२०७३ श्रावण ५ गते

मुद्रा व्यवस्थापनका ७ समस्याहरु हेर्नुस् रिपोर्टमा

डा. वामदेव सिग्देल
money 1देशको अर्थतन्त्रको आकार वृद्धि हुँदै जाने क्रम जारी छ । अझै धेरैजसो नेपाली जनसंख्या विषेश गरी ग्रामीण क्षेत्रका वित्त पहुँचबाट टाढिएको स्थिती छ । धेरै जनसंख्याले कारोबारको लागि कागजी नोटको प्रयोग गर्ने गरेको पाइएको छ । राम्रा टिकाउ कागजी नोटहरु प्रचलनमा ल्याउँदा समेत सहि ढंगले उपयोग गर्न नजान्दा चाँडै मैलो हुने र झुत्रो भई चाँडै जलान गर्नुपर्ने स्थिति छ । सफा नोट सम्बन्धि विभिन्न खाले जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै जान सके एकातिर सफा नोट नीति कार्यान्वयनमा सघाउ पुग्छ भने अर्कोतिर नोट छपाईमा लाग्ने लागत न्यूनीकरण गर्नमा मद्दत मिल्ने अपेक्षा गर्न सकिन्छ । 

अपर्याप्त र जीर्ण ढुकुटी 
नेपाल राष्ट्र बैंकमा रहेका मुद्रा तथा सुन चाँदीका ढुकुटीहरु अपर्याप्त, जीर्ण र पुरानै शैलीका छन् । आगामी बर्षहरुमा बढ्दै जाने मुद्राको भार, माग र चलनचल्तीलाई आधार मानी अत्याधुनिक ढुकुटीहरुको निर्माण र व्यवस्थापनको लागि थप कार्यहरु गर्नुपर्ने देखिन्छ । त्यस्तै गरी उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका ढुकुटीहरुको भौतिक अवस्था पनि त्यति राम्रो स्थितिमा छैन । यिनीहरुको पनि क्षमता वृद्धि र आधुनिकीकरणको लागि पनि कार्य गरिहाल्नुपर्ने स्थिति छ । निकट भविष्यमा देश संघीयतामा जाने निश्चित भएबाट तदनुरुप ढुकुटी व्यवस्थापनको लागि गृहकार्य, कार्ययोजना सिघ्र तयार गर्दै जानुपर्ने देखिन्छ । त्यस्तै गरी अन्य नोटकोष रहेका ढुकुटीहरु समयसापेक्ष रुपबाट हेर्दा अपर्याप्त रहेका छन् । यी ढुकुटीहरुको क्षमता वृद्धि तथा समयसापेक्ष आधुनिकीकरण गर्दै जानुपर्ने देखिन्छ । 

तनेडा चलानको लागत अधिक
हवाईजहाज र हेलीकोप्टरबाट  अधिराज्यका अधिकांश दुर्गम भेगहरुमा तोडा चलान गरिँदै आइएको छ । अध्ययनले दिने पुष्ठपोषणको आधारमा क्रमिक रुपले सुरक्षा प्रबन्ध मिलाई गाडिबाटै तोडा चलान त्यस्ता स्थानहरुमा गर्दै जाँदा लागत प्रभावी हुन गई तोडा चलानको लागत न्यून हुन जाने अनुमान गर्न सकिन्छ । कतिपय केन्द्रिय बैंकहरुले तोडा चलान कार्य निजी कम्पनीहरुमार्फत पनि गर्दै आएको पाइएको छ । सोतर्फ पनि उन्मुख हुन अब नेपाल राष्ट्र बैंकले गृहकार्य गर्दै जानुपर्छ । त्यस्तै नोटकोषको विद्यमान क्षमता र भौतिक अध्ययन अवलोकन समय समयमा पुनरावलोकन गर्दै जानु उचित हुन्छ । 

जनस्तरमा अध्ययन भएन
ल्याटिन अमेरिकी केन्द्रिय बैंकहरु तथा केहि एसियाली केन्द्रिय बैंकहरुले मुद्रा माग, गुण परिवर्तन आदि सम्बन्धमा समयसमयमा जनस्तरमा अध्ययन गर्ने र त्यसले दिने पृष्ठपोषणको आधारमा मुद्रा छपाई तथा मुद्राको गुणस्तर वृद्धि गर्दै गएको पाइएको छ । यस्ता खाले अध्ययनहरु कार्ययोजनामा राखी प्राथमिकताका साथ मुद्रा व्यवस्थापन विभाग, सम्बन्धित अन्य विभाग र कार्यालयको सहकार्यमा जुट्न सके मुद्रा माग सम्बन्धि यर्थाथपरक तथ्य र तथ्यांक प्राप्त हुन्छ । यसबाट सहि तवरले छपाई हुने मुद्राको आँकलन गर्न मद्धत पुग्छ ।

गत वर्षको महाभुकम्पबाट प्रभावित जिल्लावासीहरुका लागि नेपाल सरकारले विभिन्न खाले राहत कार्यक्रम ल्याएकाले मुद्रा मागमा थप चाप पर्न जाने देखिन्छ । यसले मौज्दात मुद्राको स्टकमा समेत असर पर्न सक्छ । नेपाल सरकारले लिने यस्ता नीतिहरुले मुद्रा व्यवस्थापनमा असर गर्ने हुँदा रेगुलर तथा फास्ट ट्रयाक प्रकृयाद्धारा विद्यमान नीतिकै आधारमा थप नोट छपाई कार्य गर्दै जानु उचित हुन्छ । नेपाल सरकारबाट निकट भविष्यमा तय हुने विभिन्न नीति तथा कार्ययोजना सम्बन्धि जानकारी समयमै नेपाल राष्ट्र बैंकले पाउनुपर्छ ।  
 

आधुनिकीकरणको अभ्यास भएन
विशेष गरी नोट सर्टिङ्ग, जलान कार्यलाई स्वनियन्त्रित र आधुनिकीकरण गर्नु वास्तवमा खर्चिलो कार्य हो । यस कार्यको पूर्वसर्त भनेको आधुनिक भवन÷कोठाहरु, आधुनिक औजारको उपयोग गर्न जान्ने जनशक्ति र अभिमुखिकरण प्रकृया तथा निरन्तर प्राप्त हुने प्राविधिक सेवा आदि नै हो । धेरैजसो दक्षिण एसियाली केन्द्रिय बैंकहरुले सीभीपीएस र एसबीएस पद्धति केहि बर्ष अघिदेखि नै नोट सर्टिङ्ग, नोट कर्टिङ्ग र ब्रिकेट कार्यलाई यान्त्रिकीकरण गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले आफ्नो भवनको निर्माणसँगै यसतर्फ उन्मुख हुनु सकारात्मक कुरा हो । यस्तो पद्धतिको थालनी पहिले नेपाल राष्ट्र बैंक परिसरमा र पछि अन्य बैंकहरुमा पनि गर्न लगाउने तर्फ उन्मुख हुनुपर्ने देखिन्छ । 

कर्मचारीलाई तालिम आवश्यक
नोटको गुणस्तर वृद्धि, सिक्का डिजाइन तथा टक्सारको यान्त्रिकीकरणपूर्व यसमा संलग्न कर्मचारीहरुलाई तालिम तथा यस सम्बन्धि कार्यमा सरिक गराउँदै लैजानु पर्दछ । केहि बर्ष भित्रै नेपाल राष्ट्र बैंकमा अवकास भएर जाने कर्मचारीहरुमध्ये सिक्का टंकण, नोट छपाई, तोडा चलान, ढुकुटी व्यवस्थापन आदिमा दखल भएका कर्मचारीहरुको बर्हिगमन पनि चुनौतिपूर्ण हुन सक्छ । पुराना तथा अनुभवी कर्मचारीहरु निवृत्तभरणतर्फ उन्मुख हुनु अगावै आवश्यकता अनुसार नयाँ तथा धेरै सेवा अवधि बाँकी रहेका कर्मचारीहरु मुद्रा व्यवस्थापन कार्यको लागि पदस्थापन गर्ने र पुराना कर्मचारीहरुले नयाँ पिँढीका कर्मचारीहरुलाई आफूले जानेका तथा बुझेका व्यवस्थापकीय ज्ञान, सिप हस्तान्तरण गर्दै जाने माहौल व्यवस्थापन पक्षले सिर्जना गर्दै जानुपर्छ । मुद्रा व्यवस्थापनसँग सम्बन्धित कर्मचारीहरुलाई प्रविधिसँग अभ्यस्त गराउने खाले उत्प्रेरणात्मक तालिम, सेमिनार र छलफल कार्यक्रममा सहभागी गराउँदै लैजानु जरुरी छ । साथै, उनीहरुलाई समय सापेक्ष भत्तामा वृद्धि तथा तालिमको व्यवस्था गर्दै जानुपर्छ । कागजरहित बैंकिङ प्रणालीमा नेपाल राष्ट्र बैंक उन्मुख हुँदै गएकाले प्रविधिमा अभ्यस्त कर्मचारीहरुद्धारा काम गराउने पद्धति विकसित गराउनुपर्छ ।

कार्यको तथ्यांकीय अभिलेखीकरण
मुद्रा व्यवस्थापनसँग सम्बन्धित सबैखाले कार्यहरुको तथ्य र तथ्यांकीय आधारमा अभिलेखिकरण गर्नुपर्ने देखिन्छ । छापिएर आउने नयाँ नोट तथा सिक्काहरुको रुप, रंग र प्रमाणका बारेमा सर्वसाधारणहरुमा पूर्व सुचना दिने प्रथाको थालनी एवं मुद्रा व्यवस्थापनसँग सम्बन्धित नियम, विनियम, विनियमावलीलाई समय सापेक्ष सुधार तथा थप परिमार्जन गर्दै जाँदा मुद्रा व्यवस्थापन कार्य थप चुस्त, जोखिमरहित र दिगो भई केन्द्रिय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको गरिमालाई थप मुखारित गर्नमा सहयोग पुग्छ ।

जाली नोटको खतरा
बजारमा चलनचल्तीमा रहेका ठूला दरका नोटहरुमा जाली नोटहरु पनि देखिँदै गएकाले विशेषगरी ५ सय र १ हजार दरका नोटहरुमा सुरक्षण विशेषताहरु थपि त्यस्ता नोटहरु चलनचल्तीमा ल्याउँदा जाली नोटलाई क्रमशः न्यूनीकरण गर्दै जानुपर्छ । 

(डा. सिग्देल नेपाल राष्ट्र बैँकअन्तर्गत मुद्रा व्यवस्थापन विभागका निर्देशक हुन् ।)