Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा लगानीमा ध्यान दिएनन् बैंकहरु, सिसिडीले सिमा नाघ्यो

२०७५ फाल्गुन २३ गते

बैंकिङ खबर । वाणिज्य बैंकहरु फेरीपनि निक्षेप र कर्जाको अनुपातलाई सन्तुलनमा राख्न चुकेका छन् । नेपाल राष्ट्र बैंकले पटक पटक कर्जा र पूँजी निक्षेप अनुपातलाई सन्तुलनमा राखेर कर्जा विस्तार गर्न दिएको निर्देशन विपरीत बैंकहरुले कर्जा लगानी गर्दा सिसिडी रेसियो ८१ प्रतिशत नाघेको छ ।

नेपाल राष्ट्र बैंक स्रोत अनुसार फगुन १७ गते सम्ममा वाणिज्य बैंकहरुले २७ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २३ खर्ब ९८ अर्ब कर्जा लगानी गरेका छन् । फागुनको पहिलो साता बैंकहरुले २७ खर्ब ७९ अर्ब निक्षेप संकलन गरी २३ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका थिए । यसरी हेर्दा दुई साताकोे अवधिमा बैंकहरुको निक्षेप २ अर्बले घटेको छ भने कर्जा लगानी ५ अर्बले बढेको छ ।

चालु आर्थिक बर्षको पुष मसान्तमा बैंकहरुको कर्जा लगानी २३ खर्ब ६८ अर्ब रहेको थियो भने निक्षेप २६ खर्ब ५६ अर्ब रहेको थियो । पुष मसान्तको तुलनामा फगुन १७ गते सम्म आउँदा वाणिज्य बैंकहरुले ३० अर्बले कर्जा विस्तार गरेका छन् भने निक्षेप २१ अर्बले मात्र वृद्धि गरेका छन् ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमास सकिन ४५ दिन वाँकि रहँदा बैंकहरुले कर्जा लगानीलाई रोक्न सकेका छैनन् तर बैंकहरुको निक्षेप भने घट्ने सम्भावना झनै बढी रहन्छ । नेपालमा प्रत्येक त्रैमासको अन्त्यमा उद्योगी व्यवसायिहरुले सरकारलाई कर बुझउने समयको रुपमा लिइन्छ । यसैले चैत लागेसँगै बैंकहरुको निक्षेप झनै घट्ने समवना रहन्छ जसले गर्दा बैंकहरुको सिसिडी रेसियो अझै बढ्ने देखिन्छ ।

विगतमा वाणिज्य बैंकहरुले सिसिडी रेसियो नाघेपछि विकास बरुैंकहरुलाई ऋण बेच्ने गरेका थिए । तर अहिले विकास बैंकहरुको नै सिसिडी रेसियो करिब ७९ प्रतिशतको हाराहारीमा रहेकोले वाणिज्य बैंकको ऋण विकास बैंकहरुले किन्ने सम्भावना नरहेको डेभलपमेन्ट बैंकर्स एसिेसिएसनका अध्यक्ष गोविन्द्र प्रसाद ढकाल बताउँछन् । उनका अनुसार वाणिज्य बैंकहरुले ऋण दिन नसकेकपछि ऋणीहरुको चाप विकास बैंकमा पर्न गई ७५ प्रतिशत भन्दा तलै रहने गरेको विकास बैंकको सिसिडी रेसियो यस पटक बढेर ७९ प्रतिशत पुगेको छ । कतिपय विकास बैंकहरुले पनि अहिले कर्जा रोकेको उनी बताउँछन् ।

बैंकहरुले ब्याजदरको सिमा तोकेर नै ब्याजदर निर्धारण गरेपनि त्यसको प्रभाव परेको देखिदैन । चालु आर्थिक बर्षको पुष मसान्तमा वाणिज्य बैंकहरुले मुद्धति निक्षेपमा दिने औषत ब्याजदर १० दशमलव २८ प्रतिशत रहेको थियो भने माघ मसान्तमा मुद्धति निक्षेपको औषत ब्याजदर सामान्य वृद्धि भई १० दशमलव २९ प्रतिशत पुगेको छ । केही साना बैंकहरुले मात्र ब्यादरमा प्रतिस्पर्धा गरिरहेका थिए तर बैंकर्स संघले मुद्धति निक्षेपमा ९ दशमलव ५ प्रतिशत मात्र ब्याज दिने निर्णय गरेसँगै सम्पुर्ण बैंकलाई त्यति नै ब्याज दिनु पर्ने अवस्था आयो जसको कारण वाणिज्य बैंकहरुको निक्षेपको औषत ब्याजदर पनि बढ्न गएको हो ।

बैंकहरुले वचतको निक्षेपलाई भन्दा मुद्धति निक्षेपलाई प्राथमिकतमा राखेर ब्याज वृद्धि गरिरहँदा निक्षेपमा कम हिस्सा रहने वचत निक्षेपको भने औषत ब्याजदर घटेको देखिन्छ । पुष मसान्तमा ४ दशमलव ४६ प्रतिशत रहेको बचतको औषत ब्याजदर माघ मसान्तमा ४ दशमलव ३७ प्रतिशतमा झरेको छ ।

Ad