राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सर्टिफाइङ्ग कम्पनि (एनसीसी) बीच डिजिटल सिग्नेचर तथा सर्टिफिकेट(डिएससी) प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बैंकभित्र हुने विद्युतीय प्रणालीमार्फत गरिने सूचना आदानप्रदानमा उत्पन्न हुने जोखिमलाई न्यूनिकरण गर्दै सूचना प्रणालीलाई थप विश्वसनीय बनाउने तथा अनलाइन कारोबारलाई थप सुरक्षित बनाउने उद्देश्यले सो सम्झौता गरिएको जनाइएको छ । सो सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनसीसीका तर्फबाट अध्यक्ष विप्लबमान सिहंले बैकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरे । राष्ट्रिय वाणिज्य बैंकले डिएससीलाई कागजातको आधिकारीकता प्राप्त गर्नका निम्ति विभिन्न चरणमा कार्यान्वयन गर्ने छ । यसको कार्यान्वयन विभिन्न कानुनी प्रावधानहरुमा निर्भर गर्दछ ।
यस सम्झौताले ग्राहक अनुभवमा सुधार ल्याउदै बैंकको अभौतिककरणमा जाने उद्देश्यमा थप सहयोग पुग्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विश्वास व्यक्त गरे । श्रेष्ठले डिएससीको उपलब्धता तथा प्रयोगले बैंकले ग्राहक समक्ष सुरक्षित एवं भरपर्दो रुपमा सेवा पुर्याउने र जोखिम कम गर्न मद्दत पुग्नेमा विश्वस्त रहेको बताए । कार्यक्रममा एनसीसीका अध्यक्ष विप्लबमन सिंहले राष्ट्रिय वाणिज्य बैंक जस्तो धेरै संजाल भएको ठुलो बैंकलाई डिएससी उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै, बैंकका सुचना प्रविधि विभागका विभागीय प्रमुख देवेश लोहनीले यस डिएससीको प्रयोगबाट ग्राहकहरुमा छिटो छरितो रुपमा सुरक्षित सेवा पुर्याउन थप मद्दन पुग्ने बताए ।
नेपाल सर्टिफाइङ्ग कम्पनीले रेडियन्ट इन्फोटेक नेपालद्धारा जारी भएको डिजिटल सिग्नेचर र सर्टिफिकेटहरु ब्यवस्थापन गर्दै डिएससीलाई देशभर लागु गरि कागजातद्दारा गरिने कार्यलाई प्रतिस्थापन गर्दै आएको छ ।


