बैंकिङ खबर । एनआईसी एशिया बैंकले उच्च व्यवस्थापनमा रहेका पुराना टिमका केही सदस्यलाई बिदाइ गर्ने भएको छ । बैंकले उच्च तहका कर्मचारीलाई लक्षित गर्दै १५ महिनाको तलब बराबरको सुविधा दिने गरी स्वैच्छिक अवकाश योजना (भीआरएस) अघि सारेको हो । बैंकको व्यवस्थापन पुनर्संरचना गर्ने क्रममा लामो समयदेखि उच्च तहमा कार्यरत कर्मचारीलाई सम्मानजनक बहिर्गमन दिने उद्देश्यले भीआरएस ल्याइएको बैंक स्रोतले जनाएको छ । असिस्टेन्ट म्यानेजर र सोभन्दा माथिल्लो तहका कर्मचारीलाई लक्षित गरिएको योजनामा हालसम्म ६ जना उच्च अधिकारीले आवेदन दिएका छन् ।
भीआरएसका लागि आवेदन दिनेमा नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाँ, सिनियर म्यानेजर कैलाश गौतम, डेपुटी म्यानेजर सुनिल मानन्धर र मनोज अधिकारी तथा असिस्टेन्ट म्यानेजर देवेन्द्र भट्ट रहेका छन् । बैंकले उच्च व्यवस्थापनमा नयाँ नेतृत्व र कार्यशैलीअनुसार टिम पुनर्संरचना गर्न खोजिरहेको देखिन्छ । करिब एक वर्षअघि सुजित कुमार शाक्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि बैंकको व्यवस्थापन शैलीमा परिवर्तन आएको छ । पुरानो व्यवस्थापन टिम र नयाँ नेतृत्वबीच रणनीतिक तालमेल तथा कार्यशैलीमा फरक देखिएपछि केही कर्मचारी बाहिरिन लागेको स्रोतको भनाइ छ ।
बैंकले लामो समयदेखि उच्च व्यवस्थापनमा रहेका कर्मचारीलाई १५ महिनाको तलब बराबरको अतिरिक्त सुविधा दिएर बाहिरिन अवसर दिएको छ । भीआरएसमा सहभागी हुने कर्मचारीले दसैं बोनससमेत पाउने व्यवस्था गरिएको बताइएको छ । भीआरएसका लागि आवेदन दिने अन्तिम म्याद असोज १५ गतेसम्म तोकिएको छ भने योजनामा सहभागी कर्मचारी असोज १६ गतेदेखि औपचारिक रूपमा बैंकबाट बिदा हुनेछन् । उच्च व्यवस्थापनका अनुभवी कर्मचारी बाहिरिएसँगै बैंकको व्यवस्थापन संरचनामा समेत परिवर्तन आउने भएको छ । यसलाई बैंकको नयाँ नेतृत्वले आफ्नो रणनीति र कार्यशैलीअनुसार व्यवस्थापन टिम पुनर्गठन गर्न थालेको संकेतका रूपमा हेरिएको छ ।
एनआईसी एशिया बैंक विगतमा पनि व्यवस्थापन, सेवा तथा संस्थागत छविसँग सम्बन्धित विभिन्न विषयका कारण चर्चामा आउने गरेको थियो । पछिल्लो व्यवस्थापन परिवर्तनसँगै बैंकले आफ्नो कार्यशैली सुधार र संस्थागत पुनर्संरचनालाई अघि बढाउन खोजेको देखिन्छ ।