Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शैक्षिक प्रमाणपत्र धितोको कर्जा कार्यक्रम अलपत्र, अहिलेसम्म ६ जनाले मात्रै लगे

२०७६ असार १ गते

काठमाडौं। शिक्षित युवालाई स्वरोजगार बनाउन सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सो व्यवस्थाअनुसार कर्जा पाउन नसकेकोे युवाले गुनासो गर्दै आएका छन् । पाँच प्रतिशत ब्याजदरमा प्राप्त हुने यस्तो कर्जा दिन बैंकले नै चासो नदेखाएपछि युवाहरू पीडित बनेका हुन् । नुवाकोट स्थायी घर भएका बालाजु बस्ने नवीन पाठकले आफ्नो व्यवसाय विस्तार गर्न एनएमबी बैंकमा कर्जा लिन गए । एनएमबी बैंकले कृषि व्यवसाय गर्ने भए मात्रै कर्जा दिने भनेपछि उनी राष्ट्रिय वाणिज्य बैंक गए । गत चैतमा नवीनले राष्ट्रिय वाणिज्य बैंक बालाजु शाखाबाट कर्जाका लागि आवेदन दिए । उनको आवेदन नै बैंकले हराइदियो । पटक पटक बैंकमा धाएपछि बल्ल बल्ल फाइल खोजियो । तर, कर्जा भने दिइएन । आवेदन दिएको २१ दिनमा पाउनुपर्ने कर्जा ४÷५ महिना हुँदा पनि नवीनले कर्जा पाएनन् । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख शिवप्रसाद चालिसेले कर्मचारी अभाव भएकाले कर्जा दिन ढिला भएको बताए ।

उनीझैं धेरै युवा पीडित छन् । यसतर्फ न बैंक जिम्मेवार देखिन्छन् न सरकार नै । सरकारले चालू आर्थिक वर्षको बजेटमा युवालाई स्वरोजगारमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था ल्याएको थियो । बजेटमार्पmत आएको यस्तो कार्यक्रमप्रति भने आकर्षण नै बढ्न सकेको छैन । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जा लिन विद्यार्थी नै नआएको बताए । उनले भने, ‘कर्जा लिन कोही आएकै छैनन् ।’
बैंकले यस्तो कर्जा दिन निकै आलटाल गरिरहेको छ । बैंकमा जाँदा कर्जा नदिने अनि आवेदन नै आएको छैन भन्दै बैंक उम्किने गरेका छन् । धितो मजबुत नभएका कारण बैंक यस्तो कर्जा दिन इच्छुकै छैनन् । बैंकरकै कारण सरकारको यो योजना असफल भएको छ । शैक्षिक प्रमाणपत्र मात्रै धितो राखेर कर्जा दिँदा जोखिम हुने भएकाले त्यस्तो कर्जा दिन उनीहरू पटक्कै चाहँदैनन् । तर, राष्ट्र बैंकको कारबाहीमा परिने हो कि भन्ने डरले ‘नदिने’ भन्न सकिरहेका छैनन् ।

गत असोजमा सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेपछि नै बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा दिँदा समस्या पर्ने बताउँदै आएका थिए । बैंकर्ससँग छलफल नगरी बिनातयारी सरकारले यस्तो कर्जा ल्याएकाले प्रभावकारी हुन नसकेको बैंकर्स बताउँछन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या ६ रहको छ । एकातिर बैंकले कर्जा लिन आएनन् भन्ने तर अर्कातिर नियतवश कर्जा नदिएर दुःख दिने गरेकाले राष्ट्र बैंक पनि सक्रिय हुन थालेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पछिल्लो समय यस्तो कर्जा नपाएको गुनासो बढ्न थालेको बताए । अब कारबाही गर्नुपर्ने अवस्था आएको उनले बताए । डेपुटी गभर्नर शिवाकोटीले भने, ‘यसपालि कारबाही हुन्छ ।’ राष्ट्र बैंकले बेलाबेलामा बैंकलाई कर्जा दिन घचघच्याए पनि तह लगाउन गाह्रो भएकाले अब भने कारबाही गर्नुपर्ने भएको उनको भनाइ थियो ।

ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याइयो

अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि शुक्रबारबाट लागू गरेको छ ।
मन्त्रालयले आज(शुक्रबार) सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणका लागि आवेदन दिन सक्ने जानकारी गराएको छ । मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइन्छ ।

शिक्षित युवा स्वरोजगार कर्जा

शिक्षित युवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर यो कर्जा लिन सक्नेछन् । कम्तीमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्छन् । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्ने व्यवस्था छ ।
ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तीमा सातदिने उद्यम व्यवसायको तालिम लिएको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा

माध्यमिक वा सो सरह उत्तीर्ण भएका र २५ वर्ष नकटेका युवाले यो कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था कार्यविधिमा छ । उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा लिन पाउनेछन् । यस्तो कर्जा लिन विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनुपर्नेछ । उनीहरू कलेज अध्ययन गरिरहेको हुनुपर्नेछ । यसरी कर्जाका लागि योग्यले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल र सीप विकास तालिमको प्रमाणपत्र चाहिन्छ । प्राविधिक शिक्षा कर्जाका लागि विपन्न र लक्षित वर्गको सिफारिस पनि राख्नुपर्नेछ ।

यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिइसक्नुपर्छ । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनुपर्छ ।

यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेअनुसारको हुनेछ । जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिनेछ । यदि १५ प्रतिशत ब्याज भएमा ऋणीले १० प्रतिशत मात्र तिरे पुग्छ । शिक्षित युवा स्वरोजगार कर्जाको सीमा ७ लाख हुनेछ भने उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुनेछ । राजधानी दैनिकमा प्रकाशित