बैंकिङ खबर। करिब दुई महिना अघि बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएपछि बैंकहरु निक्षेप आकर्षित गर्न ब्याजदर बढाउँदै १४ प्रतिशत सम्म पु-याएका थिए । तर ब्याजदर उच्च भएपछि बैंकहरुले भद्र सहमति गर्दै १० प्रतिशत भन्दा तल ब्याजदर निर्धारण गरेका थिए । यस्तो अवस्थामा बैंकहरुमा निक्षेपको ब्याजदर घटाउने र कर्जामा नघटाउने परिपाटी देखिएको छ । यसले बैंकहरुको ब्याजदर अन्तर (स्प्रेड)मा असर पारेको देखिन्छ ।
चालु आर्थिक वर्षको अर्धवार्षिक वित्तीय विवरणहरु हेर्दा कर्जा–पूँजी–अनुपात (सिसिडी रेसियो) कसिलो अवस्थामा र तरलता अभावको सामना गरिरहेका बैंक भन्दा सहज अवस्थामा रहेका बैंकहरुको ब्याजदर अन्तर तुलनात्मक रुपमा बढी देखिन्छ । सबैभन्दा कम ब्याजदर अन्तर सिभिल बैंकको ३ दशमलव २३ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा बढी ब्याजदर अन्तर कृषि विकास बैंकको ६ दशमलव ५९ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुलाई कर्जा र निक्षेपको ब्याजदर अन्तर औषतमा ४ दशमलव ५ प्रतिशत भन्दा कममा झार्न निर्देशन दिएको थियो । तर ६ महिनाको तथ्याङ्कमा १७ वटा बैंकको मात्र ब्याजदर राष्ट्र बैंकले तोकेको भन्दा कम छ ।
राम्रा र सबल मानिएका बैंकहरुको ब्याजदर अन्तर अझै पनि बढी छ । ब्याजदरमा देखिएको समस्याका कारण कतिपय बैंकहरुले स्प्रेड रेट व्यवस्थापन गर्न सकिरहेका छैनन् । केहीदिन पहिला नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा बैंक तथा उद्योगीहरुसँग सुझाव लिएको थियो । त्यस बेला बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ब्याजदर निर्धारणको काम बजारलाई नै छोडनुपर्ने बताएका थिए । यसले के स्पस्ट पारेको छ भने बैंकहरु पनि ब्याजदरका कारण धेरै समस्यामा छन् । त्यसैले बैंकहरुले अर्धवार्षिक समिक्षा मार्फत नेपाल राष्ट्र बैंकले ब्याजदरका विषयमा कुनै नयाँ कदम चालोस भन्ने चाहन्छन ।
त्यस्तै ब्याजदरको अन्तर त्यतिबेला घटछ जतिवेला बजारमा प्रयाप्त तरलता हुन्छ। बजारमा निक्षेप भन्दा कर्जाको माग कम भएमा पक्कै पनि ब्याजदर अन्तर घटन जान्छ । अहिले बजारमा निक्षेप बढनुको साटो कर्जाको माग उच्च रहेको छ । यसले ब्याजदरलाई प्रभाव पारिरहेको छ ।
