । त्यसपछि १७ डिसेम्बर २०१५ मा फेडरल रिजर्भले ब्याजदरमा वृद्धि गरेको थियो । त्यतिबेला फेडरल रिजर्भले ब्याजदर शून्य दशमलव २५ प्रतिशतबाट बढाएर शून्य दशमलव ५० प्रतिशत र्पुयाएको थियो । ब्याजदर वृद्धि गर्ने उक्त निर्णयसँगै सुनको मूल्यमा ठूलो कमी आएको थियो । त्यसबेला सुनको मूल्य २०१५ फेब्रुअरी महीनापछिकै न्यून बिन्दु अमेरिकी डलर १०४६ दशमलव ३ प्रति ट्रोय आउन्ससम्म मूल्य झरेको थियो ।
- रिजर्भ बैङ्क अफ अष्ट्रेलिया
- यूरोपेली सङ्घबाट बेलायतको बहिर्गमनसँगै देखिएको अस्थिर आर्थिक तथा राजनीतिक अवस्थाका कारण सुनको मूल्य उच्च बिन्दु अमेरिकी डलर १३७५ दशमलव ११ पुगेको थियो । त्यसपश्चात् भने सुनको मूल्य संशोधन हुने क्रममा तल झरेको थियो । अगष्ट महीनाको पूर्वार्ध्तिर रिजर्भ बैङ्क अफ अष्ट्रेलियाले दिगो आर्थिक वृद्धिदर हासिल गर्न र मुद्रास्फीति नियन्त्रण गर्न भन्दै ब्याजदरमा कटौती गरेको थियो । १ दशमलव ७५ बाट घटाएर उसले नयाँ ब्याजदर १ दशमलव ५ कायम गर्दा सुनको मूल्यमा फेरि वृद्धि हुँदै उच्चतम बिन्दु अमेरिकी डलर १३६७ दशमलव २३ प्रति ट्रोय आउन्ससम्म पुगेको थियो ।
- बैङ्क अफ इङ्ल्याण्ड
- बैङ्क अफ इङ्ल्याण्डले पनि बेलायतले यूरोपेली सङ्घ छाडेपछि ब्याजदरमा कटौती गरेको थियो । मौद्रिक नीति निर्माण गर्ने समितिका सबै ९ सदस्यहरूले ब्याजदर कटौती गर्नुपर्ने पक्षमा मत दिएका थिए । बैङ्क अफ इङ्ल्याण्डले शून्य दशमलव ५ बाट ब्याजदर कटौती गरी शून्य दशमलव २५ मा झारेको थियो । यो दर बेलायती इतिहासकै न्यून ब्याजदर थियो । उक्त निर्णयले पनि सुनको मूल्यमा धेरै वृद्धि ल्याएको थियो ।
उल्लिखित घटनाहरूको तुलना गर्दा स्पष्ट रूपमा सुनको मूल्य र ब्याजदरको सम्बन्ध नकारात्मक रहेको कुरा पुष्टि गर्दछ । ब्याजदरमा भएको परिवर्तनले सुनको मूल्यमा कत्तिको असर गर्दछ भन्ने कुरा ब्याजदरमा परिवर्तन गर्ने राष्ट्रको अर्थव्यवस्थाको आकार र ब्याजदरमा गरिएको परिवर्तनको परिमाणमा पनि उत्तिकै भर पर्दछ । सुनका कारोबारीहरूले ठूलो अर्थव्यवस्था भएका राष्ट्रहरूको केन्द्रीय बैङ्कले ब्याजदरमा गर्न सक्ने हेरफेरलाई ध्यान दिनु एकदमै आवश्यक छ, तापनि ब्याजदरमा मात्र सीमित भने रहनु हुँदैन । मौद्रिक नीतिका अन्य औजारहरूले पनि सुनको मूल्यमा ठूलो असर पार्न सक्छ । साथै, सुनको मूल्यको उतारचढावलाई विश्लेषण गर्न अन्य प्राविधिक तथा आधारभूत विश्लेषणको पनि धरै नै महत्त्व रहेको छ ।
सुन सस्तिने सम्भावना
सेप्टेम्बर महिनामा फेडरल रिजर्भले ब्याजदरमा वृद्धि गर्न सक्ने समाचारहरू आइरहेका छन् । यदि आगामी दिनहरूमा अमेरिकी अर्थव्यवस्थाका सूचाङ्कहरूमा सुधार हुँदै गएमा सेप्टेम्बर महिनामा फेडरल रिजर्भले ब्याजदरमा वृद्धि गर्न सक्ने सम्भावना थप बलियो बनाउनेछ । अमेरिकी अर्थतन्त्र विश्वकै प्रभावशाली अर्थतन्त्र भएको हुनाले फेडरल रिजर्भको ब्याजदर वृद्धिले सुनको मूल्यमा ठूलो कमी ल्याउन सक्ने सम्भावना प्रबल रहन्छ । (लेखक मर्कण्टाईल एक्सचेञ्ज नेपाल लिमिटेडका उप–महाप्रबन्धक हुन् ।)