Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सात क्षेत्रमा पाउन सकिन्छ ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा  

२०७५ फाल्गुन १४ गते

बैंकिङ खबर । सरकारले विभिन्न क्षेत्रमा गरिने उत्पादन मुलक व्यवसायका लागि ब्याजमा अुनदान दिनेगरि बैंक तथा वित्तीयसँस्थाबाट कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । तर कम फाइदा हुने भएपछि बैंकहरुले यस्तो कर्जाको प्रवाह निकै कम गरेको देखिन्छ ।

सरकारले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ मार्फत यस्तो कर्जा उपलब्ध गरावउने व्यवस्था गरेको छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित वेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यववसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि शैक्षिक ऋण उपलब्ध गराउन, लघु बीमा प्रिमियममा अनुदान दिन तथा भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि समेत सहुलियतपूर्ण कर्जा उपलब्धताको लागि ब्याज अनुदान उपलब्ध गराउन नेपाल सरकारले कार्यविधि नै बनाएर कार्यक्रमलाई आगडि बढाएको छ ।

तर त्यस्ता कार्यक्रमहरु प्रभावकारीरुपमा अगाडी बढेको पनि देखिदैन् । केही बैंकहरुले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने भनेपनि प्रकृयागत झण्झटका कारण सर्वसाधारणले ऋण पाउन सकेका छैनन् । 

नेपाल सरकारले ब्याज अनुदानका लागि तोकेको प्राथमिकता प्राप्त क्षेत्रहरु
सरकारले ब्याज अुनदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत विन्दु भन्दा बढी नहुने गरी ब्यजादर कायम गर्नुपर्ने हुन्छ । यस्तो कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्षको हुने व्यवस्था गरिएको छ ।

क्र.सं.   कर्जाको किसिम     कर्जाको सीमा 
 १   व्यवसायिक कृषि तथा मशुपन्छी कर्जा    ५ करोड रुपैयाँसम्म
 २  शिक्षित युवा स्वरोजगार कर्जा      ७ लाख रुपैयाँसम्म
 ३   विदेशबाट फर्केका युवा परियोजना कर्जा    १० लाख रुपैयाँसम्म
 ४   महिला उद्यमशीलता कर्जा    १५ लाख रुपैयाँसम्म
 ५   दलित समुदाय व्यवसाय विकास कर्जा    १० लाख रुपैयाँसम्म
 ६   उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा    ५ लाख रुपैयाँसम्म
७  भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा    ३ लाख रुपैयाँसम्म

सरकारले व्यवसायिक कृषि तथा मशुपन्छी कर्जाको सीमा प्रति ऋणी ५ करोड भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिका लागि पेश गर्नुपर्ने व्यवस्था गरेको छ । 

धितो सम्बन्धी व्यवस्था
व्यवसायिक कृषि तथा मशुपन्छी कर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुले १० लाख रुपैयाँ सम्म सामुहिक जमानीका आधारमा कर्जा उपलब्ध गराउन सक्छन् । १० लाख रुपैयाँ भनदा बढी कर्जा प्रवाह गर्नुपर्ने भएमा परियोजनाको सम्भाव्यताको आधारमा धितोमा कर्जा प्रवाह गर्न सक्दछन् । 

शिक्षित युवा स्वरोजगार कर्जाका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निवेदकको सक्कल शैक्षिक प्रमाणपत्र धितोमा कर्जा उपलब्ध गराउन सक्नेछन् । 

विदेशबाट फर्केका युवा परियोजना कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले उनीहरुको ज्ञान तथा सीपसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा लिई कर्जा प्रवाह गर्नुपर्ने छ ।

महिला उद्यमशीलता कर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुले एकल वा सामूहिक जमानिमा उपलब्ध गराउने व्यवस्था छ ।

दलित समुदाय व्यवसाय विकास कर्जा सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुले परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्धन गर्नका लागि प्रदान गरिने कर्जा भएकाले एकल वा सामूहिक जमानीमा उपलब्ध गराउने छन् ।

उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामा पनि शैक्षिक योग्ताका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले प्रमाणपत्र धितोमा कर्जा प्रवाह गर्नुपर्ने छ ।

भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले सामूशिक वा धितो जमानीमा कर्जा प्रवाह गर्न सक्नेछन् । 
 

Ad