Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुको टोलीलाई मलेशिया घुमायो

२०७३ असार १० गते

merchantनेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकरहरुको एक टोलीलाई मलेशिया भ्रमण गराएको छ । सेक्युरिटिज कमिशन मलेशियाको सहायक कम्पनी सेक्युरिटिज इण्डष्ट्रीज डेभलपमेण्ट कोअपरेशनको सहयोगमा धितोपत्र बोर्डका निर्देशक विनयदेव आचार्यको नेतृत्वमा सो टोली मलेशिया भ्रमणमा गएको थियो । मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष प्रवीण रमण पराजुलीसहित १५ जना मर्चेन्ट बैंकर र अर्थ मन्त्रालयका उपसचिव बैकुण्ठ नीधि शर्मा समेतले मलेशिया भ्रमण गरेको बोर्डद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

भ्रमणका क्रममा टोलीले वर्षा मलेशिया स्टक एक्सचेञ्ज र मर्चेन्ट बैंकिङ्ग लगायत धितोपत्र लगानी सम्बन्धी विभिन्न व्यवसाय गरिरहेको केनांगा इन्भेष्टमेण्टको अवलोकन भ्रमण गरेको थियो । मलेसियाको धितोपत्र बजारको वर्तमान अवस्था, मर्चेन्ट बैंकरहरुको अनुमति प्रकृया, मर्चेण्ट बैंकरको कार्यक्षेत्र तथा कार्य प्रकृयामा केन्द्रित रही विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । उक्त भ्रमणमा वर्षा मलेशिया स्टक एक्सचेञ्जको स्वामित्व संरचना, कारोबार पद्दति तथा लगानीकर्ता प्रशिक्षण प्रकृया र केनांगा इन्भेष्टमेण्टको विभिन्न कार्यहरुको अनुमति प्रकृया तथा सेवा संचालन सम्बन्धमा विविध विषयमा प्रस्तुतीकरणका साथै सम्बन्धित विज्ञहरुसँग अन्तरक्रिया गरिएकोे थियो । उक्त कार्यक्रममा सहभागी मर्चेन्ट बैकरहरुले धितोपत्र बजार, कारोबार संयन्त्र र मर्चेन्ट बैंकिङ्ग सम्बन्धी नयाँ कार्यक्षेत्र सम्बन्धमा थप जानकारी प्राप्त भएको तथा सम्बन्धित धितोपत्र बजार, मर्चेन्ट बैंकर, स्टक एक्स्चेन्जसँग सम्बन्ध विकास भएको धारणा व्यक्त गरेका थिए ।

नेपालको मर्चेन्ट बैंकरलाई विकसित मुलुकको मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालन तथा कार्यक्षेत्र सम्बन्धमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सो भ्रमणबाट नेपालका मर्चेन्ट बैकरहरुको सेवा, कार्यशैली तथा व्यवसायिकतामा सुधार आई मर्चेन्ट बैंकिङ्ग सेवा सुदृढीकरणका साथै कार्यक्षेत्र विस्तार भई धितोपत्रको समग्र प्राथमिक बजार सेवाको प्रतिस्पर्धी विकासमा समेत योगदान पुग्ने अपेक्षा बोर्डको छ ।