
बैंकिङ खबर/ दृष्टिविहीनहरु पनि डिटिजल बैंकिङमा अग्रसर भएका छन् । उनीहरुले पछिल्लो समय डिजिटल बैंकिङमार्फत कारोबार गर्न थालेका हुन् । नेपालमै पहिलो पटक ‘प्रभु पे’ले ल्याएको अपाङ्गतामैत्री डिजिटल वालेटले अपाङ्गता भएका नागरिकलाई थप सहज बनाएको छ । प्रभु टेक्नोलोजी प्रालिले दृष्टीविहिन, सुन्ने शक्ति नभएका व्यक्तिलाई मध्यनजर गर्दै उक्त वालेट सञ्चालनमा ल्याएको हो ।
शारिरीक अपाङ्गता भएका व्यक्तिलाई डिजिटल बजारसँग जोड्न नेपालमै पहिलो पटक अपाङ्गतामैत्री डिजिटल वालेट सञ्चालनमा ल्याइएको प्रभु टेक्नोलोजीले जनाएको छ । प्रभु पे ले मोवाइल वालेट प्रविधि प्रयोगमा अपाङ्गता भएका वर्गका व्यक्तिलाई सजिलो हुने गरी टकब्याक फिचर सेवा राखेको छ । अपाङ्गता भएका व्यक्तिहरुले आजको प्रविधिको उपयोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रभु पे अपाङ्गमैत्री बनाइएको हो ।
‘अपाङ्गमैत्री वालेटले सहज बनाएको छ’

रुपन्देही सैनामैनाकी पार्वती न्यौपानेले ‘प्रभु पे’को अपाङ्गतामैत्री डिजिटल वालेट प्रयोग गरेको केही दिन मात्र भयो । उनले अहिले यहि वालेटमार्फत आवश्यक काम गर्दै आएकी छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले भनिन्, ‘मैले प्रभु पे को यो वालेटको विशेषताका बारेमा थाहा पाएपछि यो वालेट डाउनलोड गरें । अहिले सहज बनाएको छ ।
अब यहि प्रयोग गर्नेछु । अपाङ्गता भएका व्यक्तिलाई नै लक्षित गरेर ल्याइएको यो पे ले थप सहज बनाएको छ । मैले अन्य दृष्टिविहिनलाई पनि यहि पे चलाउन सल्लाह दिँदै आएको छु ।’ उनले फेरि थपिन्, ‘शुरुवातमै देख्दा खुसी लाग्यो । अपाङ्गता भएका व्यक्तिहरुका लागि शुरुवात गर्नु भनेको यो ठूलो कुरा हो।’
‘फिचरहरु राम्रो र सहज छ’

पाल्पा घर भएका टमबहादुर फाल अपाङ्गमैत्री वालेटको फिचर राम्रो र सहज भएको बताउँछन् । उनी भन्छन्, ‘फिचर अन गर्दा मोवाइलले प्रयोगकर्तालाई मोबाइल स्क्रिनमा भएको ईमेल, टेक्स लगायतका विषय बोलेर सुनाउँदो रहेछ । जसले गर्दा सहज बनाएको छ ।’
हेटौंडाकी बिमला घलानले पनि यहि एप चलाउँदै आएकी छन् । उनी भन्छिन्,‘प्रभु पे को यो एपले सहज भएको छ । यसैबाट पैसा पे गर्न पनि सहज भएको छ। ट्रेनिङहरुमा पनि सहज भएको छ । कतै जानु परेन । एक ठाउँमै बसेर काम गर्न पाइएको छ।’
यी त केही उदाहरणहरु मात्र हुन् । तर पछिल्लो समय ‘प्रभु पे’ को अपाङ्गमैत्री वालेट चलाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यसले आजको प्राविधिक युगमा अपाङ्गता भएका व्यक्तिका लागि थप सहज बनाएको छ ।
कसरी काम गर्छ वालेटले ?

अपाङ्गता भएका व्यक्तिले सजिलै ‘प्रभु पे एप’ मार्फत अनलाइन कारोबार गर्न सक्छन् । जसका लागि प्रभु पेको ‘टकब्याक’ ले सपोर्ट गर्छ ।
टकब्याक फिचर दृष्टिबिहीन अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि एन्ड्रोइडले उपलब्ध गराएको फिचर हो। एन्ड्रोइड मोबाइलमा यो फिचर अन गर्दा मोबाइलले प्रयोगकर्तालाई मोबाइल स्क्रिनमा भएको ईमेल, टेक्स लगायतका विषय बोलेर सुनाउँछ ।
यसै फिचरमा मिल्नेगरी प्रभु पेले आफ्नो एप तयार पारेको हो । त्यसआधारमा आफूले प्रयोग गर्न खोजेको के हो पत्ता लगाएर फोन प्रयोग गर्न सकिन्छ । यसको अर्थ प्रभु पेको यो फिचर एन्ड्रोइड फोन प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउनेछन् । दृष्टिविहीन भएका व्यक्तिले मोबाइलमा टकब्याक फिचर अन गरी ‘प्रभु पे’ मार्फत मोबाइल रिचार्ज गर्ने, बिजुली, खानेपानी, इन्टरनेट, टेलिफोनको बिल तिर्ने, हवाई टिकट काट्ने लगायतका सेवाको अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
‘दृष्टीविहिनबाटै अपाङ्गमैत्री डिजिटल सेवा’

‘प्रभु पे’ले दृष्टीविहिन व्यक्तिहरुबाटै अपाङ्गमैत्री वालेट सेवा दिँदै आएको छ । लामो समयदेखि अपाङ्गमैत्री वालेट सेवा दिँदै आएका विरोध खतिवडा प्रभु पे कै कारण अपांगता भएका व्यक्तिहरुले डिजिटल कारोबारमा अवसर पाएको बताउँछन् ।
‘प्रभु टेक्नोलोजीले दृष्टिविहीनहरूले पनि सहजरूपमा चलाउन सक्ने विद्युतीय भुक्तानी सुविधा दिएको छ । एन्ड्रोइड मोबाइलमा बोल्ने प्रविधि (मोबाइलमा ‘टक ब्याक’ र कम्प्युटरमा ‘एनभिडिए’) सहायताले हामी डिजिटल प्रणालीको सहजै प्रयोग गर्न सक्छौँ । प्रभु पेले अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि डिजिटल कारोबारमा पहिलोपटक यो सुविधा दिएको छ’ उनले भने, ‘स्मार्ट फोन प्रयोगकर्ताका लागि मात्र नभएर प्रभु पे ले बार फोन प्रयोगकर्ताका लागिसमेत यो सुविधा दिएको छ । अपाङ्गता भएका व्यक्तिहरूले प्रभु पे मोबाइल वालेटको केवाइसी भर्दा अपाङ्गता परिचयपत्र पनि राख्नुपर्छ । प्रभु पेले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक कारोबारमा क्यासब्याकमा पनि विशेष सुविधा दिएको छ । सय रूपैयाँको रिचार्ज गर्दा सामान्यतया दुई रूपैयाँ क्यासब्याक आउँछ भने अपाङ्गता भएका व्यक्तिले सोही कारोबारबापत दुई रूपैयाँ पचास पैसा क्यासब्याक पाउँछन् । प्रभु पे मोबाइल वालेट चलाउँदा दृष्टिविहीनहरूले पनि टक ब्याकको सहायताले सजिलै चलाउन सक्छन्।’
‘प्रयोगकर्ता बढ्दै गएका छन्’

विक्की शाही
जनरल म्यानेजर
कम्पनीका जनरल म्यानेजर विक्की शाही पछिल्लो समय अपाङ्गमैत्री वालेटका प्रयोगकर्ता बढ्दै गएको बताउँछन् । उनी भन्छन्, ‘यो एप डाउनलोड गर्नेको संख्या साढे सात लाख पुगेको छ। यसको एक्टिभ प्रयोगकर्ता पनि त्यस्तै छन्।’
यो एपबाट एउटा अपाङ्गता भएका व्यक्तिले बैंकसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको शाही बताउँछन् । उनले भने, ‘यसबाट मोवाइलबाटै कारोबार गर्न सक्यौं। दृष्टिविहिनहरु मोवाइल चलाउन राम्रोसँग सक्नुहुन्छ । जसले गर्दा यो एप चलाउन प्रयोग गर्न पनि उहाँहरुलाई सहज भएको छ ।’
उनले थपे, ‘दैनिक जीवनमा आइपर्ने कामहरू मोवाइल, ल्याण्डलाइनमा रिचार्ज, विजुली, पानी र विभिन्न किसिमका विल भुक्तानीलगायत मानव जीवनका आधारभूत आवश्यकतालाई छिटो छरितो तरिकाले प्रविधिको माध्यमबाट अपाङ्गता भएका व्यक्तिमाझ हामीले यो सुविधा ल्याएका छौं । जुन अहिलेसम्म नेपालमा कसैले ल्याउन सकेको थिएन ।’



