कहिले बैंक, कहिले बीमा – अचम्मको छ रमेश कुमार भट्टराईको जीवन यात्रा

बैंकिङ खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्सले औपचारीक कारोबार सुरु गरेकै दिन सञ्चालनमा आएको ५ महिनाको अवधिमा ५० करोड रुपैयाँ प्रिमियम संकलन गर्ने, २ वर्षको अवधिमा नयाँ खुलेको १० वटा बीमा कम्पनी मध्ये १ नम्बर बन्ने र ५ वर्षमा नेपालका बीमा कम्पनीहरु मध्ये उत्कृष्ट बीमा कम्पनी बन्ने उद्घोष गरेका भट्टराईको उमेर ६० वर्ष नाघिसकेको छ । प्रायः कर्मचारीहरु सक्रिय सेवाबाट अवकास लिने समयमा उनी भने चुनौती स्वीकार गर्दै आफ्नो पाइला अगाडी बढाइरहेका छन् ।

विगत २२ वर्षयता निरन्तर कार्यकारी प्रमुखको रुपमा कार्यरत भट्टराईले आफ्नो जीवनकालमा कयौं सफल संस्था खडा गरेका छन् । भट्टराईका करियरका टर्निङ पोइन्ट र जीवनको यो उमेरसम्म आउँदा के के गरे, उनको भोगाई र अनुभव प्रस्तुत गरका छौं । बैंकिङ खबरका विजय पराजुलीसँगको कुराकानीमा आधारित

जन्मस्थान तथा पारिवारिक पृष्टभुमी
२०१५ मंसिर २३ गते विरगंजको सामान्य परिवारमा जन्मिएका भट्टराईले विद्यालय तहको शिक्षा वीरगञ्जमै पुरा गरे । २०३३ सालमा आई. कम. तथा २०३५ सालमा बी. कम. वीरगञ्जको ठाकुरराम कलेजमै पुरा गरे । स्नातक सकेका भट्टराईलाई उच्च शिक्षा हासिल गर्नु पर्छ पढाईलाई यही रोकेर हुँदैन भन्ने लाग्यो र काठमाडौं आउने योजना बनाए तर काठमाडौंमा बसेर पढ्न सक्ने आर्थिक अवस्था परिवारको थिएन । वि.सं. २०३६ सालमा काठमाडौं आएका उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उपाधि हासिल गरे । उनले कानून संकाय तर्फ पनि स्नातक तह सम्मको अध्ययन पुरा गरेका छन् । दुई दाजुभाइ मध्ये जेठा भट्टराईको श्रीमतिले गृहस्थ सम्हालिरहेकी छिन् । भट्टराईका एक छोरा र छोरी छन् । उनका भाई नेपाल सरकारको उपसचिव तहबाट अवकास पाइसकेका छन् । 

पढाइसँगै रोजगारीको सुरुवात
आर्थिक अवस्थाकै कारण अलमलमा परेका भट्टराई एकजना आफन्तको सहयोगमा उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आए । उनलाई तिनै आफन्तले सहयोग गरिरहे पनि सँधै यसरी अरुको भरमा बसेर हुँदैन भन्ने मनमा लाग्यो । सोहि सोचले आफ्नो करियरकै पहिलो जागिरको रुपमा क्यासिनोबाट काम सुरु गरे । जिवन निर्वाह तथा पढाइलाई निरन्तरता दिनको लागि जागिर सुरु गरेका उनले शंकरदेव क्याम्पसमा भर्ना भई विहानमा कलेज जाने तथा राति क्यासिनोमा काम गरे ।

सरकारी कर्मचारीले अफिसर लेवलमा ३०० रुपैयाँ कमाउने उक्त समयमा आफुले खर्च कटाएर मासिक २ हजार भन्दा बढी कमाउँथे । क्यासिनोमा काम गर्दै गर्दा भट्टराईले त्यहाँ तीन वटा विकृति देखे । पहिलो नेपाली चेलीबेटीप्रतिको र्दुव्यवहार, दोस्रो जाँड रक्सी र तेस्रो जुवा । कमाईको हिसाबले क्यासिनोको काम राम्रो भए पनि करियरको अघि पैसाले मात्र केही हुँदैन भन्ने सोचि काम सुरु गरेको तीन महिनामा नै अर्को विकल्प खोज्न सुरु गरे । रातभरि क्यासिनोमा काम गर्यो जसले गर्दा विहान क्याम्पस जान नसकेका कारण एकातिर पढाइ विग्रने तथा क्यासिनोको रस पसेपछि भविष्यमा अरु काममा मन नलाग्ने ठहर गरि उक्त जागिर छाड्ने निष्कर्षमा पुगे ।

त्यही बिचमा राष्ट्रिय तथ्याङ्क विभागमा कृषि गणनाको लागि कर्मचारी माग गरेको भट्टराईले जानकारी पाए । एम.कम. पढदै गरेका उनले असिस्टेन्ट लेवलमा इन्टरको शैक्षिक योग्यता बराबरको पोष्टमा महिनाको ३०० रुपैयाँबाट काम गर्न सुरु गरे । उनले एक महिना सम्म दैनिक ३ घण्टा मात्र सुतेर क्यासिनो तथा तथ्याङ विभाग दुवै तिर काम पनि गरे । यसरी दुई तिर काम गर्दा पढाइ झन् बिग्रने निष्कर्श सहित एक महिनापछि उनले क्यासिनोको जागिर छोडे । त्यसपछि तथ्याङ्क विभागको जागिर र पढाइलाई उनले सँगसँगै अगाडी बढाए । काठमाडौं आएको तीन वर्षको समयमा उनले स्नातकोतर सम्मको अध्ययन पुरा गरे ।

स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेको केही समयमा नै नेपाल बैंकले अधिकृत तहको कर्मचारी माग गरेको जानकारी उनले प्राप्त गरे । नेपाल बैंकमा आवेदन दिएर लिखित तथा अन्तरवार्ता दुवैमा पास गरेपछि उनको जीवनले गति लियो ।

नेपाल बैंकको जागिर र बैंकिङ करियर
उनले २०३९ वैशाख १ गते नेपाल बैंकको विरगञ्ज शाखामा जुनियर अफिसरबाट बैंकिङ करीयरको सुरुवात गरे । उनको नेपालको यात्रा आफ्नो कुनै उद्देश्य भन्दा पनि पारिवारिक बाध्यताले डोर्याएको थियो । विरगञ्ज आफ्नो क्षेत्र भएको र बैंकमा काम गर्ने हुनाले केही गर्नुपर्छ भन्ने सोचले उनको मनमा जरा गाड्न थाल्यो र त्यही अनुरुप सम्बन्ध पनि बढाउन सुरु गरे । विरगञ्ज शाखामा काम गर्दा ताका नेपाल बैंकका अलवा कृषि विकास बैंक र राष्ट्रिय वाािण्ज्य बैंक र नीजि क्षेत्र तर्फ हालको नबिल बैंक तत्कालिन नेपाल अरब बैंकले कारोबार सुरु गरेका थिए । नेपालको प्रमुख व्यापारिक नाका समेत रहेको विरगञ्ज कारोबारको हिसाबले धेरै अगाडी रहेको हुँदा प्रशस्तै बैंकिङ कारोबार हुन्थ्यो ।

नेपाल बैंकमा कर्जा विभाग सम्हालेका भट्टराईले विरगञ्जका ठुला ठुला उद्योगी व्यवसायीहरुसँग नजिकिने मौका पाए । साथै उनीहरुको कर्जाको फाइल आफैँले तयार गरि दिने र आवश्यक परामर्श दिएर बैंकको कर्जा तथा सम्बन्ध दुवै विस्तार गर्दै गए । उनले आफुलाई त्यतिमा मात्रै सिमित राखेनन्, उनले फुर्सद हुँदा लोकल पत्रपत्रिकामा नियमित आर्थिक लेखहरु लेख्ने गर्दथे । सोही समयमा केही राष्ट्रिय स्तरका पत्रपत्रिका र नेपाल बैंकको म्यागजिनमा पनि लेखहरु छापिन थाले । उक्त लेखन तथा कार्य दक्षताका प्रभावले नेपाल बैंकको हरेक तीन तीन वर्षमा हुने बढुवाको परिक्षामा लिखित तथा अन्तरवार्ता पास गर्दै बढुवा हँुदै गए । यसरी बढुवा भएपछि उनले नेपाल बैंकको क्षेत्रीय कार्यलयमा कर्जा प्रमुख, कानुन विभाग प्रमुख र सुपरिवेक्षेण विभाग प्रमुख भएर काम गरे ।

कामको शिलसिलामा सम्पुर्ण क्षेत्रीय कार्यलय अन्र्तगत रहेका ४५ वटै शाखा कार्यलय पुगे । उनले बैंकमा समस्या हुँदा विषयगत हिसाबले काम गर्ने गरेकोले सफलताका शिढि उक्लँदै गए । जुन सुकै शाखामा समस्या हँुदा पनि आफु त्यँहा जान अग्रसर हुने गरेको उनले सुनाए । नेपाल बैंकमा कुनै समय यस्तो पनि आयो, यदि कुनै शाखामा समस्या भयो भने उक्त समस्याको समाधान गर्नको लागि केन्द्रिय कार्यलयका सिनियर अफिसरले सिधै उनलाई अनुरोध गर्दथे ।

उनले नेपाल बैंकमा काम सुरु गरेको १२ वर्षको छोटो समयमा लगातार बढुवा भएर डेपुटी म्यानेजरसम्म बने । उक्त १२ वर्षको अवधिमा उनले नेपाल बैंकको ८ वटा भन्दा बढी शाखामा पुगेर काम गरे । कर्मचारीहरुको छिटो सरुवा हुनु भनेको प्राय नराम्रो काम गर्दा मात्र हुन्छ भन्ने धारणाबाट फरक उनी भने राम्रो कार्य सम्पादन मुल्यांकनका कारण धेरै पटक सरुवा हुन पुगे ।

यसरी छोटो समयमा नै धेरै सरुवा हुँदा छोरीको भविष्य बिग्रने भयले उनलाई सताउन सुरु गर्यो । छोरीले ३ कक्षासम्म अध्ययन गर्दा ५ वटा स्कुल चेन्ज गरिसकेकोले अब पनि यसरी नै काम गर्ने हो भने छोरीको भविष्य बिग्रने उनले महशुस गरे र नेपाल बैंकको जागिर अन्त्य गर्ने निर्णयमा पुगे । नेपाल बैैकको बैंकिङ करियारको अन्तिम समय उनले दुहबी शाखामा बिताए । त्यसपछि उनको करियरले फेरि नयाँ मोड लियो ।

नेपाल बैंकको दुहबी शाखामा काम गर्दै गर्दा उनले विरगञ्जमा फाइनान्स कम्पनी स्थापना गर्ने सोच बनाए । त्यहि उद्देश्यलाई मुर्त रुप दिन फाइनान्स कम्पनीको लागि आवश्यक डकुमेन्ट तयार गरे । नेपाल बैंकको क्षेत्रीय स्तरमा विभिन्न विभाग प्रमुख भएर काम गरिसकेको र पर्याप्त अनुभव पनि भएकोले आफ्नै अग्रसरतामा फाइनान्स कम्पनी खोल्ने निष्कर्षमा पुगे । फाइनान्सको फाइल तयार पारेर नेपाल बैंकबाट विदा लिएर उनी विरगञ्ज आए । उक्त फाइल लिएर उनले विरगञ्जका अधिकांश उद्योगी व्यवसायीलाई फाइनान्सको काम गरौं भनेर आग्रह गरे तर शुरुमा कसैले पनि उनलाई विश्वास गरेनन् । कुरा थियो वि.सं. २०५१ सालको, जुन समयमा ७५ लाख रुपैयाँ पूँजी भए फाइनान्स कम्पनी खोल्न पाइन्थ्यो । कसैले विश्वास नगरेपछि नेपाल बैंकको विरगञ्ज शाखामा काम गर्दै देखि नै चिनजान भएका उद्योगी बाबुलाल चाचाकोमा भट्टराई पुगे । बाबुलाल चाचाले भट्टराईलाई विश्वास गरे र फाइनान्समा लगानी गर्न तयार भए । त्यसपछि विरगंजकै हरीलाल, स्वयं भट्टराई सहित विरगञ्जका ४ जना र काठमाडौंको विशाल ग्रुप र सांघाई ग्रुप लगानी गर्न तयार भएपछि महालक्ष्मी फाइनान्स नाम दिएर भट्टराई आफ्नो नेतृत्वमा लाइसेन्सको लागि नेपाल राष्ट्र बैंक पुगे । उक्त फाइल राष्ट्र बैंकमा पेश गरेपछि उनले नेपाल बैंकको जागिर छोडे ।

महालक्ष्मी फाइनान्सको स्थापना र नेपाल बैंकको जागिर छोडेको बिचमा उनले नयाँ कामको पनि अनुभव गरे । नेपाल बैंकमा काम गर्दाको सम्बन्धलाई नै आधार बनाएर उनले २ जना कामदार राखी विरगञ्जमा हार्डवेयरको व्यापार सुरु गरे । उनको व्यापरमा भने यो पहिलो अनुभव थियो । आफ्नो लगानी नै नभई विरगञ्जको सबैभन्दा ठुलो हार्डवेयर पसल संचालन गरे र संचालन गरेको ९ महिनामा नै हार्डवेयरले राम्रो नाफा गर्न थाल्यो । 

व्यापार अनुभव
महालक्ष्मी फाइनान्सको स्थापना हुनु अगावै नेपाल बैंकको जागिर छोडेका कारण उक्त समयमा उनले नयाँ कामको अनुभव पनि गरे । नेपाल बैंकमा काम गर्दाको सम्बन्धलाई नै आधार बनाएर उनले २ जना कामदार राखी विरगञ्जमा हार्डवेयर सुरु गरे । उनको व्यापारमा यो पहिलो अनुभव हो । विरगञ्ज जस्तो व्यापारिक हबमा बीना कुनै आफ्नो लगानी हार्डवेयर सुरु गरे र त्यसलाई सफल पनि पारे । त्यही बीचमा राष्ट्र बैंकले महालक्ष्मी फाइनान्सलाई लाइसेन्स दियो ।

फाइनान्स कम्पनीको अनुभव
महालक्ष्मीको लाइसेनस आएसँगै आफ्नै नेतत्वमा वित्तीय संस्था संचालन गर्ने अभियानमा उनी होमिए । नेपाल बैंकबाट राजिनामा गरेको भनेर उनले परिवार तथा साथी भाईहरुको हप्की पनि सहनु पर्यो । तर उनी आफ्नो अठोटबाट पछाडी हटेनन् र २०५१ मंसिरमा महालक्ष्मी फाइनान्सको कारोबार सुरु गरे र संचालनको ७ महिनाको अवधिमा नै उनले फाइनान्सलाई नाफामा लैजान सफल पनि भए ।

बीमा अनुभव
करिब १० वर्ष फाइनान्सको नेतृत्व गरेपछि एउटै संस्थामा लामो समय काम गर्नु हुँदैन भन्ने लागेर उनले संस्थाबाट राजिनामा दिए । उनी त्यहाँबाट ससम्मान बिदा भए । महालक्ष्मी फाइनान्स छोड्नु अगावै उनी नेपाल लाईफ इन्स्योरेन्सको संचालक पनि बनि सकेका थिए । सो समयसम्म नीजि क्षेत्र तर्फ जीवन बीमा कम्पनीमा कोही पनि नेपाली सिईओ थिएनन् । उनी इन्स्योरेन्सको संचालक रहंदै नेपाल लाइफका भारतिय सिइओलाई स्वीकृति दिएनन् । नेपाल लाइफको नेतृत्व कसले सम्हाल्ने भन्ने अन्योलता सञ्चालकमा देखियो । फाइनान्सको सफल नेतृत्व गरेका उनै भट्टराईको नाम सिइओको लागी प्रस्ताव गरियो र उनले त्यसलाई अवसर र चुनौतीका रुपमा स्वीकार गरे । म्यानेजेन्टको मान्छेले सबै परिस्थितिको म्यानेज गर्नु पर्छ भनेर नेपाल लाइफको नेतृत्व २०६२ मंसिर २३ गतेबाट सुरु गरे । आफुले नेतृत्व सुरु गरेको दुई बर्षमा नै उनले पहिलेको सिईओको भन्दा डेढ गुणा बढीको विजनेश गर्न सफल भए । यसपछि नेपालीहरुको पनि बीमा कम्पनीमा सिईओ बन्ने अवसर खुल्यो ।

एशियन लाईफ अनुभव
नेपाल लाइफको सफलताले बीमा कम्पनी खोल्नु पर्छ भन्ने उनलाई लाग्यो । तत्कालिन बीमा समिति अध्यक्ष देवेन्द्र प्रताप शाह रहेको बेला नयाँ बीमा कम्पनीलाई लासेनस दिने कुरा आएसँगै उनले २५ करोड ३० लाख रुपैयाँको प्रमोटर लगानी सहितको फाइल तयार पारे । आफ्नै नेतृत्वमा २०६४ चैत्र २१ गते एशियन लाईफ इन्स्योरेन्सको सुरुवात गरे । उक्त समयमा एशियन लाईफ सहित ४ वटा जीवन बीमा कम्पनीले कारोबार सुरु गरे । अन्य तीनवटा बीमा कम्पनीमा व्यवसायिक घरानाको लगानी थियो भने एशियन लाईफलाई भने रमेश भट्टराईको भनेर चिनिन्थ्यो । अभिकर्ता तालिम, संस्थागत सुशासन, सत्य तथ्य तथ्याङ्क लगायतले संचालनको तीन वर्ष नै एशियन लाईफले नेपाल लाइफ लगायतका पुराना बीमा कम्पनीको भन्दा राम्रो व्यवसाय गर्यो । तर त्यही बीच बोनसको विषयमा बीमा समितिसँग केही विवाद हुन पुग्यो । यसरी नियामक निकायसँग विवाद गरेर बस्नु हुँदैन भन्ने सोच बनाई ५ वर्षमा एशियन लाईफको नेतृत्व छोड्ने निकर्षमा पुगे ।

फाइनान्सलाई विकास बैंक बनाँउदाको अनुभव
एशियन लाईफ छोडेसँगै उनलाई महालक्ष्मी फाइनान्सको बोर्डले फाइनान्सको नेतृत्व गर्न आग्रह गरे । १५ वर्ष अघि आफ्नै नेतृत्वमा संचालित महालक्ष्मी फाइनान्सलाई विकास बैंक बनाउने मिशन लिएर अगाडी बढे । दुई वर्षसम्म फाइनान्सको व्यवसाय विस्तार गरि तेस्रो वर्षमा मालिका विकास बैंक र सिदार्थ फाइनान्ससँग मर्ज गरि राष्ट्रिय स्तरको विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंकलाई उभ्याउन सफल भए । त्यही बीचमा राष्ट्र बैंकले पुनः पूँजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने व्यवस्था गरिदियो । साविकको यति डेभलपमेन्ट बैंकलाई गाभेर नेपालको अग्रणी विकास बैंकको रुपमा स्थापित गारउन सफल भए । धेरै संस्था गाभिसकेकोले अब त्यहि भित्रको मान्छे सिइओ बनेर बस्नु हुँदैन भन्ने लागेर उनले महालक्ष्मी विकास बैंकबाट राजिनामा दिए ।

महालक्ष्मी लाईफ इन्स्यारेन्सको बिजारोपण
महालक्ष्मी विकास बैंकबाट राजिनामा दिँदा महालक्ष्मी लाईफ इन्स्यारेन्सको प्रक्रिया अगाडी बढी सकेको थियो । त्यस समयसम्म भट्टराईको नेतृत्वमा महालक्ष्मी लाइफमा काम गर्नको लागि भन्दै विभिन्न अन्य संस्थाबाट आधा दर्जन भन्दा धेरै कर्मचारी राजीनामा दिएर आइसकेका थिए । सुरुमा महालक्ष्मी लाइफले पूँजी जुटाउन नसक्दा फाइल रोकिन पुग्यो । यसरी अन्य संस्थाबाट महालक्ष्मीमा काम गर्न आउनलेलाई अन्योलमा छोडेर उनलाई बैंकमा सिइओ भएर काम गर्नको लागि मनले नमानेपछि महालक्ष्मी विकास बैंकबाट उनी बहिरिएका थिए । यस बीचमा महालक्ष्मी लाइफको लाइसेन्स प्रक्रियाको लागि अदालत सम्म धाउनु पर्यो र अन्त्यमा अदालतले महालक्ष्मीको पक्षमा फैसाला गरिदियो । महालक्ष्मी लाइफले जिवन पाएसँगै भट्टराई महालक्ष्मी लाइफको बीमा अभियानमा सक्रिय भएर काम गर्न सुरु गरे । महालक्ष्मी लाईफ संचालनमा आएको १ महिनामा नै ३५ वटा जिल्लामा बीमा तालिम्म सम्पन गर्न सफल भए । उनी हामी बीमा हैन विश्वास विक्री गर्दछौं भन्दै बीमा शिक्षा अभियानमा होमिएका छन् ।

भट्टराईका अन्य अनुभव
बैंकिङ क्षेत्रमाको समस्या समाधान गर्ने हेतु बैंकिङ क्षेत्रका पुर्व सिइओ लगायत ७ जना मिलेर नेष्ट चेन म्यानेजमेन्ट कम्पनी सुरु गरे । कम्पनीले बैंकहरु स्थापना गर्ने देखि बन्द गर्ने सम्मको सम्पुर्ण प्रक्रिया, कर्जा प्रक्रिया देखि लिएर चुक्ता गर्दा सम्मको सम्पुर्ण प्रक्रिया लगायत खराब कर्जा उठाउने सम्मको काम गर्छ । उक्त कम्पनीले पहिलो सम्झौता हिमालयन फाइनान्स सँग गर्दै काम सुरु गर्यो । त्यससँगै बैंकिङ तथा बीमा क्षेत्रमा तालिम उपलब्ध गराउने उद्देश्यले नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज इन्स्टिच्यूटको स्थापना गरे । त्यसका हाल दुईवटा प्रोजेक्ट पाइपलाइनमा छन् ।

उनले महालक्ष्मी फाइनान्सलाई गति दिइ रहँदा वि.सं. २०५५ सालमा विरगञ्जमा आफ्नै नेतृत्वमा इएमसी हस्पिटलको स्थापना गरे । जसमा ६३ जना डक्टर र प्रोमोटरको ७५ लाख रुपैयाँ लगानी रहेको थियो । उनले महालक्ष्मी फाइनान्सको साथै इएमसी अस्पतालको पनि प्रबन्धक भएर काम गर्दा बेलुकी दुई घण्टा हस्पिटलमा भोलिन्टियरको रुपमा काम गरे ।

उनले नेपाल समाचारपत्रमा कार्यरत गोविन्द देवकोटासँग मिलेर विरगञ्जको पहिलो रेडियोको रुपमा रेडियो विरगञ्जको स्थापना गरे । यसको अध्यक्ष आफै बने भने एमडी गोविन्द देवकोटा बने । रेडियोले पहीलो वर्षमा राम्रो आम्दानी गर्यो । त्यपछि मेजर शेयरहोल्डरले उनीहरुलाई रेडियो छोड्न भनेपछी भट्टराई र देवकोटा दुवै जनाले विवाद गरेर बस्नु भन्दा नयाँ सिर्जना गर्नुपर्छ भनि आफ्नो शेयर बेचेर रेडियो छोडे । त्यहाँबाट विदा भएर दुवै जना मिलेर सामुदायिक रेडियो नारायणी स्थापना गरे । जुन अहिले पनि रेडियो नारायणीकै नाममा विरगञ्जमा संचालनमा रहेकोे छ ।

सफल सिइओमा हुनु पर्ने गुण बारे भट्टराईको अनुभव
सिइओहरुमा केही गर्ने इच्छाशक्ति हुनुपर्ने उनी बताउँछन् । जसले उसलाई ड्राइभ गर्न सकोस । इच्छाशक्तिको साथै यो काम गर्छु भन्ने अध्ययन पनि चाहिने भट्टराईको अनुभव छ । वफादार साथै केही गर्छु भन्ने राम्रो टिम निमार्ण गर्नु पर्ने बताँउछन् । आफु कुनै पनि संस्थामा काम गर्दा पहिले टिम निर्माण गर्ने गर्दछन् । जुन टिमले काम गर्दा उनकै मिशन र भिजनबाट काम गर्दछन् जसले गर्दा उनी सफल बन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.