Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

चारैतिरबाट अक्सिजन र प्लान्टमा लगानी : अक्सिजनको अभाव नहुने !

२०७८ जेष्ठ ५ गते

बैंकिङ खबर । विभिन्न क्षेत्रबाट अक्सिजन सिलीण्डर ल्याउने तथा प्लान्ट गर्ने कार्य तिब्र गतिमा अघि बढेको छ । ब्यबसायी दिपक मल्होत्राले चीनबाट २२५० थान अक्सिजन सिलीण्डर ल्याउँदैछन् । कोरोना महामारीको दोश्रो लहर संगै नेपालमा देखीएको अक्सिजन सिलीण्डरको चरम अभाब अब भने विस्तारै अभावरहीत हुने देखिएको छ । ब्यबसायी मल्होत्राको कम्पनी डिएम फाउन्डेशनले अक्सिजन सिलीण्डर नेपाल ल्याउने भएको हो । त्यसमध्ये ५०० थान सिलीण्डर अक्सिजनको अभाबमा रहेका कोरोना संक्रमितलाई सरकारी अस्पतालमा निशुल्क बितरण गरिने भएको छ । निजी अस्पताललाई भने अक्सिजन सिलीण्डर खरीदको लागत मुल्यमानै दिईने छ ।

अर्थ मन्त्रालयले देशभरका विभिन्नठाउँमा १२ वटा अस्पताललाई अक्सिजन प्लान्ट र अक्सिजन पाइपलाइन स्थापना गर्न  १७ करोड रुपैयाँ बजेट विनीयोजन गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप १६ करोड ८० लाख खर्च गर्न सहमति दिएको हो । स्वास्थ्य मन्त्रालयले प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाउन सक्ने भएको छ । जसअनुसार दमौली अस्पताल तनहुँमा अक्सिजन पाइपलाइन विस्तार गरीने तथा स्याङ्जा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल, अर्घाखाँची अस्पताल, पी चन्द्र अस्पताल (कपिलवस्तु) तौलिहवा अस्पताल, पाल्पा अस्पताल, बर्दिया अस्पताल, प्रादेशिक अस्पताल (दाङ), प्यूठान अस्पताल र तेह्रथुम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रकम स्वीकृति भएको छ ।

नविल बैंक र चौधरी फाउन्डेसनले वीर अस्पतालमा कोभिड रोकथामका लागि लगानी गर्ने भएका छन् । चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। त्यसैगरी नविल बैंकले अक्सिजन प्लान्ट स्थापनाका लागि हस्ताक्षर गरेको छ । फाउन्डेसनकातर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ। वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो। अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर प्रतिघण्टा रहनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ। चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा सन्तोष लागेको बताए। नबिल बैंकका सीइओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने बताए।

बैंकर्स संघले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । बैंकहरुको छाता संगठनको रुपमा रहेको नेपाल बैंकर्स संघले अरु मुलुकबाट सामान ल्याएर अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको हो । भारतबाट भने सामान ल्याइने छैन । भारतबाट ल्याउँदा लामो समय लाग्ने भएका कारण अरु मुलुकबाट सामान ल्याइने भएको हो । २० दिन भित्र सामान आइपुग्ने भएकाले संघले अन्य देशबाट सामान ल्याएर प्लान्ट स्थापना गर्ने छ । राष्ट्र बैंकले यस विषयलाई नीतिगत सहयोग गर्ने भएपछि संघ अघि सरेको हो । सामाजिक उत्तरदायित्व (सीएसआर) को खर्च स्वास्थ्य क्षेत्रमा गर्ने गरी तयारी भइरहेको छ । संघले वीर हस्पिटलमा प्लान्ट लगाउने प्रस्ताव गरेपनि त्यहाँ चौधरी फाउण्डेसनलगायतले लगाउने भएपछि संघले अरु प्रदेशहरुमा लगानी गर्ने भएको छ । संघले सबै बाणिज्य बैंकहरुसँग छलफल गरेर कार्य अघि बढाएको हो । प्रदेश र केन्द्रको कार्यालयमा आएको मागका आधारमा एकीकृत गरेर प्राथमिकताका आधारमा आइसीयु, भेन्टिलेटर तथा अक्सिजन प्लान्टको तयारी भइरहेको बैंकर्स संघले जनाएको छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीको पुरानो गोर्खा अस्पतालमा कोभिड आइसोलेसन उपचार केन्द्र संचालन सुरु गरेको छ । सो केन्द्रको महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले एकसाथ शुभारम्भ गरे। सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर, पूर्व मन्त्री भीमसेनदास प्रधानलगायतको उपस्थिति थियो। महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले आममानिसको स्वास्थ्य सुरक्षानै यतिखेर प्रमुख चासो रहेको बताउँदै महासंघले कोरोना प्रभावित उपचारका लागि एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान चलाएको बताए । अहिले ५० वटा बेडबाट शुरु गरिएको अस्पताल विस्तार गर्दै १ सय बेडसम्म पुर्‍याउने लक्ष राखिएको छ ।

यस्तै बाँकेको भेरी अस्पतालमा भारतको जमसेदपुरबाट एक ट्यांकर लिक्विड अक्सिजन आएको छ । यहाँ अब अक्सिजन अभाव नरहने अस्पतालका अध्यक्ष प्रमोद धितालले बताएका छन्। भारतबाट ल्याइएको लिक्विड अक्सिजन २० हजार लिटर छ । प्लान्टमा पाइपलाइन जडान गरी सेन्ट्रल पाइपलाइनबाट अस्पतालको बेड–बेडमा अक्सिजन सप्लाई गर्न सकिने छ । त्यसका लागि ३/४ दिन समय लाग्ने छ ।