बैंकिङ खबर । आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सबै वालिग नेपालीको बैंक खाता खोलिने भएको छ । यसका लागि खोलौँ बैंक खाता अभियान संचालन गरिने नयाँ बजेटमा उल्लेख गरिएको छ । त्यस्तै, सरकारी निकायबाट नागरिकलाई प्रदान गरिने आर्थिक सुविधा लगायत सबै प्रकारका भुक्तानी बैंक खातामार्फत गरिने भएको छ । वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय पहुँच अभिवृद्धि गरिने र वित्तीय साधन उत्पादनमुखी बनाइने बजेटमा उल्लेख छ ।
पछिल्लो समय बैंकिङ पहुँचमा उल्लेख्य वृद्धि भएको छ । अधिकांश स्थानीय तहमा बैंक शाखा पुगेका छन् । गत वर्ष मात्रै २२५७ बैंक शाखा थपिएका छन् । आगामी वर्षमा यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने नीति बजेटले लिएको छ । सबै स्थानीय तहका केन्द्रमा बैंकिङ सुविधा सुनिश्चित गरिने बजेटमा उल्लेख गरिएको छ । दुर्गम क्षेत्रमा बैंकिङ सेवाको पहुँच अभिवृद्धि गर्न मोबाइल, इन्टरनेट र शाखारहित बैंकिङ सेवालाई प्रोत्साहित गरिने भएको छ ।
नेशनल पेमेन्ट गेटको व्यवस्था गरी भुक्तानी प्रणालीको फरकफारक नेपालमा हुने व्यवस्था मिलाइने भएको छ । नगद कारोबारलाई क्रमशः न्यूनीकरण गर्दै भुक्तानी प्रणालीमा सुरक्षित कार्ड र इन्टरनेटको प्रयोगलाई प्राथमिकता दिइने बताइएको छ । खानेपानी र विद्युत् सेवा शूल्क भुक्तानी विद्युतीय माध्यमबाट हुने व्यवस्था मिलाइने भएको छ ।


