Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

अर्थतन्त्र सुधारोन्मुख भएको हो ? हेर्नुहोस् माघसम्मका परिसूचकहरुको अवस्था

२०७५ चैत्र ३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको माघ मसान्त सम्मको तथ्याङ्कमा आर्थिक सूचकहरु केही सुधारोन्मुख देखिएका छन् । आर्थिक बर्ष लागेदेखि पुष मसान्त सम्म लगातार रुपमा घटिरहेको विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ । चालु खाता घाटमा सुधार देखिएको छ भने सोधनान्तर स्थिति घाटा पनि सुधारउन्मुख देखिएको छ । त्यस्तै निर्यात ब्यापार वृद्धिदर पनि सुधार हुँदा आयात वृद्धिदरमा केही कमी आएको छ । लगातार रुपमा घटिरहेको विदेशी विनमय सञ्चितिमा सुधार भएसँगै प्रत्यक्ष वैदेशीक लगानीमा पनि वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । माघ मसान्तमा केही सुधारोन्मुख रहेका आर्थिक सुचकहरुको अवस्था यस प्रकार रहेको छ ।

विदेशी विनिमय सञ्चितिमा वृद्धि
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुमा समेत गरेर चालु आर्थिक बर्षको सुरुमा कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ०२ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । जुन आर्थिक बर्षको मध्य अर्थात् पुष मसान्तमा आउदा घटेर १० खर्ब ५८ अर्ब २० करोड कायम भएको थियो । आर्थिक बर्षको सुरु देखिनै घट्ने क्रममा रहेको विदेशी विनिमय सञ्चिति पुष मसान्त सम्म पनि घटेने क्रममा नै रहेको थियो तर माघ मसान्तमा एकाएक सुधार आउँदै १० खर्ब ७८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

घट्दै चालु खाता घाटा
चालु आर्थिक बर्षको पहिलो सात महिनामा चालु खाता घाटा १ खर्ब ६६ अर्ब २४ करोड रुपैयाँ रहेका छ । पुष मसान्त मसान्तमा यस्तो घाटा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । मंसिर मसान्तमा भने यस्तो घाटा १ खर्ब १९ अर्ब ३३ करोड मात्र रहेको थियो । पुष महिनामा करीब ३३ अर्बले बढेको चालु खाता घाटा मघ महिनामा १४ अर्बले मात्र बढेको देखिन्छ । यसरी हेर्दा सरकारको चालु खाता घाटावृद्धिदर घट्दो क्रममा देखिएको छ ।

शोधनान्तर स्थिति
चालु आर्थिक बर्षको माघ मसान्तमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको छ । पुष मसान्तमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो । त्यस्तै मंसिर मसान्तमा यस्तो स्थिति ८५ अर्ब ३२ करोड र कार्तिक मसान्तमा ५७ अर्ब ३३ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकको उक्त तथ्याङकलाई हेर्दा मंसिर मसान्तमा सबैभन्दा उच्च ८५ अर्ब रुपैयाँ नाघेको सोधानान्तर घाटा घटेर माघमा आइपुग्दा ५० अर्ब भन्दा तल झरेको छ ।

आयात र निर्यात वृद्धिदर
चालु आर्थिक बर्षको पुष मसान्तमा आयातको वृद्धिर ३० दशमलव ५ प्रतिशत र निर्यातको वृद्धिदर १० दशमलव ३ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले माघ मसान्त सम्मको प्रकाशित गरेको तथ्याङकमा आयातको वृद्धिदरमा केही कमी आएको छ । माघ मसान्तमा आयातको वृद्धिदर २६ प्रतिशत रहेको छ । पुष मसान्तको लुलनमा माघ मसान्तमा निर्यातको वृद्धिदर पनि बढेको छ । पुष मसान्तमा १० दशमलव ३ प्रतिशत रहेको निर्यात वृद्धिदर माघ मसान्तमा ११ दशमलव ५ प्रतिशत रहेको छ ।