युवराज थापा
सिइओ
नेपाल फिनसफ्ट कम्पनी लिमिटेड
(Nepal Finsoft Company Ltd.)
नेपाल फिनसफ्ट कम्पनी लिमिटेडले विगत लामो समयदेखि लघुवित्तहरूलाई आवश्यक टेक्नोलोजीहरू उपलब्ध गराउँदै आएको छ । लुघवित्तमा देखिएको कोर बैंकिङ समस्यालाई समाधान गर्ने उद्देश्यले यस कम्पनीको स्थापना भएको हो । कम्पनीको सिइओमा विगत चार वर्षदेखि युवराज थापा कार्यरत हुनुहुन्छ । आइटी फिल्डमा डिफ्रेन्ट सेग्मेन्टहरूमा २५ वर्ष बिताउनुभएका सिइओ थापाले कम्पनीमार्फत लघुवित्तहरूलाई विभिन्न टेक्नोलोजीहरू उपलब्ध गराउँदै आउनुभएको छ । सिइओ थापासँग बैंकिङ खबरले लघुवित्तमा डिजिटलाइजेसनको अवस्थाबारे कुराकानी गरेको छ ।
तपाईंको नेतृत्वमा रहेको नेपाल फिनसफ्ट कम्पनीबारे बताइदिनुस् न ?
नेपाल फिनसफ्ट लघुवित्तहरूले टेक्नोलोजीको सेक्टरमा भोग्नुपरेको समस्याको सहज समाधानका लागि खोलिएको कम्पनी हो । कम्पनी स्थापनाको मूल उद्देश्य लघुवित्त संस्थामा कोर बैंकिङको समस्या समाधान गर्नु हो ।
यो कम्पनीले हालसम्म आफ्नो सफ्टवेयर बनाउन पाएको छैन । अहिले विदेशी सफ्टवेयरको वितरक भएर काम गरिरहेका छौँ । त्यो सफ्टवेयरको मार्केटिङ, प्रमोसन र सर्पोट पनि गरिरहेका छौँ । अहिले लघुवित्तहरूमा लाइभ भएको छ । त्यहाँ केही समस्या आयो भने हामी यहीँबाट सल्भ गर्छौं । हाम्रो यहीँ कल सेन्टर छ ।
सफ्टवेयरसँगसँगै हामीले लघुवित्तलाई आवश्यक पर्ने ट्यावलेटलगायत विभिन्न टेक्नोलोजीका सामानहरू समेत उपलब्ध गराउँछौँ । हामीले आधिकारिक वितरकका रुपमा सस्तो मूल्यमा आफ्ना ग्राहकहरूलाई टेक्नोलोजीका सामानहरू दिँदै आएका छौँ ।
नेपाली लघुवित्तमा डिजिटलाइजेसनको अवस्था के छ ?
नेपालमा कमर्सियल बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरू गरी चारवटा सेग्मेन्ट छन् । टेक्नोजोलीको दृष्टिले हेर्दा सबैभन्दा अप्ठ्यारो स्थितिमा लघुवित्तहरू छन् । लघुवित्तहरूमा कोर बैंकिङबाहेक अरु पनि डिजिटलाइजेसनका कामहरू हुन्छन् भन्ने धारणामा हामी थिएनौँ । कम्प्युटराइज अथवा डिजिटलाइजेसन भनेको कोर बैंकिङ सिस्टम भन्ने हामीले सोचिरहेका थियौँ । तर अहिले सन्दर्भ, परिस्थिति परिवर्तन भएको छ । अहिले सबैले बुझ्न थालेका छन् ।
सहर–बजारमा अहिले जेलाई डिजिटलाइजेसन भनिँदै छ, त्यसमा वालेट, मोबाइल एप्लिकेसन छन् । तर, यो ग्रामीण भेगमा काम लाग्दैन, किनभने गाउँका ग्राहक भनेका २ हजार, ५ हजार लोन लिन आउने ग्राहक हुन् । उनीहरूले स्मार्ट फोन चलाएर पेमेन्ट गर्न सक्छन् भन्ने सोच नराखे पनि हुन्छ । यस्तो अवस्था कसरी समाधान गर्ने, उनीहरूलाई कसरी समेट्ने विषयमा वालेट कम्पनीसँगै सहकार्य गरेर हामी आफैँ गाउँमा गइरहेका छौँ । हाम्रा ग्राहकलाई जति पनि डिजिटल पेमेन्ट सिस्टम चाहिन्छ, त्यो हामिले पूरा गरिरहेका छौं ।
यसरी हामी गाउँगाउँमा जान खोजिरहेका छौँ ।
ग्रामीण क्षेत्रलाई डिजिटलाइजेसनसँग कसरी जोड्न सकिएला ?
डिजिटलाइजेसन एउटा मात्र कुराले हुने होइन । यसको एउटा सिस्टम हुन्छ । यसमा नेवटर्क चाहियो, मोबाइल, कम्प्युटरजस्ता डिभाइस चाहियो, इन्टरनेट चाहियो, त्यसपछि एउटा सर्भिस चाहियो । यसरी सबै चिज एउटै कम्पनीले पु¥याउन गाह्रो छ ।
नेपालका गाउँगाउँमा थ्रिजी सेवासमेत नपुगेको अवस्था छ । त्यसैले सहर–बजारमा जुन डिजिटलाइजेसन भनेर सोच्छौँ, त्यो गाउँमा सम्भवै छैन । यद्यपि, सम्भव छैन भनेर पछाडि हट्ने भने होइन । समाधानको अर्को बाटो पनि छ । त्यसका लागि नेपाल फिनसफ्ट कम्पनीले आफैँ रिसर्च गरेर प्रोडक्ट बनाउँदै छौँ । प्रडक्टहरू बनि पनि सकेका छन् । यो प्रविधिमार्फत मोबाइल, वाइफाई, इन्टरनेटलगायतको अभावमा पनि अनलाइन ट्रान्जेक्सनहरू गर्न सकिन्छ ।
लघुवित्तका ब्रान्चहरू गाउँगाउँमा हुन्छन् । दुई दिन हिँडेर पनि हामीले सेवा पु¥याइरहेका हुन्छौँ । त्यो ठाउँमा मोबाइलको नेटवर्क पनि हुँदैन । त्यहाँका कस्टुमरलाई हामीले डिजिटलाइजेसनमा कसरी ल्याउने त ? यो एकदमै च्यालेन्जिङ काम हो । हाम्रो ब्रान्चसम्म नेटवर्क छ, तर त्यहाँ छैन । त्यहाँसम्म हामीले रेडियो फ्रिक्वोन्सीमार्फत काम गर्न सक्छौँ । नेपाल फिनसफ्ट कम्पनीले आफैँ एउटा डिजाइन गरेर डिभाइस बनाएको छ । यो मोबाइल वा ट्याब पनि होइन, हामीले कलेक्सन डिभाइस भनेका छौैँ । यसमार्फत जहाँ नेवटर्क नै छैन, मोबाइल नै छैन, त्यस्तो ठाउँमा पनि आइटीको लागि प्रयोग गरेर काम गर्न सकिन्छ ।
यो प्रविधि प्रारम्भिक चरणमा छ । हामी यसलाई मार्केटिङमा ल्याउने तयारीमा छौँ । त्यसले गाउँगाउँमा जहाँ टेलिफोन नै छैन, त्यहाँ पनि हामी डिजिटलाइजेसनलाई अगाडि लैजान सक्छौँ । यसलाई हामीले विल्कुलै नयाँ अवधारणका रुपमा ल्याएका छौँ । खालि विज्ञापनका लागि नभएर हामी रियलिटीमा जाँदै छौँ । लघुवित्तका जुन सेग्मेन्टहरू छन्, उनीहरूलाई हामीले कसरी डिजिटलाइजेसनमा ल्याउने भन्ने अवधारणामा हामीले यो समाधान ल्याएका छौँ ।
महामारी चलिरहँदा हामी माक्स लगाउँछौँ, नाक छोप्छौँ, मुख छोप्छौँ । तर, कुनै पनि डिजिटलाइजेसनको काम गर्दा, कुनै ठाउँमा गएर टेलिफोन रिचार्ज नै गर्नुप र्य यो भने पनि त्यहाँ गएर रिचार्ज कार्ड किन्नुपर्यो, त्यसक्रममा हाम्रो हात जोखिमयुक्त वस्तुमा टच हुन्छ । टच भएपछि त्यो हात मुखमा जाला । त्यसैबाट हामीलाई संक्रमणको सम्भावना रहन्छ ।
कोरोनाले हामीलाई के अवधारणा दियो भने कुनै पनि कुरा टचलेस हुनुपर्यो अथवा सिंगल टच हुनुपर्यो । लुघवित्तका कस्टुमरहरूको कुरा गर्दा सय रुपैयाँको रिचार्ज गरिदिनु पर्यो भने हाम्रो फिल्ड स्टाफले आफैँ सबै काम गरिदिन्छन् । हामीले यस्तो टचलेस अवधारणा ल्याएका छौँ । त्योबाहेक अफिसहरूमा पनि हाजिरी डिभाइसको प्रयोगमा स्टाफहरूलाई कसरी सुरक्षित राख्ने भन्ने अवधारणा हामीले ल्याएका छौँ । एटेन्डेन्स डिभाइसमा औँला राख्नुपर्छ जसले अप्ठ्यारो स्थिति आएको छ । हामीले लुघवित्तहरूका लागि नयाँ डिभाइस ल्याउँदै छौँ, जसमा टचलेस फेस रिडिङबाट डिभाइसले आफैँ एटेन्डेन्स गर्न सक्छ । त्यस्तै, हामीले गाउँघरमा प्रयोग हुने वालेट ल्याएका छौँ । स्मार्ट फोन छैन भने पनि हामी टचलेस तरिकाले काम गर्न सक्छौँ । यहि सबै डिभाइसहरु मेड इन नेपाल हुन् ।

नेपालको बैंकिङ सेवा कत्तिको डिजिटलाइज्ड भएको पाउनुभएको छ ?
आजभन्दा २० वर्षअघि र अहिलेको तुलना गर्ने हो भने धेरै परिवर्तन भएको छ । तर, जुन लेभलमा हामी जानुपर्ने थियो, त्यो भइरहेको छैन । किनकि, हामी सबैजना परम्परागत बैंकिङमै फसेका छौँ । लोन लिने, डिपोजिट राख्ने, यही चिजलाई नै हामीले डिजिटलाइजेसन भनिराखेका छौँ । अनलाइन पेमेन्टहरू आएका छन् । तर, देशको कति प्रतिशत जनताले वालेट चलाएर अनलाइन पेपेन्ट गरिरहेका छन् त ? त्यो ठूलो कुरा हो ।
यी सुविधाहरू सहर–बजारमा प्रायः सबैको पहुँचमा छ, प्रायः सबैसँग स्मार्ट फोन छ । तर, उनीहरूले यसलाई कति प्रयोग गर्छन् त ? हामीले यसको सम्पूर्ण इकोसिस्टम हेर्नुपर्छ । वालेट कहाँ–कहाँ प्रयोग गर्ने भन्दा हामीले अनलाइन सपिङ गर्न प्रयोग गर्न सक्छौँ अथवा वालेट सेवाले उपलब्ध गराएका सुविधाहरू प्रयोग गर्न सक्छौँ । तर, म आफ्नो घरको अगाडि किनारा पसलमा सामान किन्न जानुपर्यो भने त्यसको प्रयोग गर्न सक्दिनँ । पछिल्लो समय क्युआर कोडले गर्दा यसको चर्चा भइरहेको छ । हामीले सबै सेग्मेन्टको पहुँचमा हुने गरी डिजिटलाइजेसनमा जानुपर्छ, उच्च वर्गलाई मात्र हेरेर होइन । अन्यथा डिजिटलाइजेसन अभियान सार्थक बन्न सक्दैन । मासमा जाने हो भने हामीले ओम्नी च्यानल पनि बनाएर जानुपर्छ । हामीले मोबाइलबाट पेमेन्ट गरेर मात्र डिजिटलाइजेसन हुँदैन, अरु गेज वे पनि हुनुप¥यो जहाँबाट उसले पेमेन्ट गर्न सकोस् ।
मसँग स्मार्ट फोन छैन, नोकियाको सानो मोबाइल छ । त्यसबाट म कसरी पेमेन्ट ट्रान्सफर गर्ने त ? त्यसको समाधान नेपालमा छैन । त्यसमा पनि हामीले एसएमएस अथवा युएसएसडीबाट काम गर्न सक्छौँ । डिजिटलाइजेसनका लागि फरक च्यालनबाट पनि काम गर्र्ने विभिन्न बाटो बनाउन सक्नुपर्छ, जसलाई हामी ओम्नी च्यानल भन्छौँ । अनि मात्र हामी सबैलाई समेट्न सक्छौँ ।
नेपालमा डिजिटलाइजेसनमा विदेशी कम्पनी हाबी भएका हुन् ? हुन् भने नेपाली कम्पनीहरू किन पछाडि परिरहेका छन् ?
अहिलेसम्मको मेरो अनुभवमा नेपाली सफ्टवेयर अथवा टेक्निकल कम्पनीहरू एउटै स्टाण्डर लेवलमा छन् । उनीहरूले राम्रो सफ्टवेयर प्रडक्टहरू बनाएका छन् । तर पनि विदेशी कम्पनीहरू हाबी भएका छन् । यसो हुनुको कारण हामीले बाहिर निर्यात गर्न सकिरहेका छैनौँ । हामीले सफ्टवेयर हबका रुपमा विकास गर्न सकिरहेका छैनौँ, किनकि हामी बढी बोल्छाँै तर काम कम गर्छौं । हामी जे बनाउँछौँ त्यसैमा सन्तुष्ट हुन्छौँ । आज दुनियाँ कहाँबाट कहाँ पुगिसकेको छ तर हामी त्यो चिजको पछि जान खोज्दैनौँ । हामी कम्फर्ट जोनमा बस्न चाहन्छौँ । नेपालमै पनि यसका धेरै उदाहरण छन् । पहिले हरेक बैंकमा नेपाली सफ्टवेयर चल्थे, अहिले विदेशीले मार्केट लिएको छ । धेरै बैंकहरू अहिले नेपाली सफ्टवेयर नै चलाउँदैनन् । यसो हुनुको कारण हामीले आफूलाई कहिल्यै अपडेट गरेनौँ । हामी सधैँ कम्फर्ट जोनमा बस्यौँ, एउटा चिज बनाएर त्यसैलाई बेचेर बस्यौँ ।
सफ्टवेयर इन्ड्रिष्ट्रिमा नयाँ–नयाँ इन्भेन्टेशन भइरहेका हुन्छन् । त्यसमा हामीले निरन्तर अपडेट गर्दै जानुपर्छ । टेक्नोलोजी भनेको हरेक पाँच वर्षमा अपडेट हुनुपर्छ । नेपालीको कमजोरी के भयो भने रिसर्चमा कसैले पनि ध्यान दिएको छैन, नयाँ टेक्नोलोजी इन्ट्रड्युस गरौँ, अपडेट गरौँ भन्ने भएन । हामी आफूले जे जानेको छ, त्यही मात्र गरिरहेका छौँ । अर्काे महत्त्वपूर्ण कुरा मेरो अनुभवले के भन्छ भने एक–दुईजना मान्छेले मिहिनेत गरेर सफ्टवेयर बन्दैन । त्यसमा हरेक सेक्टरका विज्ञहरू चाहिन्छ । सबै जना मिलेर बनाउनुपर्छ, तर नेपालमा त्यो देखिँदैन । कम्पनीले एक–दुईजना लाई हायर गरेर ल तिमी यो बनाऊ भनेर दिने चलन छ । त्यस्तो व्यक्तिले कम्प्युटरमा काम गर्न त जानेको हुन्छ तर बिजिनेस जानेको हुँदैन ।
आज पनि नेपाली बैंकिङ सिस्टममा सहिकोर बैंकिङ सिस्टम नै भएको छैन । कारण, एउटा प्रोग्रामरमा बैंकरको जति नलेज हुँदैन, यसको अर्थ यहाँ कम्युनिकेसन ग्याप भयो । यहाँ पूरै विज्ञहरू बसेर बनाउने काम हुँदैन । हाम्रो बढी ध्यान Frontend मा छ, डाटाबेस डिजाइन(Backend) मा कम छ । यसले गर्दा साना संस्थाहरूमासबै सफ्टवेयर चल्छन् तर जब ट्रान्जेक्सन बढ्छ, त्यो सिस्टम कोल्याप्स हुन्छ । यो फ्रन्टेण्डको गल्ती होइन, (Backend) ब्याकेनको गल्ती हो । त्यसैले नेपालका सफ्टवेयर कम्पनीहरूले फ्रन्टेन्डमा मात्र होइन, ब्याकेनमा ध्यान दिनु जरुरी छ । प्रोग्राम, विजनेश एनलाइसिस, डीबीए, विषय विज्ञको संयोजकबाट सफ्टवयर बन्नुपर्छ । त्यसपछि मात्र हामीले इन्टरनेसनल कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौँ ।



