बैंकिङ खबर। चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ हेर्दा बैंकहरुले उत्पादन तथा प्राथमिकता प्राप्त क्षेत्रमा गरेको लगानी न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कृषिमा १० प्रतिशत, उर्जा तथा पर्यटनको क्षेत्रमा १५ प्रतिशत गरि प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत अनिवार्य रुपमा कर्जा लगानी गर्नुपर्ने ब्यवस्था गरेको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्न स्थापना गरेको पुर्नकर्जाकोषको पुर्नकर्जा लगानीमा पनि बैंकहरुले खासै ध्यान दिएको देखिदैन ।
तर लघुवित्तलाई प्रदान गरिने थोक कर्जा पनि विपन्न वर्गमा गणना गर्न मिल्ने ब्यवस्थाको कारण बैंकहरुको विपन्न वर्गकर्जा भने राष्ट्र बैंकले तोकेको न्यूनतम सिमा भन्दा केही बढी गरेको देखिन्छ । त्यस्तै नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानको कर्जा लगानीमा पनि बैंकहरुको रुचि देखिदैन । चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार बैंकहरुले पुर्नकर्जा मार्फत उत्पादनशिल क्षेत्रमा गरेको लगानी, प्राथमिकता प्राप्त क्षेत्रमा गरेको लगानी, सरकारको ब्याज अनुदान सहितको सहुलियतपुर्ण कर्जामा गरेको लगानी र विपन्न बर्गामा गरेको कर्जा लागनीको, अवस्था यसप्रकार रहेको छ ।
प्राथमिकता प्राप्त क्षेत्र कर्जा
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा र न्यूनतम १५ प्रतिशत ऊर्जा तथा पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । तर राष्ट्र बैंकको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा ९ दशमलव ९३ प्रतिशत, ऊर्जामा ४ दशमलव २१ र पर्यटनमा ४ दशमलव ४ प्रतिशत गरि जम्मा १८ दशमलव ५४ प्रतिशतमात्र प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी गरेका छन् ।
पुर्नकर्जा
उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले नेपाल राष्ट्र बैंकले पुर्नकर्जा कोषको स्थापना गरेको थियो । २० अर्ब रुपैया बराबर रहेको उक्त कोषको आकार बढाउनुपर्ने उद्योगीहरुको सुझाव अनुसार चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फ राष्ट्र बैंकले उक्त कोषको सिमा बढाएर ३५ अर्ब पुर्याको थियो । तर पछिल्लो समय लगानीयोग्य तरलताको अभाव सँगै ब्याजदरको चरम विवाद रहेको अवस्थामा मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरेको राष्ट्र बैंकले पुनः उक्र कोषको सिमालाई बढाएर ५० अर्ब पुर्याएको छ । तर बैंकहरुले भने उक्त पुर्नकर्जा कोषको ऋण लगानीलाई प्राथमिकतामा राखेको देखिदैन । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा उक्त कोषमा रहेको ३५ अर्ब मध्ये १८ अर्ब ८० करोड रुपैयाँ मात्र बैंकहरुले पुर्नकर्जा लगानी गरेका छन् । चालु आर्थिक बर्षको असार मसान्तमा यस्तो लगानी १२ अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।
सहुलियतपूर्ण कर्जा
कृषि क्षेत्रको विकासलाई सहयोग पुर्याउने उदेश्यले नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा लागनीमा पनि बैंकहरुले अपेक्षाकृत लगानी गरेका छैनन् । कृषि तथा पशुपंक्षी ब्यावसायमा जोखिम बढी हुने भएकोले बैंकहरुले यस क्षेत्रमा कर्जा लगानी गर्न चाहँदैनन् । नेपाल राष्ट्र बैंकको पुष मसान्त सम्मको तथ्याङ अनुसार १० हजार ४ सय ८४ जना ऋणीले ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा उपयोग गरेका छन् । यस अन्तर्गत १८ अर्ब ६१ करोड कर्जा लगानीमा रहेको छ भने भने ८८ करोड ७७ लाख ब्याज अनुदान प्रदान गरिएको छ । गत अर्थिक बर्षको पुष मसान्तमा यस्तो कर्जा ६ हजार २ सय ३ जनाले ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको कर्जा चलाएका थिए जसको ब्याज अनुदानको लागि ३३ करोड ७३ लाख रुपैयाँ खर्च भएको थियो ।
विपन्न वर्ग कर्जा
बैंकहरुले विपन्न वर्ग कर्जा लगानी भने नियामक नेपाल राष्ट्र बैंकले ब्यवस्था गरेको न्यूनतम सिमा अनुसार गरेका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई प्रदान गरिने थोक कर्जालाई पनि विपन्न बर्ग कर्जामा गणना गर्न पाउने व्यवस्था गरेको छ । जसको कारण बैंकहरुले विपन्न बर्गमा गरेको कर्जा लगानी ५ प्रतिशत भन्दा माथि रहेको छ । नेपाल राष्ट्र बैंककले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले आफ्नो कुल कर्जा लगानीको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको उक्त ब्यवस्था अनुसार बैंकहरुले चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा आफ्नो कुल कर्जाको ५ दशमलव ९ प्रतिशत अर्थात् १ खर्ब ६१ अर्ब ३६ करोड रुपैयाँ विपन्न वर्गमा लगानी गरेका छन् ।