June 1st, 2016

जीवन बिमा अन्तर्गतको ‘जीवन आनन्द बिमा’ : हेर्नुस् नालीबेली

मनोज कुमार लाल कर्ण –
manoj kumar lal karnaहाम्रो देशमा सबैजसो जीवन बिमा कम्पनीले जीवन आनन्द बिमा योजना विभिन्न नामबाट चिनिने गरी ल्याएका छन् । जीवन आनन्द बिमा योजना सावधिक जीवन बिमापछि सबैभन्दा बढी विक्री हुने जीवन बिमा योजना हो । जीवन आनन्द बिमा योजना सावधिक जीवन बिमा मुनाफामा सरिक हुने र आजीवन जीवन बिमा मुनाफामा सरिक नहुने बिमा योजनाको मिश्रण हो । सावधिक जीवन बिमामा बिमा अवधि समाप्त भएपछि बीमित स्वयम्ले बीमांक रकम र सो अवधिसम्म आर्जन गरेको साधारण रिभर्सनरी मुनाफा (बोनस) प्राप्त गर्छ । बीमित स्वयम् बिमा अवधिसम्म जीवित नरहेमा निजको हकदार वा इच्छाइएको व्यक्तिले बीमांक र आर्जित बोनस प्राप्त गर्छ । आजीवन जीवन बिमामा बीमितको मृत्युउपरान्त निजको इच्छाइएको व्यक्तिले बीमांक रकम प्राप्त गर्छ । अर्थात् जीवन आनन्द बिमा योजनामा बीमित स्वयमले जीवित रहेमा बिमा अवधिसम्म बिमाशुल्क भुक्तानी गर्दै जानुपर्छ र परिपक्वतामा वा बिमामा अवधि समाप्तिपछि बीमांक र सो अवधिसम्मको बोनस प्राप्त गर्छ । बिमा अवधिउपरान्त पनि बीमितको जोखीम बहन सुचारु नै रहन्छ । बीमितको मृत्यु भएपछि उसको इच्छाइएको व्यक्तिले पुनः बीमांक रकम प्राप्त गर्छ ।

सावधिकभन्दा महँगो बिमा
जीवन आनन्द बिमा सावधिक जीवन बिमा र आजीवन जीवन बिमाको मिश्रण भएको अर्थात् दुवै जीवन बिमाको जोखीम एउटै जीवन बिमामार्फत बीमितले प्राप्त गर्ने भएको हुँदा सावधिक जीवन वा आजीवन जीवन बिमाभन्दा यो जीवन बिमा महँगो हुन्छ । बिमाशुल्क बिमा अवधिसम्म समान रूपले तिर्नुपर्छ । बिमाशुल्क बीमितको उमेर तथा बिमा अवधिअनुसार गणना गरिन्छ । यस जीवन बिमाअन्तर्गत सबैजसो जीवन बिमा कम्पनीमा अधिकतम बीमांकमा कुनै बन्देज लगाइएको छैन । अर्थात् आम्दानीको आधारमा जतिसुकै ठूलो रकमको जीवन बिमा गर्न सकिन्छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आम्दानीको आधारमा १ करोड रुपैँयाभन्दा बढी बीमाङ्कको बिमा गर्न सकिँदैन । 

जीवन आनन्द बिमामा उमेरहद
यस जीवन बिमाअन्तर्गत जीवन बिमा गर्न सबैजसो जीवन बिमा कम्पनीमा बीमितको न्यूनतम उमेरको सीमा १६ वर्ष राखिएको छ । तर, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा न्यूनतम उमेर २० वर्ष भएपछि मात्र यो जीवन बिमा गर्न सकिन्छ र अधिकतम उमेर सबै जीवन बिमा कम्पनीले ६५ वर्ष राखेका छन् । तर, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अवधिकतम उमेर ६० वर्ष राखेको छ । सो उमेरभन्दा माथिका व्यक्तिले यो जीवन बिमा लिन सक्दैन । यस जीवन बिमाअन्तर्गत लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमाको अवधि ५ वर्षदेखि २५ वर्षसम्म छ र अन्य जीवन बिमा कम्पनीमा बिमाअवधि ५ वर्षदेखि ५४ वर्षसम्म छ । 

दोहोरो दुर्घटना बिमाको लाभ
यस जीवन बिमाअन्तर्गत सबै जीवन बिमा कम्पनीले दोहोरो दुर्घटना बिमाको लाभ सुविधा थप प्रदानको प्रावधान राखेका छन् । दोहोरो दुर्घटना जीवन बिमाको बीमाशुल्क बीमितको उमेर तथा बिमा अवधिअनुसार फरकफरक छन् । तर, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सबै उमेरका व्यक्तिहरूका लागि दुर्घटना जीवन बिमाको बिमाशुल्क १ रुपैँया प्रतिहजारको दरले राखेको छ । दोहोरो दुर्घटना बिमाको जोखीमबापत मूल बिमा योजनाअन्तर्गत थप बिमाशुल्क बिमा अवधिसम्म तिर्नुपर्छ । बिमा अवधिउपरान्त बीमितको ७० वर्षको उमेर नपुगुन्जेलसम्म दुर्घटना बिमाको जोखीम प्रत्येक जीवन बिमा कम्पनीले प्रदान गरेको छ । अर्थात् ७० वर्षको उमेर नपुगुन्जेलसम्म दुर्घटनाको कारणले बीमितको मृत्यु भएमा बीमितको इच्छाइएको व्यक्तिलाई मूल बीमांक र दोहोरो दुर्घटनाको बीमांक जोडेर कम्पनीले प्रदान गर्छ ।

भारतबाटै आयातित
हाम्रो देशमा दक्ष जनशक्तिको अभावले गर्दा सबैजसो जीवन बिमाका योजनाहरू भारतीय जीवन बिमा निगमबाट आयातित नै हुन् । जीवन आनन्द भारतीय जीवन बिमा निगमले २००२ को फेबु्रअरीबाट सञ्चालनमा ल्याएका थिए । नेपालमा जीवन आनन्द बिमा योजना लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले २००४ देखि सञ्चालनमा ल्याएको छ । त्यसै क्रममा विभिन्न जीवन बिमा कम्पनीहरूले यस जीवन बिमा सञ्चालनमा ल्याएका छन् । 

जीवन आनन्द बिमाका फरक नाम
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस जीवन बिमालाई ‘जीवन सहारा’को नामबाट विक्री गरिरहेको छ । यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन अमृत’, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सुखी जीवन’, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ‘प्राइम जीवन सुरक्षा’, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या सुदर्शन’ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ‘गुराँस जीवन श्री’बाट यस जीवन बिमा प्रचलनमा ल्याई विक्री गरिरहेका छन् ।

यस जीवन बिमाबाट आफू र आफूउपरान्त आफ्नो परिवार आर्थिक रूपले सुरक्षित रहने हुँदा यो जीवन बिमामा प्रचलित श्लोगन ‘जीवन रहँदा पनि, जीवनपश्चात् पनि’ आम जनमानसमा परिचित रहेको छ । यस जीवन बिमामा आफू र आफूउपरान्त आफ्नो परिवार पनि आर्थिक रूपले सुरक्षित रहने हुँदा प्रत्येक व्यक्तिले यस्तो प्रकारको जीवन बिमा लिनुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]