Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सिसिडीमा चाप परेपछि बैंकहरुले कर्जा लगानी घटाए, कर्जाको तुलनामा निक्षेप बढ्यो

२०७५ चैत्र २७ गते

बैंकिङ खबर । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आउँदा वाणिज्य बैंकहरुले २६ खर्ब ९० अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९६ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा बैंकहरुले गत वर्षको तुलनामा २ खर्ब १८ अर्ब ७४ करोड रुपैयाँले निक्षेप वृद्धि गर्दा कर्जा २ खर्ब ८७ अर्ब १८ करोड रुपैयाँले बढाएका छन् । यसरी हेर्दा निक्षेपको तुलनामा कर्जा बढेको देखिन्छ । तर माघ महिनामा भन्दा फागुनमा कर्जाको तुलनामा निक्षेपको वृद्धिदर झण्डै दोब्बर रहेको छ । बैंकहरुको सिसिडीमा चाप परेपछि कर्जा लगानी कम गरेको तथ्याङ्कले देखाउँछ ।

बैंकहरुले कर्जा प्रवाहमा गरेको वृद्धि अनुसार निक्षेप बढाउन नसक्दा केही वाणिज्य बैंकहरुले सिसिडीको समस्या झेलिरहेका छन् । आर्थिक वर्षको पहिलो महिना श्रावणमा निक्षेप १० अर्ब ७ करोड रुपैयाँले घट्दा बैंकहरुले कर्जा भने १४ अर्ब ५१ करोड रुपैयाँले वृद्धि गरेका थिए । त्यस्तै भाद्र महिनामा ५३ अर्ब २६ करोड रुपैयाँले कर्जा बढाएका बैंकहरुको निक्षेप भने ४८ अर्ब ४२ करोड रुपैयाँले मात्रै बढाएको देखिन्छ ।

बैंकहरुले आश्विनमा २६ अर्बले निक्षेप वृद्धि गर्दा कर्जा भने ८४ अर्ब भन्दा माथिले बढाएका छन् । १८ अर्बले कर्जा वृद्धि गरेका छन् । कार्तिकमा ३० अर्बले निक्षेप वृद्धि गरेको बैंकहरु कर्जा वृद्धिमा केहि संयमित भएको देखिन्छ । मंंसिरमा ५५ अर्बले निक्षेप बढाउन सफल भएका बैंकहरुले कर्जा वृद्धिलाई ध्यान दिएको देखिन्छ । उक्त अवधिमा बैंकहरुको कर्जा ३२ अर्बले मात्र बढेको छ । पौषमा बैंकहरु फेरी कर्जा वृद्धिमा आक्रामक बनेका छन् । पौषमा बैंकहरुले निक्षेप ३४ अर्बले बढाउँदा कर्जा ६० अर्बले बढाएका छन् ।

सिसिडिको चाप परेपछि माघमा भने बैंकहरु कर्जा विस्तारमा केही संयमित भएको देखिन्छ । माघमा बैंकहरुले १९ अर्ब निक्षेप बढाउँदा कर्जा १५ अर्बले बढाएका थिए । फाल्गुनमा पनि बैंकहरुको कर्जा भन्दा निक्षेप नै बढेको देखिन्छ । फागुनमा बैंकहरुको निक्षेप १३ अर्बले बढ्दा कर्जा ७ अर्बले मात्र बढेको छ ।

Ad