
बैंकिङ खबर । प्रत्येक स्थानीय निकायमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारी नीति लगभग कार्यान्वयनमा आइसकेको छ । गाउँमा ठूला बैंकको प्रवेशले गाउँकेन्द्रित व्यवसाय गर्ने लघुवित्तहरुको व्यवसायमा संकुचन आउने प्रतिस्पर्धाको सामान्य सिद्धान्तमा आधारित अनुमान गलत सावित भएको लघुवित्त क्षेत्रका विज्ञहरुले बताएका छन् । स्थानीय निकायमा ठूला बैंकको उपस्थितिले लघुवित्तको व्यवसायलाई थप सहयोग पुगेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरु (सिइओ) को अनुभव छ । यस सम्बन्धमा नेपाली लघुवित्त क्षेत्रमा लामो अनुभव र दक्षता आर्जन गरेका दुई सिइओको भनाइ प्रस्तुत छ :
‘बैंक र लघुवित्तको ‘टेकनिक’ नै फरक छ, गाउँमा बैंक पुग्दा झन् सजिलो भएको छ’
रामहरि दाहाल
सिइओ, मेरोमाइक्रोफाइनान्स
तथा
उपाध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ
वाणिज्य बैंक पुग्नुअघिको अवस्थासित तुलना गर्दा समग्रमा हामीलाई असजिलो होइन, सजिलो भएको छ, किनभने वाणिज्य बैंक र लघुवित्तको क्षेत्र तथा ग्राहक नै फरक–फरक छन् । स्थानीयस्तर वा ग्रामीण दूरदराजबाट संकलन भएको कुल बचत रकम सुरक्षित हिसाबले जम्मा गर्न र तिनै सेवाग्राही सदस्यहरूबाट माग भएको कर्जा लगानी गर्नका लागि रकम झिक्न टाढाको बैंक धाइराख्नुपर्ने अवस्था हाल छैन । हिजो त्यो कतिपय स्थानमा बाध्यता थियो ।
अर्कोतर्फ कर्जा उपभोग गर्ने दूरदराजका विपन्न वर्गका ग्राहकहरू वाणिज्य बैंकको प्राथमिकतामा नपर्ने भएकाले उनीहरू लघुवित्तकै सेवा लिन रुचाउने हुन्छन् । अर्को कुरा वाणिज्य बैंकका कर्मचारीलाई लघुवित्त सेवा दिन सजिलो पनि छैन, किनकि लघुवित्तको टेक्निक नै अर्कै किसिमको हुन्छ । बैंकिङ सिस्टममा जनता बैंकमा जान्छन् भने लघुवित्तमा बैंक जनतामा जानुपर्दछ भन्ने मान्यता छ । सेवा दिने संयन्त्र फरकखालकै हुन्छ र लघुवित्त सेवा दिन तुलनात्मक हिसाबले खर्चिलो पनि हुन जान्छ ।
‘बैंक र लघुवित्त प्रतिस्पर्धी होइनन्, पूरकका रूपमा अघि बढिरहेका छन्’
रामबहादुर यादव
सिइओ, नेसनल माइक्रोफाइनान्स
पहिले वाणिज्य बैंकहरू गाउँमा पुगेको अवस्था थिएन, ग्रामीण क्षेत्रमा लघुवित्तहरू मात्र थिए । तर, अहिले नेपाल सरकारको नीतिका कारण प्रत्येक गाउँपालिकामा वाणिज्य बैंक बाध्यात्मक रूपमा पुगेका छन् । मैले सुरुदेखि नै भन्दै आएको छु कि वाणिज्य बैंक गाउँमा पुग्दा हामीलाई सहयोग पुग्छ । वाणिज्य बैंक गाउँमा पुगेपछि हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ भन्ने कतिपय साथीहरूलाई मैले यो कुरा सुरुदेखि नै भन्दै आएको हुँ । कतिपय ठाउँमा वाणिज्य बैंक नभएका कारण हामी पनि जान नसकिरहेको अवस्था थियो किनभने हामीसित सेक्युरिटी गार्ड हुँदैनन्, पैसा राख्ने भोल्ट हुँदैन । हामीले दिनभरि पैसा संकलन गरेर त्यसको सुरक्षाका लागि वाणिज्य बैंक खोज्ने हो । त्यसकारण वाणिज्य बैंक प्रत्येक गाउँमा पुग्दा लघुवित्तको कारोबार झन् सहज हुन्छ ।
दोस्रो कुरा वाणिज्य बैंक र लघुवित्तको बिजनेस नै फरक छ भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ । लघुवित्तका ग्राहक छन्, लक्षित समूह फरक छ । वाणिज्य बैंकका ग्राहक नै फरक छन् । वाणिज्य बैंकले विनाधितो लगानीमा त्यति इच्छा देखाउनुहुन्न, जुन हाम्रो मूल प्रवृत्ति नै हो । त्यसैले लघुवित्तको वाणिज्य बैंकसित प्रतिस्पर्धा नै छैन । यी दुई प्रतिस्पर्धी नभएर पूरक संस्थाका रूपमा काम गरिरहेका छन् । वणिज्य बैंकको उपस्थितिका कारण लघुवित्तको व्यवसाय थप सहज र वृद्धि पनि भएको अवस्था छ । कुनै पनि स्थानमा गएर हेर्नुभयो भने वाणिज्य बैंक भएको ठाउँमा लघुवित्तको व्यवसाय राम्रो फस्टाएको पाउनुहुन्छ । उहाँहरू र हाम्रो कस्टुमर बेस नै फरक छ, क्लाइन्ट नै फरक छन् र कार्यशैली नै फरक छ ।
अर्को पक्ष पहिले लघुवित्त र बैंकको ब्याजदरमा ठूलो अन्तर छ भन्ने थियो, तर अहिले लघुवित्तको ऋणमा पनि ब्याजदर १५ प्रतिशतमा आइसकेको छ । अहिले पनि कतिपय वाणिज्य र विकास बैंकबाट ऋण लिँदा ११–१२ प्रतिशत त बुझाइरहेकै अवस्था छ । त्यहाँ (बैंकहरूमा) अनेकखाले झन्झटिला प्रक्रिया छन् भने यहाँ सहज छ । मूल कुरा भनेको हामीबीच लक्षित समूह र कार्यशैली नै फरक भएपछि प्रतिस्पर्धाको अवसर र अवश्यकता दुवै हुँदैन । कतिपय अवस्थामा कस्तो पनि पाइएको छ भने लघुवित्तका लागि योग्य ग्राहक यति वाणिज्य बैंकमा पुग्यो भने उनीहरूले हामीकहाँ पठाइदिएका छन् । त्यस्तै, हामीले पनि हाम्रो मापदण्डसित मेल नखाने आवश्यकता लिएर आएको ग्राहकलाई वाणिज्य बैंकमा पठाइरहेका छौँ । हाम्रै ग्राहकले पनि १५ लाखले पुगेन, २० लाख चाहियो भन्नुभयो भने राम्रो छवि भएको ग्राहकका रूपमा वाणिज्य बैंकका लागि मौखिक सिफारिस नै गरिँदै आएको अवस्था पनि छ ।



