Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निजी क्षेत्रका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः प्रधानमन्त्री

२०७८ श्रावण ५ गते

 


बैंकिङ खबर/ प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो ।

‘हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवद्र्धन गरेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौँ ।”

उहाँले परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन औजार बन्ने विश्वास व्यक्त गर्नुहुँदै नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताउनुभयो । उहाँले नीतिगत सहजीकरणमार्फत लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।

‘आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन हामी प्रयासरत छौँ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ ।’ अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

परिसङ्घका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताउनुभयो ।

यसैगरी परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान सङ्कटसँग जुध्न कोभिडविरुद्धको भ्याक्सिन आवश्यक भएको भन्दै त्यसको उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

भेटमा परिसङ्घका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्याल लगायत सहभागी हुनुहन्थ्यो ।