August 30th, 2019

बीमा क्षेत्रमा प्रतिष्पर्धा : बीमक र बीमित दुबैलाई फाइदा

बैंकिङ खबर । नेपालमा बीमाको सुरुवात २००४ सालबाट “नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड” को स्थापनासँगै भएको हो । बीमा व्यवसायको सुरुवात नेपालमा सात दशक अगाडी नै भएको भए तापनि आजसम्म बीमाको पहुँच उल्लेख्य रुपमा बढ्न सकेको छैन । आज पनि मानिसहरुमा बीमा सम्बन्धी धेरै अन्यौल्ता कायमै रहेको पाइन्छ । यसैबीच बीमाको आवश्यकता र महत्व, बीमा क्षेत्रको वर्तमान अवस्था, अवसर, चुनौति लगायतका विषयमा केन्द्रित रहेर प्रभु इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यसँग बैंकिङ खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छः

बीमा भनेको के हो ? यसलाई सर्वसाधारणले कसरी बुझ्ने ?
एक शब्दमा भन्नु पर्दा बिमक र बिमितबीचको करारलाई बीमा भनिन्छ । कुनै पनि सम्पती क्षति भएको बेलामा त्यसको आर्थिक दायित्व ब्यर्होर्नु नै करार हो । बीमालाई सम्पतीको दायित्व जोखिम बहन गर्ने क्षेत्र भनेर पनि बुझ्न सकिन्छ । जुनसुकै क्षेत्रको लगानीकोे जोखिम बीमा कम्पनीहरुले लिन गर्छन् । बीमा गराएर त्यसमा हुने सम्पुर्ण जोखिम बीमा कम्पनीहरुलाई दिएर ढुक्क हुन सकिन्छ । घटना घटेमा त्यसको सम्झौता अनुसारको क्षतिपुर्ति पाईन्छ । मानिसहरुले बीमा मेरो लागि हो र बीमा गरिसकेपछि त्यसको क्षतिपुर्ति पाईन्छ भनेर पनि बुझ्नु आवश्यक छ । बीमा गरेर पैसा खेर जाँदैन । निश्चित समयमा त्यसको पनि प्रतिफल आउँछ ।

सम्पत्तीको बीमा किन गर्ने ?
सम्पतीको बीमा गराएमा त्यो सम्पत्तीको सम्पुर्ण जोखिम बीमा कम्पनीले लिन्छ । व्यवसायिक क्षेत्रको बीमाले बीमा गराउनेहरु डुब्न सक्ने अवस्था रहँदैन । मानिसहरुको बीमा गर्दा महिनैपिच्छे बीमा शूल्क तिर्नुपर्छ । तर, निर्जिवन बीमामा वार्षिक रुपमा तिर्दा हुन्छ । थोरै बीमा शुल्क तिरेर बीमा गराउँदा पनि सम्पुर्ण सम्पत्ती बराबरको क्षतिपुर्ति पाइन्छ ।

उदाहरणका लागि, रामले आफ्नो जीवनभर कमाएको पैसाले एक करोड रुपैयाँ लागतमा घर बनाएको छ । उसले घर बनाउने खर्च धेरै ठाँउबाट जुटाएको हुन्छ । भुकम्प, आगलागी, बाढीपहिरो लगायत धेरैबाट घरमा क्षय पुग्नसक्छ, जसपश्चात्, एक करोड रुपैयाँ एकैछिनमा सकिन्छ । तर, उक्त घरको बीमा गरेको छ भने जति क्षत भएपनि त्यसको पूर्ति बीमा कम्पनीले गरिदिन्छ । एक करोड रुपैयाँ बराबरको सम्पत्ती बीमा गराउँदा बीमा शूल्क चार हजार रुपैयाँ मात्रै लाग्छ । वार्षिक चार हजार रुपैयाँले एक करोड रुपैयाँको सम्पत्तीको सुरक्षा हुन्छ भने बीमा किन नगराउने ? हाम्रो जस्तो गरिबीले गाँजेको देशमा दुःख गरेर कमाएको सम्पत्ती पनि प्राकृतिक प्रकोपले क्षति गराउँदा व्यक्ति र परिवारलाई त असर पर्छ नै । साथमा समाज र राष्ट्र पनि प्रभावित हुन पुग्दछन् । त्यसैले, भविष्यमा आइपर्न सक्ने विपत्तीले पार्ने क्षतिको पूर्तिका लागि बीमा गर्नुपर्छ ।

सरल र सहज तरिकाले बीमा कसरी गर्न सकिन्छ ?
बीमा कम्पनीहरु अहिले निकै प्रविधीमैत्री भएका छन् । उनीहरुले बीमा सेवाको लागि विभिन्न मोवाइल एपहरु संचालनमा ल्याएका छन् । जसको मद्दतबाट घरमा नै बसेर चाहेको बीमा कम्पनीमा बीमा गर्न सकिन्छ । अब बीमा गर्न चाहनेहरु बीमा कम्पनीको कार्यलयमा नै पुग्नु पर्छ भन्ने छैन । इन्टरनेट र प्रविधिको पहुँच पुगेको जुनसुकै क्षेत्र वा स्थानबाट पनि तुरुन्तै बीमा गर्न सकिन्छ । त्यस्तै अहिले हरेक स्थानिय तह वा बैंक पुगेका जुनसुकै क्षेत्रमा बीमा कम्पनीहरु पुगिसकेका छन् । इन्टरनेट र प्रविधिको सहुलियत नभएकाहरुले पनि नजिकैको बीमा कम्पनीमा बीमा गराउनुका साथै बीमा सम्बन्धी सम्पुर्ण जानकारी लिन सक्छन् ।

बीमा कम्पनीहरु थपिइरहेका छन् । तर पनि बीमा पहुँच बढ्न सकेको छैन नि ?
हाम्रो देशको सन्र्दभमा बीमा स्वतः स्फुर्त रुपले गरिएको पाइँदैन । जति नै जान्ने बुझ्ने व्यक्ति भए तापनि बीमा आवश्यक भएमा मात्र गराउने प्रचलन छ । स्वतः बीमा गराउन जनचेतना अभिवृद्धि गर्न आवश्यक छ । बीमा सम्बन्धी जनचेतना फैलाउने काम भइरहेको छ । सबै बीमा कम्पनी, बीमा समिती र बीमासँग सम्बन्धीत संघ संस्थाहरु पनि यस कार्यमा लागिरहनु भएको छ । केही बर्ष अगाडीको तथ्यांकको तुलनामा अहिलेको १८ प्रतिशत बीमा पहुँचलाई पनि ठूलै उपलब्धी मान्नुपर्छ । बीमा कम्पनीहरु बढेसँगै बीमा सम्बन्धी सचेतना कार्यक्रमहरु पनि बढिरहेको छ । भविष्यमा चाँडै नै वाध्यतामा वा आवश्यक भएर गराउने भन्दा स्वतः बीमा गराउने प्रचलन सुरु हुने अपेक्षा गर्न सकिन्छ ।

बीमा कम्पनीको संख्यासँगै बढेको प्रतिष्पर्धाले बीमा क्षेत्रलाई कस्तो प्रभाव परेको छ ?
बीमा क्षेत्रमा निर्जिवनभन्दा बढी जीवन बीमा कम्पनीको संख्या बढेको छ । बीमा कम्पनीहरुको संख्या बढेको अनुसार प्रतिष्पर्धा र बढेको छ नै, साथमा दायरा पनि फराकिलो हुँदै गइरहेको अवस्था छ । त्यसैले, बीमा कम्पनीहरु बढ्दैमा आत्तिनुपर्ने अवस्था छैन । नयाँ बीमा कम्पनीहरुले पुराना बीमा कम्पनीहरुले समेट्न नसकेका क्षेत्रहरुमा पनि बीमा सेवा दिएर बीमाको दायरा बढाउँछ । बीमा कम्पनीहरु प्रतिष्पर्धी भएमा नै उपभोक्ताहरुले राम्रो सेवा पाउँछन् । त्यस कारण बीमा क्षेत्रमा नयाँ बीमा कम्पनीहरु थपिँदा वा प्रतिष्पर्धा बढ्दा बिमक र बिमित दुबैलाई फाइदा पुगेको छ ।

पछिल्लो समय बैंकहरुले पनि बीमा गर्न सहयोग गरिरहेका छन् । कत्तिको सहज भएको छ ?
बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय संचालनका लागि बीमा आवश्यक छ । बैंकले विभिन्न धितो राखेर कर्जा दिनुपर्ने हुन्छ । त्यसका लागि बैंकहरुलाई धितोको सुनिश्चितताको आवश्यकता पर्छ । त्यस किसिमको आवश्यकताको परिपुर्ति बीमाले गर्छ । बैंक र बीमालाई एकअर्काको परिपुरकको रुपमा पनि बुझ्न सकिन्छ । बैंकले लिने हरेक धितोको बीमा गर्नैपर्ने भएकाले पनि बीमालाई केहि फाइदा भएको हो । तर हामी त्यतिमा मात्र सिमित रहनुहँुदैन । बैंक तथा वित्तीय क्षेत्रमा कारोबार गर्नेलाई मात्र बीमा सेवा दिने भन्ने होइन, त्यो भन्दा बाहिर पनि धेरै भौतिक संरचनाहरु छन् । त्यसको पनि जोखिम हामीले हेर्नुपर्छ । त्यसकारण बीमा कम्पनीहरु बैंकसंग आधारित भएर बीमा व्यवसाय संचालन गर्ने भन्दा पनि त्यो भन्दा बाहिरको भौतिक सम्पत्तीहरुलाई बीमाको दायरामा समेट्न सक्नुपर्छ ।

बैंकहरुले आफ्नो सम्पत्ती सुरक्षाको लागि सेवाग्राहीहरुलाई अनिवार्य बीमा गराएका हुन्छन् । के आज पनि बैंकिङ कारोबारका लागि मात्र मानिसहरु बीमा गर्न बाध्य भएका हुन् ?
पहिले त अवश्य नै बैंकिङ कारोबार गर्ने व्यक्तिहरुले मात्र बीमा गर्ने गरेका थिए । अहिले बिस्तारै त्यो प्रचलन घट्दै गएर बैंकमा कारोबार गर्ने भन्दा बहिरका मानिसहरुले पनि बीमा गराउने प्रचलन बढेको छ । पहिलेको अवस्थामा नेपालमा बीमा सम्बन्धी चेतना नै थिएन । बीमा के हो भन्ने नै मानिसहरुले बुझेका थिएनन् । तर अहिले बीमाको चेतना बिस्तारै बढिरहेको छ । यद्यपि, थुप्रै जनसंख्या यस्ता छन्, जो बीमाको बारेमा बुझ्नै चाहँदैनन् वा उनीहरुलाई बुझाउन अत्यन्तै गाह्रो हुन्छ । पढेलेखेका मान्छेहरु समेत बीमाबारे चासो राख्दैनन् । यसले गर्दा, अझै पनि बीमासम्बन्धी चेतना फैलाउनु चुनौतिपूर्ण नै छ । यद्यपि, चुनौतिका बाबजुद पनि बीमा कम्पनीहरु, बीमा समिति एवम् अन्य बीमासम्बन्धी संस्थाहरुको प्रयासमा बीमा चेतना विस्तार हुँदैछ । छिटै नै बाध्यताभन्दा पनि आफैँ चेतनशील भएर बीमा गर्नेको संख्या बढेको देख्न पाइनेछ ।

बीमा गराउन प्रोत्साहन गर्ने तर दाबी भुक्तानी लिने बेला झन्झटिलो प्रक्रिया अपनाउनुपर्ने गुनासो आउने गरेको छ नि ?
हरेक कुराको सकात्मक र नकारात्मक दुवै पाटा हुन्छन् । पहिला कुनै एउटा दाबी सर्वेक्षण गर्न जानुपर्दा महिनौ पनि लाग्थ्यो । आजको दिनमा प्रविधिले धेरै फड्को मारेको छ । टेक्नोलोजी बिना कोही पनि रहन सक्दैनन् । यस्तो अवस्थामा दाबी भुक्तानीमा असहजता रहने प्रश्न नै रहँदैन । पहिले प्रविधिको पहुँच नहुँदा केही ढिलोमात्र भएको हो । अहिले कहाँ कुन ठाँउमा कस्तो प्रकारको दाबी परेको हो, त्यो प्रविधिको माध्यमले तुरुन्तै हेर्न सकिन्छ । त्यस कारण आजको समयमा दाबी भुक्तानीमा समय लाग्दैन । अहिले त धेरै बीमा कम्पनीहरुले तुरुन्तै ठाँउको ठाँउ नै दाबी भुक्तानी दिने गरेका पनि छन् ।

बीमा कम्पनीहरुले दाबी भुक्तानी देखि लिएर सबै कारोबारहरु नीति, नियमन तथा प्रकृया अनुसार नै गर्नुपर्ने हुन्छ । कहिलेकाही भुक्तानी लिनुपर्ने व्यक्तिहरुले पनि प्रकृया पुरा गर्ने, कागजपत्र तथा प्रकृया पुर्याउन समय लगाउने हुँदा पनि ढिलो हुन्छ । तर त्यसको दोष पनि बीमा कम्पनीहरुलाई नै लाग्ने गर्छ । बीमा कम्पनीहरुले धेरै सकारात्मक कामहरु गरेका छन् । ती सकारात्मक कामहरुको पनि प्रचार हुने हो भने यस्ता नकारात्मक प्रचार हराई बीमा सम्बन्धी जनमानसमा सकारात्मक धारणाको विकास भएर बीमाको पहुँच पनि बढ्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]