बैंकिङ खबर । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक एक्वायर गर्ने भएको छ । एक्विजिसन गर्ने सम्झौतापत्रमा बुधबार प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका छन् ।
ओम डेभलपमेन्ट बैंकसँगको मर्जर तोडिएपछि प्राइमले कन्काईसँग एक्विजिसन सम्झौता गरेको हो । हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ रहेको छ भने कन्काईको ५१ करोड ५० लाख रुपैयाँ छ । एक्विजिसनका लागि स्वाप रेसियो तय भएको छैन । बराबरी हैसियतमा गाभिएमा एक्विजिसनपछि बैंकको चुक्तापुँजी आठ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । तर, बराबरी हैसियतमा गाभिने सम्भावना कम रहेको छ । एक्विजिसनपछि बैंकको शाखा संख्या ८९ पुग्नेछ ।
प्राइम बैंकले जेठ २६ गते ११ औ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभामा कन्काई गाभ्ने प्रस्ताव लैजाने विषय भने सार्वजनिक गरिएको छैन ।